कारोबार


११ अर्ब लगानीमा तयार हुँदै पाँचतारे वाटर रिसोर्ट, मेरियट ब्रान्डमा सञ्चालन हुने

एनआईसी एसिया बैंकका पूर्वसीईओ रोशन न्यौपाने र एक्यानका पूर्वअध्यक्ष पाण्डेको लगानी
११ अर्ब लगानीमा तयार हुँदै पाँचतारे वाटर रिसोर्ट, मेरियट ब्रान्डमा सञ्चालन हुने

लगानीकर्ताहरु दीपक पाण्डे र रोशन न्यौपाने


उद्धव थापा
साउन ६, २०८३ बुधबार २०:३२, काठमाडौँ

एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेसहितको लगानीमा लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा निर्माण भइरहेको छ।

यो नेपालकै पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट हुने भनिएको छ। 

रूपन्देहीको सियारी गाउँपालिकाअन्तर्गत लुम्बिनी पर्यटन करिडोरमा सञ्चालनमा रहेको लुम्बिनी प्यालेस रिसोर्टलाई स्तरोन्नति गरेर मेरियट ब्रान्डमा सञ्चालन गर्न लागिएको हो।

लुम्बिनी प्यालेस रिसोर्ट भने २० वटा कोठा (कि), हल र रेस्टुरेन्टसहित सञ्चालनमा छ।  

विश्व सम्पदा सूचीमा रहेको लुम्बिनी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा सुनौली नाकानजिक रहेकाले स्वदेशी र विदेशी पर्यटक दुवैलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको उक्त रिसोर्टका लगानीकर्तामध्येका एक व्यवसायीले बताए।  

धार्मिक पर्यटन, अन्तर्राष्ट्रिय उडान सुविधा तथा सीमापार पर्यटकको सहज पहुँचले दीर्घकालीन रूपमा परियोजनालाई लाभ पुग्ने विश्लेषण गरिएको उनको भनाइ छ।

उक्त रिसोर्टको मुख्य लगानीकर्तामा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)का पूर्वअध्यक्ष दीपक पाण्डे र एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट रोशन कुमार न्यौपाने छन्। पाण्डे अध्यक्ष र न्यौपाने प्रबन्धनिर्देशकको जिम्मेवारीमा रहेर रिसोर्ट निर्माणको काम गरिरहेका छन्।

रिसोर्ट निर्माणमा करिब १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ लगानी हुने बताइएको छ। उक्त रिसोर्टको निर्माण दुई चरणमा सम्पन्न गर्ने योजना रहेको उनीहरुले बताए।

पहिलो चरणअन्तर्गत २०० कोठासहितको रिसोर्ट निर्माण सम्पन्न गरी सन् २०२७ को जनवरीदेखि पूर्णरुपमा व्यावसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

समग्र परियोजना सम्पन्न हुँदा भने ४५० कोठा हुने र सन् २०३० सम्म सम्पूर्ण परियोजना सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ। 

उक्त रिसोर्टको व्यवस्थापन विश्वप्रसिद्ध होटल चेन मेरियट इन्टरनेसनलले गर्ने भएको छ। रिसोर्ट मेरियट इन्टरनेसनलकै प्रिमियम क्याटगोरी ‘मेरियट’ ब्रान्डमा सञ्चालन गर्ने गरी सम्झौता भएको छ।

मेरियटसँगको सहकार्यबाट रिसोर्टले विश्वव्यापी रिजर्भेसन प्रणाली, अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्ड तथा सञ्चालनसम्बन्धी विशेषज्ञताको प्रत्यक्ष लाभ पाउनेछ।

यससँगै रिसोर्ट मेरियट बोनभोएको विश्वव्यापी लोयल्टी नेटवर्कसँग पनि जोडिनेछ। यसले मेरियटका नियमित ग्राहक तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सहज हुने अपेक्षा रिसोर्टको छ। 

अन्तर्राष्ट्रिय चेन होटलको ब्रान्डमा सञ्चालन हुन लागेको लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पालाई वाटर रिसोर्टको रूपमा विकास गर्न लागिएको छ।

रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन, थ्री–डी वाटर स्क्रिन, मोटर बोटिङ तथा मिनी क्रुज सेवा, विशेष वाटर रेस्टुरेन्ट र वाटर स्पा रहने छ। यी सुविधामार्फत मनोरञ्जन, विश्राम र प्राकृतिक शान्तिलाई एकैसाथ अनुभव गराउने विशिष्ट रिसोर्ट अवधारणा बनाइएको उनीहरुले बताएका छन्।

विश्वव्यापी जलवायु चुनौती र दिगोपनाका लक्ष्यलाई ध्यानमा राख्दै रिसोर्टलाई ‘ग्रीन सर्टिफाइड (गोल्ड) वेलनेस रिट्रिट तथा इको–रिसोर्ट’का रूपमा विकास गरिँदै छ। 

‘यो रिसोर्टलाई रिसोर्टलाई बहुउद्देश्यीय गन्तव्यका रूपमा विकास गर्न लागेका छौं। जहाँ नेपालमा खेलिने प्रमुख खेलका लागि आवश्यक विश्वस्तरीय पूर्वाधार उपलब्ध गराइनेछ। यसले लुम्बिनी क्षेत्रलाई खेल पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ लगानीकर्ता मध्येका एक व्यवसायीले नेपालखबरसँग भने। 

पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट
लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पाले नेपालकै पहिलो अर्गानिक पाँचतारे वेलनेस लक्जरी रिसोर्ट हुने भनिएको छ। 

‘रिसोर्टमा प्राकृतिक उपचार (नेचुरोप्याथी), समग्र स्वास्थ्य (होलिस्टिक हिलिङ) तथा दिगो मानव स्वास्थ्य प्रवद्र्धनमा आधारित सेवा उपलब्ध गराउने गरी काम गरिरहेका छौ,’ उनले भने। 

रिसोर्टका सम्पूर्ण सञ्चालन तथा सेवाहरू अर्गानिक अभ्यास र वातावरणमैत्री सिद्धान्तअनुसार हुने उनले बताए। 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको आध्यात्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै रिसोर्ट परिसरमा विशेष बुद्ध थिम पार्क निर्माण हुनेछ। उक्त पार्कमा मिनी स्तूपहरू, मिनी बुद्ध सङ्ग्रहालय, ध्यान क्षेत्र र सांस्कृतिक तथा आध्यात्मिक केन्द्र जस्ता संरचनाहरू हुनेछन्। 

विश्वस्तरीय सेवा र उत्कृष्ट सञ्चालन सुनिश्चितताको लागि होटल व्यवस्थापनको अन्तर्राष्ट्रिय पहिचान बनाएका विजयनानमारन सनमुगमलाई रिसोर्टको सञ्चालन र पूर्वाधार विकास हेर्ने गरी उपाध्यक्षको जिम्मेवारी दिइएको छ। उनीसँग होटल व्यवस्थापन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा २७ वर्षभन्दा बढीको अनुभव छ।

लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पालाई केवल रिसोर्टका रूपमा मात्र नभई बहुआयामिक अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गरिने लक्ष्य राखिएको ती लगानीकर्ताले बताए। 

रिसोर्टमा अन्तर्राष्ट्रिय सम्मेलन तथा अधिवेशन, विशेष विवाह समारोह(डेस्टिनेसन वेडिङ), जल, इको, वेलनेस, खेलकुद तथा सांस्कृतिक पर्यटन जस्ता गतिविधिलाई प्रवद्र्धन गरिने बताइएको छ। 

उक्त परियोजनाको क्रेडिट रेटिङ इन्फोमेरिक्स क्रेडिट एण्ड रेटिङले प्रालिले गरेको छ। 

जसअनुसार, लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड (एलपीआर)लाई दीर्घकालीन र अल्पकालीन बैंक सुविधाका लागि क्रमशः डबल बी र ए–फोर क्रेडिट रेटिङ प्रदान गरेको छ। 

उक्त परियोजनाका लागि ५ अर्ब २९ करोड २९ लाख रूपैयाँ बराबरको दीर्घकालीन कर्जा र २० करोड ३ लाख ९४ हजार रुपैयाँ बराबरको अल्पकालीन बैंक सुविधामा दिने मिल्ने भनिएको छ।

सन् २०२६ मेको अन्त्यसम्म परियोजनाको ४५ प्रतिशत भौतिक प्रगति तथा ३५ प्रतिशत वित्तीय प्रगति सम्पन्न भइसकेको इन्फोमेरिक्सको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीको अनुभवी नेतृत्व, अन्तर्राष्ट्रिय होटल ब्रान्ड मेरियट इन्टरनेशनलसँगको सहकार्य, रणनीतिक भौगोलिक अवस्थिति, सुधारोन्मुख वित्तीय अवस्था तथा ऋण भुक्तानी क्षमताले रेटिङलाई सकारात्मक आधार प्रदान गरेको इन्फोमेरिक्सको प्रतिवेदनमा उल्लेख छ।

नेपालको होटल तथा पर्यटन क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विश्वप्रसिद्ध ब्रान्ड म्यारियटसँगको सहकार्यले लुम्बिनी प्यालेस रिसोर्टलाई अन्य स्थानीय होटलको तुलनामा महत्त्वपूर्ण प्रतिस्पर्धात्मक लाभ मिल्ने अपेक्षा गरिएको लगानीकर्ताहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad