सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले राष्ट्र बैंकमै कालो ब्यानर झुण्ड्याएका छन्।
संघका सचिव कृष्ण प्रसाद खरालले सरकारी निर्णयको विरोधमा कालो ब्यानर झुण्ड्याएर कोणसभा आयोजना गरेको बताए।
राष्ट्र बैंकका केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका सबै कार्यालयमा एकैसाथ कालो ब्यानर टाँगेको उनले बताए।
ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिउको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’जस्ता नारा उल्लेख गरिएका छन्।

ब्यानर झुण्ड्याउनुअघि राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै संघका अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले राज्य सञ्चालकहरु वित्तीय पणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने र राष्ट्र बैंकका नेतृत्वमाथि आक्रमण गर्ने गरेको बताए।
यसअघि पनि यस्ता हस्तक्षेप र आक्रमण भएको उनको भनाइ छ।
उनले यस्ता आक्रमणको राष्ट्र बैंक कर्मचारी संघले सदैव विरोधमा उत्रिने गरेको बताए।

संघका अनुसार यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले बर्खास्तगी र निलम्बन गर्दा संघले विरोध गरेको थियो।
कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव थपलिया, महासचिव शंकर प्रसाद भट्टराईलगायत संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, बालुवाटार र थापाथली समितिका पदाधिकारी, सदस्य र साधारणसदस्यलगायत उपस्थित थिए।


Shares

प्रतिक्रिया