बैंक तथा वित्तीय संस्थाहरूले ऋण उठाउन नसकेपछि एक महिनामै ९ प्रतिशत बढिले कर्जा नोक्सानी व्यवस्थापन गरेका छन्।
असुलीमा समस्या खेप्दै आएका बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको गुणस्तर खस्कँदै जाँदा अतिरिक्त रकम जोहो गर्नुपर्ने बाध्यता बढ्न थालेको हो।
चालू आर्थिक वर्षको तीन महिना बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापन कोषमा २७ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ थपेका हुन्।
असारमा बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापन गर्न २ खर्ब ८५ अर्ब रुपैयाँ छुट्याएका थिए भने साउनमा कर्जा प्रवाह खास्सै नहुँदा कोषको रकममा थपघट गर्नुपरेन। भदौमा भने यस्तो रकम घटेर पुन २ खर्ब ८४ अर्बमा आएको थियो।
असोजमा आएपछि भने बैंकहरूले यस्तो कोषमा थप २७ अर्ब बराबरको रकम थपेका हुन्।
बैंकहरूले कर्जा लगानी गरिसकेपछि समयमा ऋणीले ऋण तिर्न नआएमा तथा नआउने सम्भावाना भएका ऋणहरूमा बैंकहरूले कर्जा नोक्सानी व्यवस्थापन गर्ने गर्छन्। ऋण असुली नभए पनि त्यसको असर बैंकलाई नपरोस् भन्ने उद्देश्यसहित नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जाको असुलीका आधारमा पाँच प्रकारमा वर्गीकरण गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। जसमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको अवस्था मूल्यांकन गरेर शतप्रतिशतसम्म नोक्सानी व्यवस्थापन गर्न निर्देशन दिएको छ।
जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीका हुने नहुने मूल्यांकनसहित कर्जा वर्गीकरण गरेर शतप्रतिशतसम्मको कर्जा नोक्सानी व्यवस्थापन गर्दै आएका हुन्।
कर्जा नोक्सानी व्यवस्थापनका लागि ९ प्रतिशतले रकम बढाएका बैंक तथा वित्तहरूले कर्जा प्रवाह भने सोहीअनुसार गर्न नसकेको देखिएको छ। चालू आर्थिक वर्षको ३ महिनामा उनीहरुले १.४७ प्रतिशतले मात्रै कर्जा लगानी बढाउन सकेका छन्।
Shares

प्रतिक्रिया