कारोबार


कृषि ज्ञान केन्द्रले मुस्ताङको स्याउ टिप्न बनायो समय तालिका

कृषि ज्ञान केन्द्रले मुस्ताङको स्याउ टिप्न बनायो समय तालिका

फाइल तस्बिर


नेपालखबर
भदौ ७, २०८१ शुक्रबार ७:७, म्याग्दी

मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ।

उच्च घनत्वको गाला प्रजातिका स्याउ यही भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समय तालिका बनाइएको हो।    

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा आज जोमसोममा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए। 

‘जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको छ’, उनले भने, ‘स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या हुँदैन र किसानले मूल्य पाउँछन्।’ 

अघिल्ला वर्षमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएको थियो। कृषक कर्म गुरुङले तापक्रम वृद्धिका कारण यसपाली स्याउमा छिटो गुलियो पसेकाले टिप्ने समय अघि सारेको बताए। 

अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले दाबी गरे। गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। ३८ हेक्टर क्षेत्रफल जमिनमा इटालीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ। गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र रु ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्या‌क छ। 

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायतका व्यापारी बगैँचामा नपाक्दै अग्रीम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्दछन्। मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीको रूपमा स्याउ किनेर लैजाने गर्छन्। बिक्री नभएका साना दाना भएका स्याउ मदिरा र सुकुटी बनाइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad