एनआईसी एसिया बैंकले अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकसँग अनुमति मागेको छ।
बैंकले पुँजीवृद्धि गर्ने उद्देश्य देखाउँदै राष्ट्र बैंकमा अग्राधिकार सेयर जारी गर्न अनुमति मागेको हो।
बैंकले ५ अर्ब रुपैयाँबराबरको यस्तो सेयर जारी गर्न राष्ट्र बैंकमा निवेदन दिएको छ।
राष्ट्र बैंकका अनुसार ८.५ प्रतिशत प्रतिफल दिने योजनासहित बैंकले प्रस्ताव गरेको छ। केही समयदेखि बैंक पुँजी कोष दबाबमा छ। चालू आवको तेस्रो मौद्रिक नीतिबाट राष्ट्र बैंकले पुँजीकोष बढाउने विषयमा बैंकहरुप्रति लचिलो नीति लिएको थियो।
वित्तीय उपकरणहरु प्रयोग गरेर पुँजीकोष बढाउन सकिने व्यवस्था मौद्रिक नीतिको समीक्षाले गरेपछि एनआईसी एसिया बैंकले अग्राधिकार सेयर जारी गर्न माग गर्दै राष्ट्र बैंक पुगेको हो।
अग्राधिकार सेयर जारी गर्दा बैंकले दिने प्रतिफल अगाडि नै निर्धारण गरिएको हुन्छ।
गत आर्थिक वर्षमा लाभांश समेत दिन नसकेको बैंकले यस प्रकारको सेयर जारी गरेको खण्डमा सम्झौताअनुसार ८.५ प्रतिशत लाभांश लगानीकर्तालाई दिनुपर्ने हुन्छ। साधारण लगानीकर्ताले पाए वा नपाए पनि अग्राधिकार सेयर लगानीकर्ताले भने सम्झौताअनुरुपको प्रतिफल पाउनुपर्ने व्यवस्था छ।
बैंकले भने ५ अर्ब रकम जुटाएर पुँजीकोष बढाउने नीतिअनुरुप ८ प्रतिशतमाथिको प्रतिफल दिएरै सेयर जारी गर्ने रणनीति लिएको हो।
यसअघि नबिल बैंकले पनि अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकमा निवदेन दिइसकेको छ।
Shares
प्रतिक्रिया