ad ad

कारोबार


साझाले सुरु गर्‍यो शक्तिशाली चार्जिङ स्टेसन, ४० बिजुली बस पनि सञ्चालनमा

साझाले सुरु गर्‍यो शक्तिशाली चार्जिङ स्टेसन, ४० बिजुली बस पनि सञ्चालनमा

नेपालखबर
चैत २७, २०८० मंगलबार १७:१९, काठमाडौँ

साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ। 

मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गरेका हुन्। 

साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको सुरुवात गरेको हो। चार्जिङ स्टेसनसहित मंगलबार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएका छन्। 

साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए। उनले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताए। 

उनले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताए। उनले १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको बताए। 

उनले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको बताए। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौं महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताए। 

उनले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्री कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताए। 

उनले ४५ सिट भएका सटलबस पुल्चोक, पाटनदबार, महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताए। सटलबस सञ्चालनमा लाग्ने खर्च बीईपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उनको भनाइ छ।

साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .