ad ad

कारोबार


धरानको वराह सहकारीमा पैसा लिनेको भीड, सदस्यहरु भन्छन्– आफ्नै पैसा पाइएन!

धरानको वराह सहकारीमा पैसा लिनेको भीड, सदस्यहरु भन्छन्– आफ्नै पैसा पाइएन!

कृष्ण बहाब
चैत २२, २०७८ मंगलबार १७:२२, धरान

धरानमा रहेको वराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगाडि भीड देखियो। 

सहकारीको कार्यक्रम हो कि भन्ने भान बाहिरबाट देखिन्थ्यो। तर, त्यो भीड आफूले बचत गरेर राखेको पैसा फिर्ता लिन आएको मानिसहरुको भेला थियो।

लामो समयदेखि आफूहरुले आफ्नै पैसा फिर्ता मागे पनि अझैसम्म बचत फिर्ता नदिएको गुनासो बचतकर्ताहरुको थियो। 

पटक–पटक बचतकर्तालाई रित्तै हात फर्काएको वराहले मंगलबार बचतकर्ताहरुलाई बचत फिर्ता लिन चाहनेहरुलाई बोलाएको थियो।

सहकारीले कार्यालयमा चैत २२ गतेदेखि बचतकर्ताहरुलाई नगद भुक्तानी गर्ने प्रतिबद्धता जनाउँदै चैत १ गते एक सूचना जारी गर्‍यो। त्यसैअनुसार आज मंगलबार (चैत २२) कार्यालयमा नगद फिर्ता लिन बचतकर्ताहरु बिहानैदेखि जम्मा भए।

सहकारीले नै बोलाएको समयमा समेत बचतकर्ताहरुले पैसा भने पाएनन्। भीडमा भेटिएका एक बचतकर्ताका अनुसार उनीहरुले माग गरेजति पैसा पाएका छैनन्। नगद भुक्तानी सुरु नभएको भन्दै बचतकर्ताहरुले गुनासो गरेका छन्। 

बिहानैदेखि बचतकर्ताहरुको घुइँचो भएपछि प्रहरी समेत परिचालन भएको छ। अहिले पनि बचतकर्ताहरुले खातामा भएको आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग गरिरहेका छन्। 

पछिल्लो समय वराह सहकारी आर्थिक संकटसँग जुधिरहेको छ। खासगरी कोरोना महामारीसँगै विश्व अर्थतन्त्रमा सुरु भएको मन्दी एवं संकटको मारमा नेपालका वित्तीय संस्थाहरुलाई पनि परेको छ।

धरानका धेरै मानिसहरुले वराहमा बचत गरेका छन्, र यो संस्था धराशायी हुँदा धरानमा ठूलो आर्थिक संकट देखा पर्ने भन्दै चिन्तासमेत प्रकट भइरहेको छ। 

कतिपयले वराहलाई सबै धरानबासीहरु मिलेर जोगाउनुपर्ने धारणा पनि राखिरहेका छन्। 

वराहका सञ्चालकहरुले पनि बचतकर्ताहरुलाई विश्वास गर्न आग्रह गर्दै विस्तारै समस्या समाधान हुने आश्वासन दिइरहेका छन्। 

ऋण लगानी असुल गर्ने, ऋण लगानी नउठे धितो लिलाम गर्नेलगायत आवश्यक प्रक्रिया अपनाएर पनि लगानी उठाउने र बचतकर्ताहरुको रकम फिर्ता गर्ने सहकारीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .