कारोबार


२७ अर्ब नाफा कमाउँदा बैंकहरूले कति तिरे सरकारलाई आयकर?

२७ अर्ब नाफा कमाउँदा बैंकहरूले कति तिरे सरकारलाई आयकर?

नेपालखबर
माघ १५, २०८१ मंगलबार १४:६, काठमाडौँ

चालू आर्थिक वर्षको ६ महिनामा २७ अर्ब रुपैयाँबराबर नाफा गरेका वाणिज्य बैंकहरूले १२ अर्बबराबरको आयकर सरकारलाई तिरेका छन्। 

वाणिज्य बैंकहरूले पुस मसान्तसम्म २७ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका थिए। यसबाट आयकर शीर्षकमा १२ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ सरकारलाई बुझाएका हुन्। 

गत आर्थिक वर्षको तुलनामा चालू आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरूले ०.२४ प्रतिशत कम आयकर सरकारलाई तिरेका छन्। गत आर्थिक वर्षको पुससम्म बैंकहरूले कुल १२ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ आयकर बुझाएका थिए। 

तुलनात्मक रुपमा गत आवको दोस्रो त्रैमासिकमा तिरेभन्दा चालू आवको सोही अवधिमा बैंकहरूले २ करोड ९४ लाख रुपैयाँ कम आयकर सरकारलाई बुझाएका हुन्। 

अर्बमा आयकर तिर्ने ५ बैंक, अन्यको कति? 
पुस मसान्तसम्म २० वाणिज्य बैंकहरूले २७ अर्बको नाफाबापत सरकारलाई १२ अर्ब रुपैयाँ आयकर बुझाएका छन्। जसमा ५ वाणिज्य बैंकहरूले अर्ब बढी कर तिरेका छन्। 

अर्बमाथिको कर तिर्नेमा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन्। यीबाहेकका १५ वटा बैंकले भने करोडमा कर तिरेका छन्। 

यो अवधिमा सबैभन्दा धेरै कर नबिल बैंकले तिरेको छ भने सबैभन्दा थोरै नेपाल बैंकले तिरेको छ।  

नाफाका आधारमा पहिलो नम्बरमा देखिएको नबिल बैंकले पुस मसान्तसम्म आयकरबापत १ अर्ब ३९ करोड २१ लाख रुपैयाँ तिरेको हो।

गत वर्षको सोही अवधिमा यो बैंकले १ अर्ब ३१ करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको थियो। यो वर्ष बैंकले ५.५७ प्रतिशतले बढी कर बुझाएको हो।

योबाहेक सिटिजन्स बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड गरी ११ वटा बैंकले गत वर्षको तुलनामा चालू आवको पुस मसान्तमा कम कर तिरेका छन्। 

बाँकी ८ वटा बैंकले भने गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा बढी कर तिरेका छन्। नाफा खुम्चिएको एनआईसी एसिया बैंकले ९० प्रतिशतले कम कर तिर्दा नेपाल बैंकले गत वर्ष तिरेको करभन्दा १२४ प्रतिशतले कम कर तिरेको छ। 

यस्तै गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा ग्लोबल आईएमई बैंकले ४७.४५ प्रतिशतले बढी आयकर बुझाउँदा एभरेष्ट बैंकले ४०.५७ प्रतिशत, लक्ष्मी सनराइजले २८.८१ प्रतिशत, नबिल बैंकले ५.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५६.२८ प्रतिशत, नेपाल एसबीआई बैंकले १४.९२ प्रतिशत, एनएमबी बैंकले ४८.०२ प्रतिशत, प्राइम कमर्सियल बैंकले २४.४९ प्रतिशत र प्रभु बैंकले ६३.३८ प्रतिशतले बढी आयकर तिरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad