ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकको अनुगमन गरेका छन्।
उक्त सडक निर्माण प्रगतिबारे जानकारी लिँदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरेको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।
छलफलमा उनले चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमनलाई सहज बनाउन निर्देशन दिए।
साथै, आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषयहरू भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माण कार्यलाई पूर्ण रूपमा परिचालन गर्न तथा चालू आर्थिक वर्षभित्र नै सडक विस्तार सम्पन्न गर्न आग्रह गरे।

हालसम्म सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ। यसअन्तर्गत सूर्यविनायकदेखि साँगा सम्मको ८.३ किलोमिटर खण्डमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ भने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत प्रगति भएको छ।आयोजनाको समग्र भौतिक प्रगति ४५ प्रतिशत छ।
टेवा पर्खाल तथा नाली निर्माणको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने करिब १ किलोमिटर सडकमा कालोपत्रे गरिएको छ। तर, सडक सीमा विवाद, घर–टहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। बजेटको अभाव हुन नदिने आवश्यक पहल गर्ने बताए।
महानिर्देशक बिजय जैसीका अनुसार आयोजनाका लागि चालू आर्थिक वर्षमा करिब ३ अर्ब बजेट आवश्यक पर्नेमा ५० करोड मात्र विनियोजन गरिएको छ।

Shares

प्रतिक्रिया