राष्ट्रिय वाणिज्य बैकले आव २०८१/८२ मा ४९.४१ प्रतिशतले नाफा बढाएको छ।
बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल ३ अर्ब ८१ करोड बराबरको नाफा गरेको हो।
अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ५५ करोड मात्रै थियो। नाफा बढे पनि बैंकका लाभांश वितरण गर्ने क्षमता खासै बढेको छैन।
अघिल्लो आवमा ऋणात्मक रहेको वितरणयोग्य नाफा यो वर्ष ३ अर्ब ३ करोड पुगेको छ। तर पनि बैंकले सेयरधनीलाई लाभांश भने दिन सक्नेछैन। बैंकको लाभांश क्षमता १.९४ प्रतिशत मात्रै रहेको हो।
यस्तै नाफामा उल्लेख्य वृद्धि गरेको बैंकले सञ्चालन आय अघिल्लो वर्षको तुलनामा बढाउँदा ब्याजआम्दानी भने घटेको छ। बैंकको सञ्चालन आय यो वर्ष कुल १२ अर्ब ८४ करोड छ। अघिल्लो वर्ष यस्तो आय ११ अर्ब ५४ करोड रुपैयाँ थियो।
यस्तै बैंकको सञ्चालन नाफा पनि सामान्य बढेको छ। अघिल्लो वर्ष ४ अर्ब ९ करोड खुद सञ्चालन नाफा कमाएको बैंकले यो वर्ष ५ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको हो।
गत आवभर बैंकको ब्याज तल्लो विन्दुमा आइपुग्दा यसले ब्याज आम्दानीमा नकारात्मक प्रभाव पारेको छ। अघिल्लो वर्ष २९ अर्ब ७४ करोड रुपैयाँ ऋणीहरुबाट ब्याज आम्दानी गरेको बैंकले यो वर्ष २७ अर्ब १२ करोड मात्रै कमाएको छ।
त्यसैगरी बैंकले तिर्ने ब्याजको हिस्सा घटेको देखिएको छ। अघिल्लो वर्ष ब्याजबापत १९ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको बैंकले गत आवमा १७ अर्ब १ करोड रुपैयाँ खर्च गरेको हो।
ब्याज आम्दानीमा ब्याज खर्च घटाउँदा बैंकको खुद ब्याज आम्दानी आउँछ। यस हिसाबमा बैंकको खुद ब्याज आम्दानी भने कुल १० अर्ब ८ करोड रुपैयाँ मात्रै छ।
यो पटक बैंकको नाफा बढाउनमा इम्पेयरमेन्ट चार्ज शीर्षकमा राखिने पैसा घट्नु पनि प्रमुख कारण हो। कर्जा नोक्सानी व्यवस्थापनका लागि अघिल्लो वर्ष बैंकले कुल १ अर्ब १४ करोड रुपैयाँ राखेकोमा यो वर्ष सो रकमलाई घटाएर ७१ करोडमा सीमित गरेको छ।
बैंकसँग अघिल्लो वर्ष कुल कर्जाको ४.२८ प्रतिशत कर्जा खराब थियो। गत वर्ष भने बैंकले खराब कर्जा घटाएर ३.५९ प्रतिशतमा झार्दा त्यसले इम्पेयरमेन्ट चार्जलाई पनि घटाएको छ। यसले पनि बैंकको नाफामा बढाउन सामान्य सहयोग पुर्याएको देखिन्छ।
योबाहेक अघिल्लो वर्षसम्म बैंकले असुल गर्न नसकेको कुल २१ करोड ब्याज यो वर्ष असुल गर्दा पनि त्यसले समग्र बैंकको वासलातमा सकारात्मक प्रभाव पारेको हो। समग्रमा बैंकले गत आवबाट ३ अर्ब ८१ करोड नाफा गर्दा सरकारलाई भने करबापत १ अर्ब ६३ करोड रुपैयाँ बुझाएको छ।
नाफामा उल्लेख्य वृद्धि गरेको बैंकका अधिकांश वित्तीय सूचकहरु अघिल्लो वर्षभन्दा सुधारोन्मुख देखिए पनि यो वर्ष पनि सेयरधनीले भने उचित लाभांश नपाउन सक्नेछन्।
Shares

प्रतिक्रिया