कारोबार


अटोमा इन्टेलिजेन्स जोडिएपछि जन्मिएको कार ब्रान्ड ‘आइटो’, माग धान्नै मुस्किल

अटोमा इन्टेलिजेन्स जोडिएपछि जन्मिएको कार ब्रान्ड ‘आइटो’, माग धान्नै मुस्किल

एम९


नेपालखबर
माघ २, २०८० मंगलबार १२:४१, काठमाडौँ

ह्वावे समर्थित आइटोले डिसेम्बरमा कीर्तिमानी २४ हजार ४ सय ६८ कार डेलिभरी गर्‍यो। कम्पनीले २०२४ को सुरुवातसँगै एकै महिनामा डेलिभरी क्षमता बढेर ३० हजार कार पुग्ने जनाएको छ। 

कम्पनीको नयाँ एम७ कारका लागि त १ लाख २० हजार वटाको माग भइसकेको कम्पनीकोे दाबी छ। 

डिसेम्बरको उक्त तथ्यांकको तुलनामा सन् २०२२ को सोही महिनामा १० हजार १ सय ४३ कार डेलिभरी गरेको थियो। जुन अहिले १४१.२३ प्रतिशतले बढी हुन पुगेको छ भने नोभेम्बरको तुलनामा २९.६९ प्रतिशतले बढी भएको कम्पनीले जनवरीको सुरुतिर घोषणा गरेको थियो।

कम्पनीको नयाँ आइटो एम७ ले उक्त डेलिभरीमा ८४ प्रतिशत योगदान गरेको छ। त्यो भनेको २० हजार ६ सय ११ युनिट हो। यसको अर्थ एम५ ३ हजार ८ सय ५७ युनिट डिसेम्बरमा डेलिभरी भएको छ। आइटोका अहिलेका मोडलहरुमा एम५ र एम७ समावेश छ। 

आइटो एउटा आफैँमा प्रिमियम न्यु इनर्जी भेहिकल (नेभ) हो। जुन सन् २०२१ को डिसेम्बर २ मा सेरेस ग्रुपले ह्वावेसँगको सहकार्यमा सार्वजनिक गरेको थियो। यसको पहिलो मोडल आइटो एम५ हो जुन सन् २०२१ को डिसेम्बर २३ मा सार्वजनिक गरिएको थियो। इरेभ र बेभ भर्सनमा यी कार ल्याइएको थियो। 

त्यसपछि सन् २०२२ को जुलाई ४ मा आइटोले दोस्रो मोडल एम७ सार्वजनिक गरेको थियो। गत सेप्टेम्बर १२ मा उक्त ब्रान्डले नयाँ भर्सनको एम७ सार्वजनिक गरेको थियो। जसले मूल्य पनि निकै घटाएको थियो। यो इरेभ भर्सनमा मात्र उपलब्ध कार हो। 

गत डिसेम्बर २६ मा कम्पनीले आफ्नो ध्वजावाहक एसयूभी आइटो एम९ सार्वजनिक गरेको थियो जुन ‘एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल (इरेभ)’ र ब्याट्री इलेक्ट्रिक भेहिकल (बेभ) भर्सनमा छ। 

कम्पनीले फेब्रुअरी २६ वा त्यसअघि नै आइटो एम९ को डेलिभरी सुरु गर्दै छ। आइटोले सुरुमा २ हजार वटा जनवरी २६ देखि डेलिभरी गर्ने बताएको छ। आइटोका अनुसार एम९ को बजार माग सात दिनमै ३० हजार वटा भएको छ। 

योसँगै कम्पनी आफ्नो डेलिभरी क्षमता बढाउन खोज्दै छ।  

के छन् आइटो कारका खास विशेषता? 
आइटोको अर्थ अटोमा इन्टेलिजेन्स जोडिएको भन्ने हो। ह्वावे र सेरेसको संयुक्त ब्रान्ड आइटोमा ह्वावेको ‘मस्तिष्क’, इलेक्ट्रिक मोटरहरु र केही अन्य पार्टपुर्जा रहेका छन् भने उत्पादनको जिम्मेवारी सेरेसको रहेको छ। 

आइटो एम५ यो ब्रान्डकै पहिलो कार हो। यो एउटा रेन्ज बढाइएको विद्युतीय सवारीसाधन (इरेभ) हो। यो ५ सिट रहेको कार ४ हजार ७७० एमएम लम्बाइ भएको मर्सिडिज बेन्ज ईक्यूसी जस्तै देखिन्छ। यसको गति ११ सय किमि रहेको कम्पनीको दाबी छ। वायरलेस चार्जिङ प्याड, १९–स्पिकर ह्वावे साउन्ड सिस्टम, आनन्ददायी सिट यसका विशेषता हुन्। 

त्यसैगरी आइटोले आफ्नो एम७ कम्प्याक्ट एसयूभीको नयाँ भर्सन सार्वजनिक गरिसकेको छ। यसका छरितो डिजाइन, स्वचालित ड्राइभिङ प्रविधिलगायतले बजारमा माग बढाएको छ। यसमा ह्वावेको दोस्रो पुस्ताको स्वचालित ड्राइभिङ प्रणाली (एडीएस) जडान गरिएको छ। जसले सहरी सडक र एक्सप्रेसवेहरुमा भरपर्दा नक्साविना नै गाडीलाई ‘नेभिगेट’ गर्न सक्छ। यसमा लामो यात्रा गर्दा ट्राफिक अवस्थाहरुको जानकारी हुने हुँदा अनुभवी ड्राइभरले जस्तै गुडाउन सकिन्छ।

एडीएसमा २७ सेन्सर छन्, जसमा रुफटप लिडार, ३ मिलिमिटरका वेभ राडार र ११ उच्च क्षमताका क्यामेराको प्रयोग हुन्छ। ३४ हजार डलर मूल्यको एम७ ले ह्वावे स्मार्टफोनमा प्रयोग हुने हार्मोनी अपरेटिङ सिस्टम प्रयोग गर्छ जसले गाडी र अन्य विद्युतीय डिभाइसलाई जोड्छ। 

यता पछिल्लो उत्पादन एम९ छ सिटे कार हो। यसमा सिटभन्दा धेरै स्क्रिनहरु रहेका छन्। यसका चक्काहरुमा मल्टिमिडिया कन्जम्प्सन डिभाइसहरु रहेका छन्। आइटोले यो मोडमा दुई पावरट्रेनको विकल्प दिएको छ। पूर्ण विद्युतीय भर्सनमा ५२३ एजपीका दुई मोटर छन् भने सीएटीएलका ९७.७ केडब्ल्यूएच ब्याट्री छन् जसले ६३० किमिको रेन्ज दिन्छ।

अर्को रेन्ज विस्तारक भेरियन्टमा भने दुई इलेक्ट्रिक मोटरयुक्त टर्बोचार्ज १.८ लिटर जेनेरेटरको संयोजन छ जसले दुवै ब्याट्री र इन्धनभरी हुँदा १ हजार ४ सय २ किमि रेन्ज दिन्छ। यसमा ह्वावेको हार्मोनी ओएस ४ सिस्टम छ। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .