कारोबार


पर्यटकको पर्खाइमा म्याग्दीको बयली

पर्यटकको पर्खाइमा म्याग्दीको बयली

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १३:४९, म्याग्दी

अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ।

बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्यून मात्रामा पर्यटक आउने गरेका बताए।

‘यहाँसम्म आउने व्यवस्थित पदमार्ग निर्माण र आकर्षणको प्रचारप्रसार नहुँदा पर्याप्त पर्यटक आगमन हुनसकेको छैन’, उनले भने, ‘बयलीलाई व्यवस्थित गर्न सक्ने हो भने अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ।’

अन्नपूर्ण गाउँपालिका–५ शिख, पाउद्धार, स्वाँत बासिन्दाहरूको अगुवाइमा पर्यटकको सुविधा, गाउँका विद्यालय र स्वास्थ्य संस्था सञ्चालनका लागि स्थानीय स्रोत जुटाउन १५ वर्षदेखि बयली, ढाडखर्क र खोपारामा सामुदायिक लज सञ्चालन भएको छ।

बयलीको तलतिर गुराँस र सल्लाको जङ्गल छ। माथिल्लो क्षेत्रको पाखोमा घरपालुवा जनावरको बर्खायामको चरन क्षेत्र (बुकी) छ। यहाँ चौरीपालन गरिएको छ। बर्खायाममा भेडाबाख्रा र गाईभैँसीको गोठ पनि बयलीमा राख्ने गरिन्छ।

पश्चिम फर्किएको पाखोमा अवस्थित बयलीको पृष्ठभूमिमा धवलागिरि ‘रेञ्ज’का हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । म्याग्दीका पहाड र ग्रामीण बस्ती पनि देखिन्छ । बस्तीबाट टाढा रहेको बयलीको वातावरण शान्त र रमणीय छ । चौरीगोठ बयलीको थप आकर्षण हो।

म्याग्दीको घोडेपानीबाट एक दिन र कास्कीको घान्द्रुकबाट दुई दिनको पदयात्रा गरेर बयली पुग्न सकिन्छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा घोडेपानी र घान्द्रुकबाट बयली जाने आधारभूत स्तरको पदमार्ग छ।

बयलीको सामुदायिक लजमा एक दिनमा १८ जना बास बस्न सक्ने क्षमता छ।

बयलीबाट ढाडखर्क हुँदै स्वाँत–शिख र खोपारा–खयर–पाउद्धार जान पनि सकिन्छ । बयलीबाट ढाँडखर्कसम्मको जङ्गल र भिरमा पदमार्ग नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सडक विस्तारसँगै छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको बसाइ लम्ब्याउन बयलीलगायत सम्भावना भएका गन्तव्यको पहिचान र ती ठाउँमा पूर्वाधार निर्माणका लागि प्रयास गरिएको बताए। ‘बयलीलाई पनि नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ’, उनले भने, ‘यस क्षेत्रको निरीक्षण गरेर आवश्यकता पहिचान र पूर्वाधार निर्माणमा पहल गर्छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad