एक वर्षदेखि अधिक तरलताको अवस्थाबाट गुज्रिरहेका बैंकहरुको लागत बढ्नथालेको छ।
अपेक्षित रुपमा कर्जा प्रवाह नबढ्दा बैंक तथा वित्तीय संस्थाहरुको लागत बढेको हो।
तरलताको अवस्था झल्काउने सूचकको रुपमा रहेका बैंकहरुको कर्जा निक्षेप अनुपात पछिल्लो एक वर्षयता नै ८० प्रतिशत हाराहारीमा छ।
राष्ट्र बैंकका अनुसार हाल यस्तो अनुपात घटेर ७९.२० प्रतिशतमा आइपुगेको छ। गत वैशाख २० मा बैंकहरुको कर्जा निक्षेप अनुपात रेसियो ७९.२२ प्रतिशत थियो।
सामान्यतया यस्तो रेसियो ९० प्रतिशतसम्मलाई राम्रो मानिन्छ। राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि भने पुग्नुहुँदैन।
तर गएको एक वर्षयता तरलता बैंकहरुमा अधिक हुँदा यस्तो रेसियो ८० प्रतिशतभन्दा तल नै रहँदै आएको छ। वैशाख लागेयता बैंकहरुको तरलता बढ्दै गएको छ।
तरलता अधिकको अवस्था सिर्जना भएसँगै बैंकहरु सस्तो ब्याजमै राष्ट्र बैंकमा पैसा जम्मा गर्दै लागत घटाउने कसरतमा लागेका छन्। राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचनलाई तीव्र पारेको छ।
राष्ट्र बैंकले वैशाख १ देखि २४ गतेसम्म ६ पटकसम्म गरेर कुल २ खर्ब २० अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ। उक्त रकम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २.९८ प्रतिशतका दरले २१ दिनका लागि प्रशोचन गरेको थियो।
बैंकहरुको तरतला बढ्दै जाँदा न्यूनतम दरमै पनि राष्ट्र बैंकमा निक्षेप जम्मा गर्नेको संख्या बढ्नथालेको छ।
राष्ट्र बैंकले यही वैशाख १७ गते ५० अर्ब निक्षेप माग गरेकोमा २६ वटा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ७ अर्ब बराबरको निक्षेप राख्न बोलकबोलमा सहभागी भए।
५० अर्ब निक्षेप माग गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुले दोब्बर रकम निक्षेपमा राख्न चाहेका थिए। यसले पनि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता निरन्तर बढ्दो अवस्थामा रहेको पुष्टि गर्छ।
Shares

प्रतिक्रिया