ad ad

कारोबार


डेढ अर्ब डुबाएर ‘फरार’ सहकारीका अध्यक्ष फेसबुकमा झुल्किए

भने–बचत फिर्ता गरेर सेवामा फर्किन्छु
डेढ अर्ब डुबाएर ‘फरार’ सहकारीका अध्यक्ष फेसबुकमा झुल्किए

नेपालखबर
मंसिर ५, २०८० मंगलबार २२:२३, पोखरा

बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना भएपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका नगर प्रमुख देवकुमार नेपाली एकाएक फरार भए।

६ महिनाअघि फरार भएका उनी कहाँ छन् कसैलाई पत्तो छैन। बचतकर्ताहरुले उनीसहित ११ जनाविरुद्ध १ अर्ब ३० करोड हिनामिना गरेको जिकिरसहित बागलुङ अदालतमा मुद्दा दायर गरेका छन्। 

देवकुमार फरार भएसँगै सरकारले विदेश यात्रामा रोक पनि लगायो। तर, फरार देवकुमार कहाँ छन् भन्ने कुनै पत्तो लागेन। पीडितहरूले दिनहुँ बागलुङसहित पोखरामा प्रदर्शन गरिरहेका छन्। तर, उनीहरूको बचत रकम फिर्ता हुन सकेको छैन। यस्तैमा फरार देवकुमार सामाजिक सञ्जाल फेसबुकमा भुल्किएका छन्।

मंगलबार आफ्नो व्यक्तिगत फेसबुकमा एउटा भिडियो सन्देशमार्फत् उनले बचतकर्ताहरुलाई आफू जीउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नुपरेको जिकिर गरेका छन्। उनले आफ्नो घरमा हतियारसहित ज्यान मार्ने धम्की दिएको र ६ लाख बचत भएकाले करोडौंको घर मागेकोले आफू बेपत्ता हुनुपरेको उनको जिकिर छ।

‘बचतकर्ताहरुलाई आफूले सहकारीमा समस्या देखिएपछि शेयर सदस्य र बचतकर्ताको विशेष भेला राखेर बचत फिर्ता समाधान गर्न ६ महिना समय राखिएको थियो,’ उनले भनेका छन्, ‘तर, केही साथीहरु मेरो घरमा हतियारसहित आई म लगायत मेरो श्रीमती र सानो छोरीको ज्यान मार्ने धम्की दिने र ६ लाख बचत भएको व्यक्तिहरुले ५ करोडको घरजग्गा आफ्नो नाममा पास गर्न दवाब दिएको कारण केही समय घरबाहिर बस्न बाध्य भएँ।’

 भिडिओमा उनले दसैँ, तिहार, छठको शुभकामना पनि दिएका छन् भनेइमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने जिकिर गरेका छन्। आफ्नो चलअचल सम्पति बागलुङमा रहेको जानकारी गराउँदै उनले कर्मचारीले आफूलाई असहयोग गरेको बताएका छन्।

आफू नगरप्रमुख भएर बुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसक्दा सहकारीमा समस्या आएको पनि उनको जिकिर छ। 

इमेज सहकारीमा बचतकर्ताहरुले भनेजस्तो सबै रकम डिपोजिट नभएको जिकिरसहित कर्मचारीहरुले मनोमानी ढंगले ऋण लगानी गरेको आरोप पनि उनको छ। 

‘कतिपय सहकारी १६ अर्बका पनि समस्या परेका छन, मैले भन्नुभन्दा सबैलाई थाहा भएको कुरा हो। हामी र घरजग्गा सम्पत्ति नभएको मान्छे होइनौँ। हामीले चलअचल सम्पत्ति नुनदेखि सुनसम्म त्यहीँ नै राखेका छौँ, लिएर हिँडेका छैनौँ। यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँदछौँ,’ उनले भने।

उनले आफ्नो र श्रीमतीको नाममा बुर्तिवाङ, पोखरा, काठमाडौंमा रहेको ४५ कित्ता जग्गामध्ये बुर्तिवाङमा ७, बागलुङमा २, पोखरामा ३, काठमाडौंमा ६ गरी १८ वटा घर रहेको बताएका छन्।

गत कात्तिक ३० गतेको मिति राखेर प्रकाशन गरेको विज्ञप्ति सार्वजानिक गर्दै नेपालीले समस्या समाधानका लागि सहजीकरण गरिदिन सबैलाई आग्रह समेत गरेका छन्। उनले ढोरपाटन नगरपालिकाका मतदातालाई सम्बोधन गर्दै सेवामा छिट्टै आउने समेत बताएका छन्।

तर, वक्तव्यमा उनले आफू कहाँ छु भन्ने खुलाएका छैनन्। 

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .