ad ad

कारोबार


महंगिँदै छ कर्जा, ६ महिनामै २.३२ प्रतिशतले बढ्यो आधार दर

महंगिँदै छ कर्जा, ६ महिनामै २.३२ प्रतिशतले बढ्यो आधार दर

प्रतिनिधिमूलक तस्बिर


केशर बोगटी
माघ १३, २०७९ शुक्रबार १७:१४, काठमाडौँ

वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर फेरि महँगो बन्दै गएको छ। 

चालू आर्थिक वर्षको छ महिनामा बैंकको आधार दर (बेस रेट) औसत २.३२ प्रतिशतले बढेको हो। 

आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तको तुलनामा २०७९/०८०को पुस मसान्तसम्म बैंकहरूको आधार दर बढेको हो।

आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्ममा औसत ८.३६ प्रतिशत रहेको बैंकहरूको आधार दर आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म आउँदा १०.६८ प्रतिशत पुगेको छ। अर्थात् यसले कर्जाको ब्याजदर महँगिएको देखाउँछ। 

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात् बेस रेट हो। 

बेस रेटमा बैंकहरुले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन्। बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्छ। कर्जाको ब्याजदर आधार दरमा जोडिएको हुन्छ। 

आधार दर जहिले पनि तीन–तीन महिनामा घटबढ हुने गर्छ। आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो।

तसर्थ यतिबेला बैंकहरुको बेसरेट हेर्दा कर्जाको ब्याजदर घटेको देखिँदैन। 

यसअघि पनि निजी क्षेत्रका उद्योगी व्यवसायीले कर्जाको ब्याजदर घटाउन माग गर्दै आइरहेका थिए। कर्जाको ब्याजदर घटाउन भन्दै उनीहरुले उपत्यकालगायत देशका केही ठाउँमा प्रदर्शन समेत गरे। 

नयाँ सरकार बनेसँगै अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीको गुनासो सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले उनीहरु पछि हटेका हुन्। 

यता राष्ट्र बैंकले पनि स्प्रेडदर घटाएर ब्याजदर घटाउन ब्याजदर कम गर्न खोजेको छ। बैंकहरुले स्प्रेड दर २०७९ चैतबाट ४.४ लाई घटाएर ४.२ ल्याउनुपर्नेछ। २०८० असारदेखि भने बैंकको स्प्रेडदर ४ प्रतिशतमा ल्याउनुपर्नेछ। 

राष्ट्र बैंकले औपचारिक रुपमा बैंकहरुलाई ब्याजदर घटाउन निर्देशन नदिए पनि अनौपचारिक संकेत दिएपछि बैंकर्स संघले निक्षेपको ब्याज १.१३ प्रतिशतले घटाएको छ। निक्षेपको ब्याजदर घटाउँदा कर्जाको ब्याज घट्ने अपेक्षा गरी बैंकर्स संघले सो निर्णय गरेको थियो। 

तर, स्प्रेड दर नघटेसम्म कर्जाको ब्याजदर कम हुने देखिँदैन। बैंकहरुले चैतमा पुगेर मात्र स्प्रेडदर ४.२ झार्नेछन्। 

यता सरकार र राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउन खाजे पनि बैंकको बेस रेट भने बढ्दै गइरहेको छ। बेस रेट बढ्दै जाँदा तत्काल कर्जाको ब्याजदर घट्ने देखिँदैन। 

स्प्रेड चैतबाट मात्र घट्ने भएकाले कर्जाको ब्याजदर अहिले नै नघट्ने देखिएको हो। 

नर्मल रुपमा नै लिनुपर्छ : अध्यक्ष केसी
अहिले कर्जा दर बढ्नुलाई सामान्य रुपमा लिनुपर्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन्।  

उनका अनुसार कोभिड सुरु हुनुअघि ऋणको ब्याज ११ दशमलव ८ प्रतिशत र चालू आवको कात्तिकसम्ममा १२ दशमलव ६ प्रतिशत थियो। 

उनले भने, ‘अहिले पनि बढ्ने ठाउँ छैन बढे पनि १३ प्रतिशतसम्म मात्रै हो। अहिले पनि बेस रेट बढेको छ। त्यो बढेको खण्डमा पनि अधिकतम पुग्ने भनेको १३ प्रतिशतसम्म नै हो। त्यसलाई हामीले नर्मल रुपमा नै लिनुपर्छ।’ 

त्यसो त अहिले संसारभर नै बढिरहेको छ। अमेरिकामा पनि रेट १ प्रतिशतबाट बढेर अहिले ५ प्रतिशत पुगेको छ। यो भनेको करिब ७.८ महिनाको अवधिमा आएको परिवर्तन हो। त्यहाँ २.३ प्रतिशत लिएको कर्जाको दर अहिले ७.८ प्रतिशत पुगिसकेको छ। 

हामीले यो कुरा बुझाउन नसकिरहेको उनले बताए। 

कुन वाणिज्य बैंकको आधार दर कति? 
आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्म १० वाणिज्य बैंकको आधार दर ११ प्रतिशतभन्दा माथि छ। 

२०७९/०८० को पुस मसान्तसम्म सबैभन्दा धेरै बेस रेट भएको बैंक कुमारी र सिभिल बैंक हो। पुस मसान्तमा दुवै बैंकको आधार दर ११.७३ प्रतिशत पुगेको छ। 

२०७८/७९ पुस मसान्तसम्म कुमारी बैंकको आधार दर ८.९३ प्रतिशत र सिभिल बैंकको ९.७४ प्रतिशत थियो। गत वर्षको पुसको तुलनामा यतिबेला दुवैको आधार दर उच्च बढेको छ। 

२०७९/०८० को पुस मसान्तसम्म नेपाल बैंकको आधार दर ९.९० प्रतिशत रहेको छ। यसैगरी, नबिल बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.६७ प्रतिशत, नेपाल एसबिआई बैंकको १०.७५ प्रतिशत र एनआइसी एशिया बैंकको आधार दर ११.०२ प्रतिशत छ। 

२०७९/०८० को पुुस मसान्तसम्म ९ वटा बैंकको आधार दर १० प्रतिशतभन्दा माथि रहेको छ। सिद्धार्थ बैंकको १०.९१ प्रतिशत, ग्लोबल आईएमई बैंकको १०.८० प्रतिशत, प्राइम कमर्सियल बैंकको ११.३४ प्रतिशत, एनएमबि बैंकको आधार दर १०.६८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ९.२९ प्रतिशत छ।

त्यसैगरी हिमालयन बैंकको आधार दर १०.८६ प्रतिशत, एभरेष्ट बैंकको आधार दर ९.९७ प्रतिशत र माछापुच्छ«े बैंकको ११.२३ प्रतिशत रहेको छ। 

लक्ष्मी बैंकको ११.३७ प्रतिशत, कृषि विकास बैंकको ११.०६ प्रतिशत, सिटिजन्स बैंकको ११.३९ प्रतिशत र सनराइज बैंकको आधार दर ११.६२ प्रतिशत रहेको छ।

आव २०७९/०८० को पुस मसान्तसम्म आउँदा ४ बैंकको आधार दर ९ तल छ। 

नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक,राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकको आधार दर ९ प्रतिशत कम रहेको छ। 

त्यसैगरी प्रभु बैंकको ११.१४ प्रतिशत, सानिमा बैंकको १०.८६ प्रतिशत, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बेसरेट १०.४२ पुगेको छ।

कुन बैंकको कति छ आधार दर?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .