ad ad

कारोबार


नेपालमा कर्जा प्रचलनमा ल्याउने ती टंकधारीहरू (भिडिओ)

नेपालमा कर्जा प्रचलनमा ल्याउने ती टंकधारीहरू (भिडिओ)

नेपालखबर
भदौ २३, २०८१ आइतबार १४:४१, काठमाडौँ

नेपालमा आजको दिनमा बैंक तथा वित्तीय संस्थाहरूले ६४ खर्ब रुपैयाँ जनताको रकम बचतमा राखेका छन् भने ५१ खर्ब रुपैयाँ कर्जा दिएका छन्।

नेपालको कुल गार्हस्थ्य उत्पादन ५७ खर्ब हाराहारीमा पुग्दा त्यसको ८९ प्रतिशत अर्थात् ५१ खर्ब रकम बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कर्जा प्रवाह गरेका छन्। 

यसरी खर्बौँको कारोबार गरेर अर्थतन्त्रको खम्बा बनेको बैंक तथा वित्तीय संस्थाहरूको जरालाई केलाउने हो भने ६ सय वर्षअघिका टंकधारीहरूसम्म पुगिन्छ। जहाँ व्यक्तिहरूले नै सर्वसाधारणलाई कर्जा दिन्थे र उनीहरूले नै कर्जाबापतको ब्याज लिने गर्थे। 

विक्रम संवत् १४ सयको समयमा राजा जयस्थिति मल्लले जनतालाई ६४ वर्गमा विभाजित गरेर विभिन्न पेसा र व्यवसायमा लगाएपछि बजारमा सिक्काको प्रयोग देखिएको थियो। त्यसबेला सिक्काको कारोबार गर्ने जिम्मा टंकधारीहरूलाई दिइएको थियो। उनीहरूले नै विभिन्न राजाका पालामा जारी भएका सिक्काहरूलाई लामो समयसम्म सर्वसाधारणमा पुर्‍याउने तथा स्थानीय तहमा मुद्रा प्रचलनमा ल्याउने गर्दथे। 

कर्जा विस्तारको जराको रुपमा टंकधारीहरू रहन पुगे पनि सिक्का भने लिच्छवीकालदेखि नै निकालिन थालिएको इतिहास छ।

लिच्छवीकालमा मानदेव राजाले आफ्नो शासनकालमा ‘मानांक’ नामक सिक्का निकालेका थिए भने राजा गुणकाम देवको पालामा ‘गुणांक’ नामक सिक्का निकालिएको भेटिन्छ। 

यसरी विभिन्न कालखण्डमा राजाहरूले आफ्नै नामसँग जोडेर विभिन्न सिक्काहरू निकाल्ने गर्थे तर ती सिक्का सर्वसाधारणको दैनिक प्रयोगमा आउन भने लामो समय लाग्यो। 

झण्डै ३ सय वर्ष टंकधारीहरूले सर्वसाधारणलाई ऋण दिने र सो बापतको ब्याज लिइरहे। उनीहरूले चर्को ब्याज असुल्न थालेपछि गोर्खाका राजा राम शाहले जिन्सी र नगदका लागि छुट्टै ब्याजदर तोकिदिए। ‘न्याय नपाए गोर्खा जानु’ भन्ने किंवदन्तिअनुसार नै त्यसबेला राजा राम साहले जिन्सी सामानमा २५ प्रतिशत र नगदमा १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेका थिए। 

नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको इतिहासमा टंकधारीबाट बैंकिङ प्रणालीसम्म कर्जा प्रवाह कसरी विकसित भयो भन्ने वृत्तचित्र सार्वजनिक गरेको छ। जसमा जयस्थिति मल्लको शासनकालमा उदाएका टंकधारीहरू नै पहिलो कर्जा लिने र दिने व्यक्ति रहेको त्यहाँ उल्लेख गरिएको छ। जुन पछि गएर बैंकिङ प्रणालीको आधार बने। 

झण्डै ३ सय वर्षसम्म पैसाको कारोबार गरेका उनीहरूले १८ सयको दशकमा भने कर्जाको माग र कर्जाको व्यवस्थापन गर्न सकेनन्। वस्तुले वस्तु नै किन्ने नेपालीहरूमा मुद्राको प्रयोग बढ्न थालेपछि उनीहरूमाथि कर्जा लेनदेनको भार बढ्दा व्यवस्थापनका समस्या देखियो। 

फलतः वि.सं. १९३३ सालमा तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंह कुँवरले सरकारी तवरबाटै कर्जा दिनका लागि तेजारत अड्डा स्थापना गरी सरकारबाट कर्जा लेनदेनको काम सुरु गरेपछि टंकधारीहरूबाट कर्जा लेनदेनको कारोबार सरकारमा सरेको थियो। 

उनले सो समय सुन र चाँदी धितो राखेर सर्वसाधारणले ५ प्रतिशतसम्म ब्याजमा कर्जा लैजानसक्ने व्यवस्था गरेका थिए। तर त्यतिबेला राज्यसँग नै पर्याप्त रकम थिएन। जसले गर्दा यो अड्डा लामो समयसम्म सञ्चालनमै ल्याउन सकिएन। यद्यपि सोही अड्डालाई कर्जा लेनदेनको पहिलो सरकारी संस्था मानिन्छ।

१९ सयको दशकमा आइसक्दा नेपालमा वस्तु तथा सेवा खरिद मुद्राबाटै गर्ने प्रचलन आइसकेको थियो। यो समयसम्म नेपालको बजारमा भारतीय मुद्राले प्रभुत्व जमाउन थालिसकेको थियो। नेपालका सरकारी निकायदेखि चलनचल्तीमा समेत नेपाली मुद्राको साटो भारतीय मुद्रा नै चल्ने गर्थ्यो। 

आफ्नै नागरिकबाट हेपिएको मुद्रा भने चाँदीको थियो। चाँदीको लोभमा भारतमा मुद्रा बिक्री गर्ने र भारतीय मुद्राले सामान खरिद गर्ने परिपाटीलाई कसरी निर्मूल पारियो, भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमयदर कसरी कायम गरियो, सुन र चाँदीका सिक्काहरू हराएर तामाका सिक्का कसरी प्रचलनमा आए र अब कागजी नोटले ती सिक्कालाई कसरी स्थानान्तरण गरे भन्ने प्रश्नलाई राष्ट्र बैंकको वृत्तचित्रले समेटेको छ। 

नेपाली इतिहासमा बैंकहरूले हालेको जरा र त्यसले नेपाली अर्थतन्त्रलाई पारेको प्रभावलाई राष्ट्र बैंकले आफ्नो वित्तचित्रमा पस्किएको हो।

भिडिओ 

स्रोत : नेपाल राष्ट्र बैंक 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .