वस्तु आयात गर्दा कालो धन र हुण्डीको प्रयोग हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने नीति लिएको छ।
अवैधानिक तवरबाट अवैधानिक रकम समेत भुक्तानी हुनथालेको देखिएकाले बैंकहरुलाई कडाइ गर्न निर्देशन दिइएको हो।
न्यून बीजकीकरण गर्दै वस्तु आयात गर्ने र बाँकी पैसा अवैधानिक तवरबाट भुक्तानी हुने देखिएको राष्ट्र बैंकको आशय छ। नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आयातको प्रक्रियामा नै कडाइ गर्न भनेको छ।
केन्द्रीय बैंकले आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सघाउ पुग्ने गरी आयातको प्रक्रिया अपनाउन भनेको हो।
राष्ट्र बैंकले सर्कुलर जारी गर्दै भनेको छ, ‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि तथा आन्तरिक संरचना बनाई वस्तुको अन्तर्राष्ट्रिय मूल्य र डकुमेन्टमा उल्लेख गरिएको मूल्यबीच तुलनात्मक विश्लेषण समेत गरी यथार्थपरक देखिएमा सटही सुविधा प्रदान गर्नुपर्नेछ।’
त्यसमा ड्राफ्ट टीटी जारी गर्ने, प्रतीतपत्र खोल्ने, डीडीए, डीपीए जस्ता आयातका प्रक्रियामा कडाइ गर्न भनेको हो।
प्रतिक्रिया