ad ad

कारोबार


वृद्धभत्ताको दायरा बढाउने सरकारको तयारी, दुई विकल्पमा छलफल

राज्यलाई थप ३० अर्ब भार बढ्ने अनुमान
वृद्धभत्ताको दायरा बढाउने सरकारको तयारी, दुई विकल्पमा छलफल

वृद्धभत्ता पाएपछि प्रसन्न मुद्रामा एक ज्येष्ठ नागरिक (तस्बिर : दिपेन्द्र थापा/फेसबुक)


दीपक भट्ट
जेठ ८, २०७९ आइतबार १८:४१, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सामाजिक सुरक्षा भत्ताको दायरा वा दर वृद्धि गर्ने भएको छ। 

सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिकलाई दिइने वृद्धभत्ताको दर र दायरालाई प्राथमिकतामा राखेर अहिले दुई विकल्पमा छलफल भइरहेको हो।  

प्रधानमन्त्री शेरबहादुर देउवाले योभन्दा अघिको कार्यकाल छोड्नुअघि अर्थात् २०७४ सालमा नै ६५ वर्ष उमेर कटेकाहरुलाई वृद्धाभत्ता दिने निर्णय गरेका थिए। तर उनीपछि बनेको केपी शर्मा ओलीको सरकारले त्यसलाई उल्ट्याइदियो। 

संसदीय निर्वाचनपछि कामचलाउ बनिसकेको सरकारले गरेका निर्णय मान्य नहुने भन्दै तत्कालीन मन्त्रिपरिषद्को सो निर्णय माइन्युट नै नभएको ओली प्रधानमन्त्री भएपछि बताएका थिए। यो वर्ष पनि स्थानीय निर्वाचन भइसकको छ भने अब प्रदेश र संघीय निर्वाचन हुँदै छ। 

प्रधानमन्त्री देउवाले अहिले पनि वृद्धभत्ता पाउनेको उमेर समूह घटाउन चाहेका छन्। सोहीअनुसार यही १५ गते आउने नयाँ आर्थिक वर्षको बजेटमै सामाजिक सुरक्षा भत्ताबारे निर्णय गर्ने तयारी भएको छ। 

सरकारले बजेटको सम्पूर्णजसो तयारी पूरा गरिसकेको छ। राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका अनुसार अहिले सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३२ लाख ३५ हजार हाराहारीमा छ। यो संख्या गत वर्षको हो। यो वर्ष त्यो संख्या घटेको अनुमान विभागको छ। 

सरकारले गत वर्ष सरकारी कोषबाट निवृत्तिभरण सेवा लिइरहेकालाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो। यसअनुसार ८४ हजार ७ सय जनाले दुईतर्फी सेवा लिइरहेको हुनसक्ने विभाग बताउँछ। 

त्यसकै लागि अहिले स्थानीय तहसँग ट्याली गराउने काम भइरहेको छ। यसअनुसार २४ सय ६६ जनाको नाम कटौती नै भइसकको विभागले जनाएको छ। 

यसरी सामाजिक सुरक्षाको भत्ता पाउनेको संख्यामा गिरावट हुने अवस्था सिर्जना भइरहँदा भत्ता दरभन्दा उमेर समूहलाई कम गराएर भत्ता दिने तयारीमा सरकार लागेको हो। तर हालसम्म यसबारे निर्णय नभएको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थ मन्त्रालयका बजेट लेखन टोलीका एक अधिकारीले दुईतर्फी कुरा भइरहेको स्वीकार गरे। उनका अनुसार ७० वर्षभन्दा माथि उमेरकालाई मासिक ४ हजार रुपैयाँ भत्ता दिइँदै आएकामा अब यस्तो भत्ता पाउनसक्ने उमेर ६५ वर्ष बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। 

यसबाहेक सरकारले उमेरभन्दा पनि वृद्धभत्ताको रकम बढाउने विकल्प समेत अघि सारेको छ। यसो भए अहिले ७० वर्ष पुगेकोलाई ४ हजार रुपैयाँ दिइरहेकोमा ५ सय रुपैयाँ बढाउन सक्नेछ।

‘मन्त्रिपरिषद्ले केही लोकप्रिय काम गरेर जाऊँ भन्नेखालको कुरा आएको छ। अर्थमन्त्रीबाट सो निर्देशन समेत प्राप्त भइसकेको छ’, अर्थका ती अधिकारीले नेपालखबरसँग भने, ‘तर यही गर्ने भन्ने कुराको ‘आधार लेबल’मा पुगेका छैनौँ। प्रधानमन्त्रीले बाहिर बोलिसक्नुभएकाले अर्थ मन्त्रालयबाट कार्यान्वयन गर्नुपर्ने दबाब त छ नै!’

यो वर्ष सामाजिक सुरक्षा शीर्षकमा कुल ७५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। 

अर्थ मन्त्रालयका अनुसार उमेर समूह ६५ वर्ष बढाउँदा २५ देखि ३० अर्बभित्र पुग्ने  अनुमान छ। त्यसकारण चालू आर्थिक वर्षमा सरकारले लोकप्रियताको लागि पनि वृद्धभत्ताको वितरण उमेर समूहको दायरा विस्तारलाई प्राथमिकतामा राखेको हो। 

तर सरकारले अहिले ७० वर्ष पुगेका वृद्धवृद्धालाई मात्रै नभई ८ प्रकारको सामाजिक सुरक्षा भत्ता समेत वितरण गरिरहेको छ। 

अहिले सामाजिक सुरक्षा भत्ता कुन क्षेत्रमा कति वितरण हुन्छ?

  • ७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई ४ हजार रुपैयाँ
  • ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक (साबिक कर्णालीका जिल्लाहरुमा बसोबास गर्ने नागरिक र देशभरका दलित नागरिक) लाई २ हजार ६६० रुपैयाँ
  • एकल महिला : विवाह नगरी बसेका, ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेकालाई २ हजार ६६०
  • विधवा : पतिको मृत्यु भएका जुनसुकै उमेरकालाई २ हजार ६६० रुपैयाँ
  • पूर्ण अपाङ्गता भएका सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई ३ हजार ९९० रुपैयाँ
  • अति अशक्त अपाङ्गता : सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई २ हजार १२८ रुपैयाँ
  • लोपोन्मुख आदिवासी र जनजाति : कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधियालाई ३ हजार ९९० रुपैयाँ
  • पिछडिएको क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई    ५ सय ३२ रुपैयाँ
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .