कारोबार


एक महिनाको अन्तरालमा सार्वजनिक हुँदै ५ नयाँ ईभी, अटोबजार चलायमान हुने

एक महिनाको अन्तरालमा सार्वजनिक हुँदै ५ नयाँ ईभी, अटोबजार चलायमान हुने

वसन्त अर्याल
फागुन ५, २०८१ सोमबार ८:९, काठमाडौँ

नेपाली बजारमा एक महिनाको अन्तरालमा पाँचवटा नयाँ विद्युतीय गाडी सार्वजनिक हुने भएका छन्।

अटो कारोबारीहरुले ‘मिड रेन्ज’का ५ नयाँ ईभी मोडल एकैपटक सार्वजनिक गर्न लागेका हुन्।

अधिकांश मोडल ५० देखि ६० लाख रुपैयाँको बीचमा नेपाली बजारमा ल्याउने उनीहरुको तयारी छ। फेब्रुअरी अन्तिम हप्तादेखि मार्च महिनाभित्रै ५ मोडल सार्वजनिक हुने तय भएको छ।

अन्तर्राष्ट्रिय बजारमा १०० किलोवाटभन्दा बढी मोटर पावर भएका गाडी नेपाल ९९ किलोवाटमै सार्वजनिक हुँदै छन्। सरकारले १०० किलोवाट माथिका गाडीमा बढी कर लगाउँछ। सोही कारण उनीहरुले नेपाली बजारमा ल्याउनलागेका गाडीको मोटर पावर नै घटाएका छन्।

नेपालमा सार्वजनिक हुनलागेकामा टाटा, हुन्डाई, एमजी, डिप्पल र प्रोटोनका प्यासेन्जर मोडल छन्। विश्वबजारमा एक आपसमा प्रतिस्पर्धीको रुपमा हेरिएका गाडी नेपालमा एकै पटक भिड्नलागेका हुन्।

विद्युतीय गाडीहरुको खपतमा प्रतिशतका हिसाबले नेपाल विश्वमै अगाडि छ। पछिल्ला वर्ष नेपाली बजारमा विद्युतीय गाडीकै प्रतिस्पर्धा चलिरहेको छ।

अटो व्यवसायीहरुले धेरै मोडल एकै पटक बजारमा ल्याउँदा समग्र अटोमोबाइल क्षेत्र नै भाइब्रेन्ट हुने बताएका छन्। एउटै समयमा गाडी सार्वजनिक गर्नुलाई व्यावसायिक घरानाबीचको प्रतिस्पर्धाको रुपमा समेत हेरिएको छ। यसले अस्वस्थ प्रतिस्पर्धा बढ्ने चिन्ता समेत छ।

‘धेरै ब्रान्ड एकैपटक सार्वजनिक हुँदा समग्र अटोमोबाइल क्षेत्र भाइब्रेन्ट बनाउन सहयोग पुग्छ’, नाडा उपाध्यक्ष तथा ईभी समिति सभापति राजनबाबु श्रेष्ठले भने, ‘नेपालमा स्थापित कम्पनीहरुले नै नयाँ मोडलहरु ल्याइरहेकाले अस्वस्थ प्रतिस्पर्धाको सम्भावना कम हुने विश्वास छ।’

अटो व्यवसायीहरुले अधिकांश गाडी नाडा अटो शोमा ल्याउने गरेका थिए। मास प्रोडक्टकै रुपमा हेरिएका गाडीहरु एकै पटक भिड्दा अटो क्षेत्रमा यसको चासो बढ्दै गएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलिया प्रतिस्पर्धाभन्दा पनि संयोगवश एकै समय परेको हुनसक्ने बताउँछन्।

‘हामीले पहिलेदेखि नै फेब्रुअरी अन्तिम वा मार्चमा सार्वजनिक गर्ने भनेकै थियौँ’, उनले भने, ‘अरु कम्पनीले पनि यही समयमै सार्वजनिक गर्ने तयारी गर्नुभएको छ। उपभोक्ताले ब्रान्ड र बिक्रीपछिको भ्यालु हेरेर गाडी खरिद गर्नुहुन्छ।’

उनले आर्थिक गतिविधि खासै चलायमान नभएको अवस्थामा अटो बजारमा नयाँ उपभोक्ता बढ्नेभन्दा पनि गाडी एक्सचेन्ज गर्ने धेरै हुनसक्ने बताए।

‘बजारमा जतिवटा गाडी सार्वजनिक भए पनि नयाँ ग्राहक प्रवेश गर्ने सम्भावना धेरै देख्दिनँ’, थपलियाले भने, ‘आइस गाडी प्रयोग गरिरहेका र नयाँ मोडलमा अपडेटेड हुने ग्राहक नै आकर्षित हुने अनुमान छ।’

धेरै मोडल एकै पटक सार्वजनिक हुँदैमा अस्वस्थ प्रतिस्पर्धा नहुने उनको भनाइ छ।

यी हुन् नयाँ ५ विद्युतीय गाडी

हुन्डाईको क्रेटा
पेट्रोलियम इन्जिनमा बजारमा आएको १० वर्षपछि हुन्डाईको क्रेटा ईभी बजारमा आउँदै छ। भारतमै डिजाइन गरी निर्माण गरिएको गाडी फागुन महिनाभित्रै नेपालमा सार्वजनिक गर्ने तयारी गरिएको छ।

नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका गाडी बिक्रीवितरण गर्दै आएको छ। नेपालमा बढी बिक्री हुनेमा क्रेटा पर्छ। कम्पनीले आइस गाडीजस्तै विद्युतीय क्रेटा बिक्री हुने दाबी गरेको छ।

क्रेटा ईभी २ वटा ब्याट्री अप्सनमा छ। ४२ किलोवाट आवर ब्याट्री रहेको यो गाडीले ३९० किमि रेन्ज दिन्छ भने ५१.४ किलोवाट आवर ब्याट्रीको गाडीको रेन्ज ४७३ किमि छ। गाडीमा ९९ किलोवाट र १२६ किलोवाटका मोटर छन्।

तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुनेछ। एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुनेछ।

गाडीको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ। जसले नेपाली सडकमा कुदाउन सहज हुन्छ। गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन् भने भ्वाइस कमान्ड फिचर्ससहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ सहित १९ फिचर्स छन्। ह्विलबेस २६ सय १० एमएम रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ।

टाटा ‘कर्भ’
सिप्रदी ट्रेडिङले टाटा कर्भ फागुनभित्रै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।  टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले एसयूभी कुपे डिजाइनको ईभी भन्सारबाट ल्याई परीक्षण गरिरहेको छ।

सिप्रदीले नयाँ मोडलको रुपमा कर्भ ईभी ल्याएको छ। सिप्रदीले ल्याएको गाडीमध्ये यो सबैभन्दा बढी ब्याट्री क्षमताको छ। यसमा ९८ किलोवाट मोटर पावर छ भने ५५ किलोवाट आवरको ब्याट्री छ।

सिप्रदी ट्रेडिङका अनुसार यो गाडी फागुन महिनाभित्रै नेपाली बजारमा सार्वजनिक हुँदै छ। नेपालमा भने ५५ किलोवाट आवरको ब्याट्रीमा कर्भ उपलब्ध हुनेछ।

टाटाको कर्भ ईभीको रेन्ज ४३० किमिदेखि ५०० किमिसम्म छ। नेपाली सडकमा कम्तीमा ४०० किमि रेन्ज हुने दाबी गरिएको छ।

आधुनिक डिजाइनको इन्टेरियर कर्भ ईभी डुअल टनमा छ। यसमा १२‍.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम र १०.२५ इन्चको ड्राइभर डिस्प्ले छ।

सुरक्षा फिचर्समा एन्टिलक ब्रेकिङ सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल छ भने अधिकतम गति १६० प्रतिकिलोमिटर छ।

नेपालमा टाटाले नेक्सन ईभी, टियागो ईभी, पञ्च ईभीपछि कर्भ नेपाली बजारमा बिक्री गरिरहेको छ। नेक्सन, टियागोको अपडेटेड भर्जनसहित २०२५को मोडल ल्याएको छ।

एमजी एस०५
प्यारामाउन्ट मोटर्सले नेपाली बजारमा एस ०५ मोडल नेपालमा आएको छ। ब्याट्री प्याक ६२ किलोवाट आवरको छ। मोटर पावर १७० पीएस रहेको गाडीले २५० एनएम टर्क जेनेरेट गर्छ।

५२५ किमि रेन्ज दिने दाबी गरिएको गाडीले ८ सेकेन्डमै ०–१०० किमिको स्पिड लिन सक्छ। रियल ह्विल ड्राइभमा उपलब्ध गाडीमा ४९.१ किलोवाट आवर ब्याट्रीको विकल्प समेत दिइएको छ।

यो गाडीमा १५.६ इन्च इन्फोटेनमेन्ट सिस्टम छ। कम्पनीले सबैभन्दा पातलो ब्याट्रीमा यो गाडी ल्याएको हो। गाडीको लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ एमएम र उचाइ १६२१ एमएम छ।

‘एमजी ए०५ भन्सारमा आइपुगेको छ। अहिलेसम्मको तयारी फागुनमै नेपाली बजारमा सार्वजनिक गर्ने योजना छ’, कम्पनीका एक अधिकारीले भने। 

प्रोटोन ई मास ७
जगदम्बा मोटर्सले नेपालमा पहिलोपटक विद्युतीय प्यासेन्जर भेहिकल ल्याउँदै छ। मलेसियन ब्रान्ड प्रोटोनले चिनियाँ कम्पनी जिल्लीसँग सहकार्य गरी उत्पादन गरेको गाडी नेपालमा भित्रिन थालेको हो।

जगदम्बा मोटर्सले हाल १६० किलोवाटको मोटर क्षमताको गाडी नै ल्याउनेछ। ६०.२२ किलोवाट आवर ब्याट्री रहेको गाडीमा ४१० एलटीपी रेन्ज छ। १०० किलोवाटको डिसी फास्ट चार्जर र ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ। दोस्रो विकल्पमा ४९.५२ किलोवाट ब्याट्री भएकोले ३४५ किमि रेन्ज दिने दाबी गरिएको छ।

ब्लेड ब्याट्री टेक्नोलोजीको गाडी भएकाले नेपाली बजारमा राम्रो रेन्ज दिने कम्पनीले दाबी गरेको छ। ई मास प्यानारोमिक सनरुफमा उपलब्ध हुने गाडीमा १९ इन्च एरोडाइनामिक ह्विल छ। यो गाडी मलेसियामा डिसेम्बर १९ मा सार्वजनिक भएको थियो। यसमा फ्रन्ट भेन्टिलेटेड सिट छ।

अधिकतम गति १७५ किलोमिटर प्रतिघण्टा रहेको गाडीमा सेकेन्ड लेभल एडास फिचर्स, ६ एयर ब्याग, सेन्सरसहितका सेफ्टी फिचर्स छन् भने ग्राउन्ड क्लियरेन्स १७३ एमएम छ।

कम्पनीका एक अधिकारीका अनुसार मलेसियामै भएका फिचर्स नेपालमा हुनेछन्। कम्पनीले मार्चको २१ तारिखमा गाडी लन्च गर्ने योजना बनाएको छ।

डिप्पल एस ०५
ई०७ सार्वजनिक गरेको एमएडब्लु वृद्धिले डिप्पलकै एस०५ गाडी सार्वजनिक गर्ने तयारी गरेको छ।

चांगन अटो मोबाइल्सले चीनमा एस०५ लाई १७५ किलोवाट मोटर पावर चीनमा सार्वजनिक गरिसकेको छ। जसले ३२० एनएम टर्क जेनेरेट गर्छ।  नेपालमा १०० किलोवाट माथिका गाडीमा कर बढी लाग्ने भएकाले ९९ किलोवाटको मोटर पावरमै नेपाल भित्र्याउने तयारी कम्पनीले गरेको छ।

गाडीमा ५६.१२ किलोवाट आवर लिथियम आयन फसफेट ब्याट्री रहेको छ भने ५१० किमि रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ। डिप्पल एस०५ को लम्बाइ ४६२० एमएम, चौडाइ १९०० एमएम र उचाइ १६०० एमएम रहेको गाडीको ह्विलबेस २८८० एमएम छ।

‘नेपालमा ९९ किलोवाट मोटर पावरमै ल्याउने तयारी गरेका छौँ’, कम्पनीका एक उच्च तहका कर्मचारीले भने, ‘नेपालमा चैतभित्र सार्वजनिक गरिसक्ने योजना बनाएका छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad