ad ad

कारोबार


चिनी र गहुँ निर्यात गर्ने भारतको प्रतिबद्धता, डब्लूटीओमा नेपालको एजेन्डा पारित

चिनी र गहुँ निर्यात गर्ने भारतको प्रतिबद्धता, डब्लूटीओमा नेपालको एजेन्डा पारित

नेपालखबर
असार १९, २०७९ आइतबार १७:५०, काठमाडौँ

भारतले चिनी र गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ।  

समग्र निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा समेत भारतबाट चिनी र गहुँ आयात हुन छोडेको छ। 

यसको मारमा परेको भन्दै नेपालको मैदा उद्योगीहरुबाट गरेको गुनासोहरु आइरहँदा राहत हुने गरी छलफल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

उद्योगमन्त्री दिलेन्द्र बडूले मन्त्रालयको एक छलफलमा भारतीय समकक्षीसँग उक्त विषयमा छलफल भएको जानकारी दिए।  

मन्त्री बडूसहितको टोली विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को १२औँ सम्मेलनमा सहभागी भएको थियो। असार ३ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा चलेको सम्मेलनमा सहभागी भएर टोली अहिले स्वदेश फर्किसकेको छ। मन्त्री बडूले उक्त सम्मेलनबारे जानकारी दिन एक कार्यक्रम आयोजना गरेका थिए। 

उक्त कार्यक्रममा भारतबाट वाणिज्य तथा आपूर्तिमन्त्री पीयुष गोयलसँग जेनेभामा भेटवार्ता भएको जानकारी दिँदै चिनी र गहुँ निर्यातबारे कुरा राखेको बताए। 

नेपाल छिमेकी देश भएको हुनाले अन्य देशमा प्रतिबन्ध गरे पनि नेपालमा भने निर्यात गर्न मन्त्री गोयल सकरात्मक रहेको उनको भनाइ छ। 

विश्व व्यापार संगठनको १२औँ सम्मेलनमा भने नेपालको एजेन्डा समेत पारित भएको मन्त्री बडूसहितको टोलीले दाबी गरेको छ। 

मन्त्रीस्तरीय सम्मेलनमा नेपालले राखेको विश्व खाद्य कार्यक्रमले खरिद गर्ने खाद्यान्नमा कुनै सदस्य मुलुकले निर्यात प्रतिबन्ध गर्न पाउँदैन भन्ने विषय पारित भएको छ। त्यसमा व्याख्या भने कुनै देशको खाद्य सुरक्षामा समस्या आउँछ भने त्यसलाई नियन्त्रण गर्न पाइन्छ भन्ने छ। तर त्यसमा छुटचाहिँ दिइने उल्लेख छ। यो विषय नेपालले राखेको एजेन्डा भएको मन्त्रालयले दाबी गरेको छ। 

त्यस्तै सम्मेलनमा विकसित राष्ट्रले पनि आफ्नो मात्रै चिन्ता गर्यो भने कमजोर देशको बेहाल हुने विषय नेपालले उठाएको हो। 

योसँगै नेपालले सङ्गठनको संरचनाको सवाललाई समेत गम्भीरताका साथ उठाएको छ। उनले आज जानकारी दिन मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा ट्रेन्ड ‘सेल्फ प्रोटेक्सनालिज्म’मा जान थालेको महसुस भएको बताए। 

‘विकसित राष्ट्रले पनि सेल्फ प्रोटेक्सनमा मात्रै सोच्यो भने कमजोर राष्ट्रको अवस्था के होला?’, उनले भने, ‘त्यसमा पनि ध्यान जानुप¥यो भनेर उठाएका छौँ।’ 

कोभिडका कारण होस् या रुस–युक्रेनको युद्धका कारणले होस्, विश्व अर्थतन्त्रमा परेको अप्ठयारोमा आआफ्नो स्वार्थमा मात्रै काम हुन थाल्यो भने समस्या आउनसक्ने विषय उठाइएको मन्त्री बडूले जानकारी दिए। 

नेपालमा केही वस्तुको आयातमा प्रतिबन्ध लगाएको सन्दर्भ प्रस्तुत गर्दै मन्त्री बडूले अहिलेको मुद्रा सञ्चितिमा पर्न थालेको नकारात्मक दबाबका कारण केही समय रोक्नुपर्ने तर धेरै लामो समय नेपालले पनि रोक्न नसक्ने अरु मुलुकले धेरै लामो समयसम्म निर्यात रोकिदियो भने विश्वबजारको आपूर्तिमा नै समस्या आयो भने के होला भन्ने चिन्ताका साथ सम्मेनलमा आवाज उठाएको बताए।

त्यस्तै बंगलादेशको समकक्षीसँग पनि ‘साइड इभेन्ट’ गरेर भेटघाट गरिएको मन्त्री बडूले जनाए। बंगलादेशसँगको छलफलमा भने कर नीति र बंगलाबन्ध बन्दरगाहको विषय उठान भएको उनको भनाइ छ। 

मन्त्री बडूका अनुसार नेपाल र बंगलादेशको व्यापार सहजीकरणको विषयमा कुराकानी भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .