वैशाख महिनामा बैंक तथा वित्तीय संस्थाहरुकोे नाफा १५ प्रतिशतले बढेको छ।
बैंकहरुले वैशाख मसान्तसम्म ५३ अर्ब रुपैयाँ नाफा कमाएका हुन्।
चैतमा ४५ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएका बैंकहरुले वैशाखमा थप ७ अर्ब २५ करोड रुपैयाँ नाफा थपेका हुन्।
कुल नाफाको करिब ८० प्रतिशत हिस्सा ओगट्दै आएका वाणिज्य बैंकहरुको नाफा वैशाखमा ४७ अर्ब ७९ करोड रुपैयाँ छ।
बैंकहरुले कर्जा नोक्सानी व्यवस्थापनमा राखेको सञ्चित रकमलाई नाफामा देखाउँदा त्यसले बैंकहरुको नाफा थप बढाउन पुगेको छ।
बैंकहरुले वैशाख महिनामा मात्रै यसरी कर्जा नोक्सानी व्यस्थापन शीर्षकमा राखेको २ अर्ब ६९ करोड रुपैयाँ नाफामा देखाएका हुन्। यसबाहेक बैंकहरुले लिलामीमार्फत गर्ने ऋण असुलीलाई पनि बढाएका छन्।
बैंकहरुले वैशाख महिनामा ३२.२५ प्रतिशतले बढाएर कुल ३० करोड रुपैयाँ असुलेका छन्। उक्त रकम बैंकहरुले नाफामा देखाउन पाउँछन्। वैशाख महिनामा बैंकहरुले कर्जा असुली तथा लिलामीलाई बढाएर नोक्सानी कोषमा रहेको रकम फिर्ता ल्याएका हुन्।
राइटब्याकबाहेक पनि वाणिज्य बैंकहरुले चैतको तुलनामा वैशाखमा विभिन्न शीर्षकहरुबाट हुने आम्दानीहरु बढाएका छन्। बैंकहरुको ब्याज आम्दानी १०.४६ प्रतिशतले बढेर ४ खर्ब ६९ अर्ब पुगेको छ भने कसिमन एन्ड डिस्काउन्ट शीर्षकबाट हुने आम्दानी १०.१२ प्रतिशतले बढेर ३१ अर्ब पुगेको छ।
यस्तै विदेशी रकमको मूल्यमा हुने उतारचढावबाट पनि बैंकको आम्दानी चैतको तुलनामा वैशाखमा १४.७० प्रतिशतले बढेर ७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यो अवधिमा बैंकहरुलेको गैरसञ्चालन आय पनि ८.१९ प्रतिशतले बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।
कर्जा प्रवाहमा दबाब खेपिरहेका बैंकहरु वैशाखमा पनि खराब कर्जाको समस्याबाट उम्किन सकेका छैनन्। यद्यपि केही राष्ट्र बैंकले दिएको सहुलियत प्रावधानलाई सदुपयोग गर्दै कर्जा नोक्सानी व्यवस्थापन गर्दा कमसल कर्जालाई पनी असल कर्जामा गणना गरेर त्यस बापातको रकम राइटब्याक गर्दै नाफामा राख्दै आएका छन्।
यसले बैंकहरुको अवस्था खस्कदो भए पनि वासलातमा भने नाफामा निरन्तरको वृद्धि देखाउन सफल बनेको छ।
Shares

प्रतिक्रिया