कारोबार


मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त, हालसम्म २५ प्रतिशत प्रगति

मुग्लिन–मलेखु सडकको स्तरोन्नति सुस्त, हालसम्म २५ प्रतिशत प्रगति

फाइल तस्बिर


रासस
फागुन २७, २०८१ मंगलबार १४:४१, काठमाडौँ

मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ। हालसम्म २५ प्रतिशत प्रगति भएको छ।
 
नागढुङ्गा–मुग्लिन सडक आयोजनालाई तीन प्याकेज छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ। करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन प्याकेज छुट्याएर स्तरोन्नति गरिएको हो। पहिलो प्याकेजमा नागढुङ्गा–नौबीसे, दोस्रोमा नौविसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ।
 
पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रो ४३ दशमलव ५४ किलोमिटर र तेस्रो ३८ दशमलव ८६ किलोमिटर छ। तेस्रो प्याकेज अन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनका इञ्जिनियर विजय दरैका अनुसार अहिले सडक खण्डमा कालोपत्र र पुलको काम जारी छ। दैनिक २०० हाराहारीले काम गरिरहेको उनले बताए।

चुम्लिङटार, कुरिनटार र लेवाटार क्षेत्रमा चार किलोमिटर सडकको दुई लेन कालोपत्र गरिसकिएको छ। बजार क्षेत्रमा चार लेन सडक बन्नेछ।

कुरिनटार, लेवाटार र चुम्लिङटारका बाँकी क्षेत्रमा कालोपत्रको काम भइरहेको छ। फिस्लिङ, बेनिघाट र चरौदीमा सबबेसको काम गरिँदै छ। सो सडक खण्डमा पर्नेछ पुलमध्ये चार वटाको सबस्ट्रक्चर सम्पन्न गरिएको जनाउँदै दराईले असारसम्ममा चार पुल सम्पन्न गर्ने योजना रहेको बताए।

चरौदी र हुग्दिका दुई पुलको फाउन्डेसनको काम भइरहेको छ। अन्य क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ। भित्तो काट्ने र तलबाट उठाउने काम गरिँदै छ। कतिपय ठाउँमा नाली निर्माणको काम भइरहेको छ।

आयोजनाका प्रमुख केदारप्रसाद नेपालले असार मसान्तसम्ममा १६ किलोमिटर कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

उनका अनुसार चार पुल सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।

उनले भने, “गत वर्षको पुस–माघमा पाँच प्रतिशत मात्रै काम भएको थियो।”

लक्ष्य लिएको १६ किलोमिटर सडकमध्ये आठ किलोमिटर बजार क्षेत्रमा पर्दछ। बजार क्षेत्रमा चार लेन सडक हुने हुँदा समय लाग्ने भएकाले अहिले बजार केन्द्रित काम गरिएको छ।

विद्युत्का खम्बा सार्ने काम अझै सकिएको छैन। नेपालका अनुसार ९० खम्बामध्ये ५० सार्न बाँकी छ। सरकारी वन क्षेत्रका रूख काट्ने काम सकिएको छ। समयमा निर्माण सामग्रीको उपलब्धता नहुँदा काममा समस्या आएको उनले बताए।

यसका अतिरिक्त निर्माण कम्पनीले आवश्यक स्रोतसाधन परिचालन गर्न नसक्दा पनि समयमा काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ।

ठेक्का सम्झौता विसं २०७९ पुस १५ गते भएको हो। कुल रु चार अर्ब ८० करोड ५९ लाख लागतमा शर्मा–जेडआइसिजीले यो सडक खण्ड निर्माणको जिम्मा पाएको थियो। सम्झौताअनुसार विसं २०८२ पुस १५ भित्र यस खण्डको काम सकिसक्नुपर्ने हो।

यही सडक खण्डमा गत असोज ११, १२ र १३ गते परेको भीषण वर्षाका कारण कृष्णभिर लगायतका क्षेत्रमा नयाँ पहिरो खसेको थियो। ती पहिरोको व्यवस्थापनका लागि लागत अनुमानको काम भइरहेको छ। यस खण्डका छ स्थानमा पहिरो जाँदा सडकमा पूर्ण रूपमा क्षति पुगेको थियो। कृष्णभिरमा करिब १०० मिटरसम्म सडक भासिएको थियो। सडक स्तरोन्नतिसँगै सोको पुनःनिर्माणसमेत गर्नुपर्ने हुन्छ।
 
विश्व बैङ्कको सहुलियतपूर्ण ऋणमा सडकको स्तरोन्नति गरिएको हो। यो सडक हुँदै राजधानी प्रवेश र बाहिरिने भएकाले सवारी साधनको निकै चाप हुने गर्दछ। सवारी साधनको उच्च चापका बाबजुद काम गर्नुपर्दा सोचेजस्तो प्रगति गर्न कठिन हुने गरेको नेपालको भनाइ छ।

यो सडक हुँदै दैनिक १५ हजार हाराहारी सवारी साधन आवतजावत गर्ने अनुमान छ। सडक स्तरोन्नति भएसँगै राजधानी प्रवेश र बाहिरने यात्रुले अहिले पाइरहेको हैरानीबाट मुक्त हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad