कारोबार


चितवनमा यस वर्ष १४० उद्योग बन्द

चितवनमा यस वर्ष १४० उद्योग बन्द

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८० मंगलबार १२:२३, चितवन

घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन्। चालु आर्थिक वर्षमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो।
 
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन्। सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन्। खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए। त्यसैगरी ११ वटा उद्योगले ठाउँसारी गरेका छन्।
 
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा चितवनमा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए।
 
सोही समयमा व्यावसायिक फर्महरु एक सय ८१ वटाको लगत कट्टा गरिएको छ। १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको छ।  व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो। 

यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए। गत आर्थिक वर्ष २०७९/८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए।
 
वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए। 

उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या पनि उच्च छ। ‘पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ,’ उनले भने। आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनले बताए।

चितवनमा अधिकांश उद्योग महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेको सङ्ख्या बढेको खनालले जानकारी दिए। चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad