ad ad

कारोबार


कर बढ्ने आकलनमा दोब्बरले बढ्यो ईभी आयात, धमाधम भन्सार छुटाउँदै व्यवसायी

कर बढ्ने आकलनमा दोब्बरले बढ्यो ईभी आयात, धमाधम भन्सार छुटाउँदै व्यवसायी

रसुवा भन्सारमा ईभी।


वसन्त अर्याल
जेठ ७, २०८१ सोमबार १७:५६, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेट यही १५ गते आउँदै छ। धमाधम यसकै काम भइरहेको छ। 

नयाँ बजेटको तयारी तीव्रगतिमा चलिरहँदा विद्युतीय सवारीसाधन (ईभी) बिक्रेताहरुमा भने कर बढ्ने डर छ। ईभी आयातमा देखिएको ह्वात्तै वृद्धिले यही देखाउँछ। सामान्य अवस्थाको तुलनामा आयात दोब्बरले बढेको छ। 

सरकारले भन्सार राजस्वको ठूलो हिस्सा गाडीको आयातबाट उठाउँदै आएको थियो। पेट्रोल/डिजेलका गाडीको तुलनामा विद्युतीय गाडीको आयात बढ्न थालेसँगै सरकारलाई चालू खर्च धान्न ऋण लिनुपर्ने अवस्था आएको छ। 

अर्थ मन्त्रालयका अधिकारीहरुले बजेटमा विद्युतीय गाडीको करमा थोरै हेरफेर हुने सम्भावना रहेको बताउँदै आएका छन्। तर अर्थमन्त्री वर्षमान पुनले विद्युतीय गाडीको बजारलाई असर पुग्ने गरी कर नबढ्ने सार्वजनिक रुपमै बोल्ने गरेका छन्। 

तर व्यवसायीहरु भने कर बढ्नसक्ने आशंकामा छन्। गत वैशाखमा मात्रै बीवाईडीका प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै भेटेर कर नबढाउन अनुरोध गरेका थिए। उनीहरुलाई प्रधानमन्त्री प्रचण्डले पनि विद्युतीय गाडीको कर नबढाउने आश्वासन दिएका थिए। 

भन्सार विभागको तथ्यांकअनुसार वैशाख महिनामा मात्रै १४ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन्। बजारमा नयाँ ब्रान्डसँगै पुराना मोडलको गाडीको आयात बढेको छ। गत चैतमा ६५८ वटा भित्रिँदा, फागुनमा २९१ मात्रै भित्रिएका छन्। 

भन्सार विभागको तथ्यांकअनुसार वैशाखसम्म कुल ८ हजार ४९७ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन्। गत चैतसम्म ७ हजार ९३ वटा गाडी भन्सारबाट आयात भएका थिए। 

त्यसबाहेक चैतसम्म माइक्रो ६९२ वटा आयात भएका थिए। वैशाखमा अझ बढी ९०७ वटा आयात भएका छन्। माइक्रोको आयात सामान्य बढे पनि निजी साधनको आयात बढेको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ।

गत वैशाखसम्म २१ अर्ब ८ करोड रुपैयाँका गाडी आयात भएका थिए। चैतसम्म १७ अर्ब ४९ करोड रुपैयाँका विद्युतीय गाडी आयात भएको विभागको तथ्यांकले देखाएको छ। तुलनात्मक रुपमा ३ अर्ब ५९ करोडले आयात बढेको देखिन्छ। 

वैशाखसम्म ५० किलोवाटसम्मका ३ हजार ४७२, ५१ देखि १०० किलोवाटसम्मका ४ हजार ८९६ वटा गाडी भित्रिएका छन्। १०१ देखि २०० किलोवाटसम्मको १०५ वटा भित्रिँदा २०१ किलोवाटमाथिका २४ वटा आयात भएका छन्। 

गत आर्थिक वर्षमा बजेटमा कर बढ्ने हल्लाले जेठमा आयात दोब्बरले बढेको थियो। सरकारले जेठ १५ मा ५१ देखि १०० किलोवाटसम्मका गाडीमा भन्सार पनि बढायो। 

गत वर्षको वैशाखमा ५०० गाडी आयात भएका थिए। ३८ सय ७० वटा आयात हुँदा जेठभरमा ९१५ वटा गाडी भित्रिएका थिए। करिब ९ सय गाडी बजेटअघिको १५ दिनमा छुटेका थिए। चालू आर्थिक वर्षमा पनि गत वर्षकै अवस्था दोहोरिने सम्भावना भन्सार अधिकृतहरुले देखेका छन्। 

बजेटअघि गाडी ल्याएर मूल्य बढाई बेच्ने व्यवसायीको दाउ
गाडी आयातको यो परिदृश्य हेर्दा बजेटमा विद्युतीय गाडीमा थप छुट दिने सम्भावना नरहेकाले केही स्टकमै राख्ने गरी व्यवसायीले गाडी आयात गरेका छन्। 

व्यवसायीहरुले बजेटमा १०–१५ प्रतिशत मात्रै बढे पनि गाडीको मूल्य बढ्ने भएकाले बजेटअघि नै भन्सार पास गर्न थालेका छन्। 

विद्युतीय गाडी आयात गरिरहेका व्यवसायीले नै १०–१५ प्रतिशतसम्म बढ्दा बजारलाई ठूलो असर नगर्ने बताएका छन्। तर पनि जेठ १५ पछि भन्सारबाट गाडी भित्र्याउँदा बढी राजस्व तिर्नुपर्ने सम्भावना भएकाले जेठ १५ अघि नै सकेसम्म बढी भित्र्याउन थालेका छन्। 

नेपालमा सबैभन्दा बढी चिनियाँ ब्रान्डको उपस्थिति र बजार पकड छ। चीनबाट आउने गाडी रसुवा र तातोपानी भन्सार कार्यालयबाट आयात हुन्छन्। 

सबैभन्दा बढी विद्युतीय गाडी आयात हुने रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद पाठकले वैशाखमा अघिल्ला महिनाको तुलनामा ह्वात्तै बढेको बताए। 

‘मध्यवैशाखबाट जेठको पहिलो हप्तासम्म धेरै गाडी छुटिरहेका छन्’, पाठक भन्छन्, ‘हामीले व्यवसायीलाई यो महिना ल्याऊ, त्यो महिना नल्याऊ भन्न मिल्दैन। उनीहरुले केही सोचेर अहिले आयात बढाएको हुनुपर्छ।’

उनले गत वर्ष पनि वैशाख अन्तिम र जेठको मध्यसम्म सबैभन्दा बढी गाडी आयात भएको बताए। चालू आर्थिक वर्षमा पनि विद्युतीय गाडीको आयात अरु महिनाको तुलनामा अहिले बढ्ने बताए। 

‘सामान्य अवस्थाको तुलनामा अहिले दैनिक विद्युतीय गाडीको भन्सार छुटाउने धेरै छन्’, उनी भन्छन्,‘केही दिन अझै आयात बढ्ने देखिन्छ।’

वैशाख महिनामा उत्तरी दुई नाकाबाट १ हजार २० वटा निजी सवारी साधन भित्रिएका छन्। तातोपानी भन्सारबाट ३३७ वटा र अधिकांश रसुवागढी नाकाबाट आयात भएको देखिन्छ। 

तातोपानी भन्सार कार्यालयका अनुसार वैशाखमा ४६० वटा माइक्रो र प्यासेन्जर गाडी भित्रिएका छन्। जसमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका प्यासेन्जर भेहिकल ३२६ वटा छन्।  

रसुवागढीजस्तै तातोपानी भन्सार कार्यालयबाट गाडीको आयात दैनिक बढ्दो छ। 

‘विद्युतीय गाडीमा कर बढ्छ कि बढ्दैन त जेठ १५ गते नै थाहा हुन्छ’, तातोपानी भन्सार कार्यालय प्रमुख दयानन्द केसी भन्छन्, ‘सामान्य अवस्थाको तुलनामा वैशाख मध्यपछि विद्युतीय गाडीको आयात बढेको छ।’

केसीले भन्सार यार्डमा अहिले विद्युतीय गाडी नरहेको बताए। उनले भन्सारमा गाडी पुग्नेबित्तिकै पास हुने गरेको सुनाए। वैशाखको तुलनामा जेठमा गाडी छुटाउनेको चाप अझ बढी रहेको केसी सुनाउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .