कारोबार


नबिल बैंकले गत वर्ष गर्‍यो ७ अर्ब बढी नाफा, सरकारलाई तिर्‍यो अघिल्लो वर्षभन्दा धेरै कर

लगानीकर्तालाई १७.६४ प्रतिशत लाभांश दिनसक्ने क्षमता
नबिल बैंकले गत वर्ष गर्‍यो ७ अर्ब बढी नाफा, सरकारलाई तिर्‍यो अघिल्लो वर्षभन्दा धेरै कर

नेपालखबर
साउन २७, २०८२ मंगलबार ११:४३, काठमाडौँ

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब बढी नाफा गरेको छ।

गत वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार नबिल बैंकको कुल नाफा ७ अर्ब १२ करोड पुगेको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १९ करोड नाफा गरेको थियो। गत वर्षको नाफा १५.०२ प्रतिशत बढी हो।

बैंकले गत आवमा नाफा वृद्धि त गरेको छ नै, अघिल्लो वर्षको तुलनामा खराब कर्जालाई पनि घटाएको छ। त्यसैगरी सर्वसाधारणले पाउने लाभांशको हिस्सा समेत बढेको देखिएको छ।

बैंकले कुल ७ अर्ब १२ करोडको खुद नाफा गर्दा सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ४ अर्ब ७७ करोड रुपैयाँ देखाएको छ। यसअनुसार बै‌ंकले लगानीकर्तालाई १७.६४ प्रतिशतसम्म लाभांश दिन सक्नेछ।

अपरिष्कृत वित्तीय विवरणमा बैंक सबै सूचकहरु राम्रा छन्। बैंकले गत आवमा ब्याजबाट कुल ४० अर्ब ४७ करोड रुपैयाँ आम्दानी गर्दा २४ अर्ब १४ करोड रुपैयाँ निक्षेपकर्तालाई दिएको छ। यसरी खुद ब्याज आम्दानी गत वर्ष बैंकले १६ अर्ब ३२ करोड रुपैयाँ गरेको हो। अघिल्लो वर्ष यस्तो आम्दानी १६ अर्ब ३१ करोड रुपैयाँ थियो।

यस्तै बैंकले यो अवधिमा खुद सञ्चालन आम्दानी पनि बढाएर १८ अर्ब ६० करोड रुपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्ष बैंकले १५ अर्ब ६७ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको थियो। गत वर्ष सञ्चालन मुनाफा बढेर १० अर्ब ८४ करोड पुगेको छ। अघिल्लो वर्ष बैंकले ८ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

यस्तै बैंकले अघिल्लो वर्षको तुलनामा खराब कर्जालाई घटाउँदा कर्जा नोक्सानी व्यवस्थापनमा राखेको २ अर्ब ३९ करोड रुपैयाँ नाफामा देखाउन सफल बनेको छ। यसले पनि बैंकको नाफा बढाउन सहयोग पुगेको हो।

बैंकले इम्पेयरमन्ट चार्ज शीर्षकमा कुल २ अर्ब ३९ करोड रुपैयाँ देखाएको छ। जुन अघिल्लो वर्ष ४ अर्ब ६३ करोड रुपैयाँ थियो ।

योबाहेक अघिल्लो वर्ष उठाउन नसकेको ब्याजबापतको करिब ६५ करोड रुपैयाँ पनि बैंकले यो वर्ष उठाएको छ। सोही कारणले पनि बैंकको नाफावृद्धिमा गत वर्ष उल्लेख्य मद्दत पुगेको हो।

यस्तै अघिल्लो वर्ष ४.४५ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आवमा आइपुग्दा घटेर ४.२७ प्रतिशतमा सीमित बनेको छ।

गत वर्ष नबिल बैंकले अघिल्लो वर्षभन्दा धेरै कर सरकारलाई तिरेको छ।

अघिल्लो वर्ष बैंकले २ अर्ब ७४ करोड कर तिरेकोमा गत आवमा ३ अर्ब ४१ करोड रुपैयाँको कर सरकारलाई तिरेको हो। 

समग्रमा असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३४ पैसा छ भने नेटवर्थ २३५ रुपैइाँ ५८ पैसा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad