काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो सो जारी छ। ११ गतेदेखि चलिरहेको सवारी मेलामा केईका ईक्युट मोडलमा ग्राहकको बढी भीड लाग्ने गरेको छ। २५ लाखमुनिका ईक्युट ०२ र ई क्युट ०४ मा सर्वसाधारण झुम्मिएका हुन्।
नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो सोमा आफ्ना ३ मोडल सोकेस गरेको छ। जसमा २ वटा मोडल २५ लाखमुनिकै छन्।

कम्पनीका अनुसार इक्युट ०२ मोडल दुई भेरिएन्टमा उपलब्ध छ। यसमा २०० किमि रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार, ३०० किमि भेरिएन्टलाई २२ लाख ९६ हजार मूल्य दिइएको छ। इक्युट ०२ मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आयन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क ११० एनएम छ। ४ सिटर गाडी भए पनि २ ढोका मात्रै छन्।
३०० किमि रेन्ज दिने इक्युट ०४ को मूल्य २४ लाख ९६ हजार छ। यसमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आयन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क ११० एनएम छ। ४ वटा ढोका सहितको गाडी भएकाले सहरमा कुद्नेहरुकालागि उपयुक्त रहेको छ।

तेस्रो मोडल एक्स३ प्रो ईभी इलेक्ट्रिक एसयूभी डिलक्स र फ्ल्यागसिप भेरिएन्टमा उपलब्ध भएको छ। डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ छ। यसमा ५३।६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर छ। यसको अधिकतम टर्क २८० एनएम छ।
कम्पनीले नाडा विशेष अफर पनि ल्याएको छ। यसअनुसार केई गाडीको खरिदमा ग्राहकले ७.३ किलोवाटको वाल माउन्टेड चार्जर, १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन्।




प्रतिक्रिया