ad ad

कारोबार


सडकै ओगटेर वर्कशपको काम गर्नेलाई काठमाडौं महानगरले हटाउने

सडकै ओगटेर वर्कशपको काम गर्नेलाई काठमाडौं महानगरले हटाउने

अनामनगरमा रहेको एक वर्कशप। तस्बिर : सरोज बैजु


वसन्त अर्याल
बैशाख ५, २०८० मंगलबार १७:७, काठमाडौँ

काठमाडौं महानगरपालिकाले वर्कशपको काम सडकमा गर्नेलाई हटाउने तयारी गरेको छ। 

महानगरले विना दर्ता सडकमै सवारीसाधन मर्मत गर्ने वर्कशप हटाउन ‘लिस्टिङ’ गरिरहेको हो। 

काठमाडौं महानगरभित्र सानो सटर लिएर वर्कशप सञ्चालन गर्ने धेरै छन्। उनीहरूले सटरमा केही सामान राख्ने सवारीसाधनहरू सडकमै मर्मत गर्ने गरेका छन्।

मुख्यतः चारपांग्रे गाडीका व्यवस्थित सर्भिस सेन्टर वा वर्कशप रहे पनि दुईपांग्रेका अव्यवस्थित रुपमा सञ्चालन भइरहेका छन्। 

काठमाडौं महानगरपालिकाले २३१ वटा वर्कशप महानगरभित्र सञ्चालन गरेको लगत निकालिसकेको छ। महानगरले संकलन गरेको तथ्यांकमा अधिकांश वर्कशप विना दर्ता सञ्चालनमा छन्। 

‘हामीले २३१ वटा वर्कशपको सञ्चालनमा रहेको भेटिएको छ। भित्री सडकमा अझै बाँकी हुन सक्छन्’, महानगरिय प्रहरी बल काठमाडौंका प्रमुख राजु पाण्डेले, ‘अधिकांश दर्ताविना नै सञ्चालनमा छन्।’

काठमाडौं महागनरले अधिकांश वर्कशपले सानो ठाउँ लिने र सडकमा नै सवारी साधन मर्मत गर्दै आएको जनाएको छ। सडक र सडक पेटीमा मोटरसाइकल, स्कुटर मर्मत गर्दा सवारी साधनसँगै यात्रुलाई पनि अप्ठ्यारो भएकाले हटाउने वा नियमन गर्ने तयारी गरेको छ। 

‘काठमाडौं महानगरमा सानो सटर लिएर बाटोमा सवारी साधन मर्मत गर्न पाइँदैन’, नगरप्रहरी उपरीक्षक पाण्डेले भने, ‘मोबिल चुहाउँदा पैदलयात्रु लड्ने, फोहोर हुने समस्या हुन्छ।’

काठमाडौं महानगर पालिकाले फोहोर गर्ने वर्कशपलाई बाटो सफा गर्न र जरिवाना तिराउँदै आएको छ। महानगर प्रहरीका अनुसार ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना लगाउन सक्छ। 

वर्कशप सञ्चालनको छुट्टै निर्देशिका बनाउँदै महानगर
काठमाडौं महानगरपालिकाले महानगरभित्र वर्कशप सञ्चालन गर्न मापदण्डसहितको निर्देशिका बनाउँदै छ।

महानगरभित्र कस्ता वर्कशप सञ्चालन गर्न पाउने, वर्कशपमा कस्ता उपकरण राख्ने, मेकानिकल इन्जिनियर हुनुपर्ने कि नपर्ने लगायत विषय समेटेर निर्देशिका बनाउन लागेको महानगरले जनाएको छ। 

‘वर्कशपमा कस्ता मानिसले काम गरिरहेका छन्। उनीहरू कुनै तालिम प्राप्त हुन् कि होइनन्’, पाण्डेले भने, ‘वर्कशप चलाउन त दक्ष जनशक्ति पनि आवश्यक पर्छ।’

महानगरभित्र सञ्चालन हुने वर्कशप अब दर्ता भएर, दक्ष जनशक्ति, आवश्यक उपकरणसहित सञ्चालन हुनुपर्ने पाण्डेले बताए। 

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर न्यौपानेले वर्कशप व्यवस्थित गर्न सहमत भए पनि मापदण्ड व्यावहारिक हुनुपर्ने बताउँछन्। 

‘हामी वर्कशपलाई नियमन गर्ने पक्षमै छौँ। तर इन्जिनियर, ठूला उपकरण राखेर स्वरोजगार मेकानिक्सले वर्कशप चलाउन सक्दैन’, न्यौपानेले भने, ‘अहिले वर्कशप सञ्चालन गरिरहेकालाई प्राविधिक परीक्षा लिएर सञ्चालन गर्न दिनुपर्छ।’

२०७४ मा बनेको वर्कशप सञ्चालन निर्देशिका कार्यान्वयन भएन
यता यातायात व्यवस्था विभागले २०७४ मै ‘कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका’ बनाए पनि कार्यान्वयन हुनसकेको छैन।

वर्कशप व्यवसायीलाई ६ वर्गमा विभाजन गरी कुन वर्गको वर्कशपले के–के मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरेको छ। मोटरसाइकल तथा स्कुटर वर्कशपलाई छुट्टै वर्गमा राखेको छ। 

विभागले बनाएको निर्देशिकामा ६ महिनाभित्र दर्ता नभए वर्कशप बन्द गर्ने व्यवस्था भए पनि कार्यान्वयनमा छैन।

वर्कशप व्यवसायीका अनुसार नेपालमा १० हजार अटो वर्कशप छन्। तर नेपालमा इन्जिनियरिङ परिषदबाट मेकानिकल इन्जिनियरका लाइसेन्स लिएका करिब ५ हजार मात्रै छन्। सबै वर्कशपले इन्जिनियर राख्न नसक्ने व्यवसायी बताउँछन्।

विभागको निर्देशिकाअनुुसार वर्कशपहरू सडक सीमाभन्दा बाहिर निर्माण गर्नुपर्ने, पर्खाल र तारबार घेर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।

वर्कशप वरपर फोहोर व्यवस्थापन गर्नुपर्ने, सवारी राख्न पर्याप्त स्थान हुनुपर्ने पर्याप्त मेसिनरी र औजारहरू हुनुपर्नेलगायतका व्यवस्थाहरू गरिएका छन्। वर्कशपमा अग्नि नियन्त्रक सिस्टम राख्नुपर्ने प्राथमिक उपचारको टुल बक्स राख्नुपर्नेलगायतका नियमहरू पनि ल्याइएका छन्।

विभागले निर्देशिका तयार पारेको ५ वर्ष पुगे पनि कार्यान्वयन भने हुनसकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .