कारोबार


गाडी आयात खोले पनि बिग्रियो मागको चक्र, बैंकले फाइनान्स गर्न छाडे : व्यवसायी

बढेको जोखिम भारले झन् समस्या
गाडी आयात खोले पनि बिग्रियो मागको चक्र, बैंकले फाइनान्स गर्न छाडे : व्यवसायी

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १३:४८, काठमाडौँ

बैंकले फाइनान्सिङ नगर्दा अटो कारोबार बढ्न नसकेको व्यवसायीले बताएका छन्। 

सरकारले अटो आयातलाई सहज बनाए पनि फाइनान्स नहुँदा गाडी भित्रिन नसकेको व्यवसायीको भनाइ छ। 

सरकारले अटो आयातमा कडाइ सुरु गरेको १ वर्ष बढी भएको छ। सुरुमा राष्ट्र बैंकले नगद मार्जिनको व्यवस्था सुरु गरेकोमा वैशाखपछि आयातमै प्रतिबन्ध लगाएको थियो।  

हाल नगद मार्जिन र आयात प्रतिबन्धको व्यवस्था हटिसकेको छ। राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाह गर्दा अटो लोनको जोखिम भार क्षमता ७५ बाट १५० प्रतिशत पु¥याएको छ। यसले फाइनान्सिङमा समस्या भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एन्ड अपरेसन जनरल म्यानेजर दीपक थपलियाले फाइनान्सिङ नहुँदा गाडी आयात गरे पनि बिक्री गर्नसक्ने वातावरण नभएको बताए। 

‘सरकारले गाडी आयात खोले पनि मागको चक्र बिग्रिएको छ। थोरै मात्रामा आयात गर्ने प्रक्रिया बढाए पनि बिक्री गर्न सकिने अवस्था छैन’, थपलियाले भने, ‘मोडल र भेरियन्ट हेरेर क्याल्कुलेट गरेर थोरै मगाउँछन्।’

बजारमा चासो बढे पनि खरिद गर्नलाई बैंकले ऋण लगानी नगर्दासम्म बिक्री हुने अवस्था नहुने उनको भनाइ छ। 

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका कर्पोरेट ब्रान्ड एण्ड कम्युनिकेसन म्यानेजर रुपम श्रेष्ठले गाडी ल्याए पनि स्टकमा राख्नुपर्ने अवस्था रहेको बताए। उनले शोरुममा भएका गाडीमा पनि फाइनान्स नगर्दा बिक्री गर्न नसकेको बताए। 

‘नेपालमा भएको गाडीको फाइनान्सिङ नै नभएपछि नयाँ धेरै गाडी ल्याउनसक्ने अवस्था छैन’, श्रेष्ठले भने, ‘माग भएका निश्चित भेरियन्ट भित्रिन्छन्।’

बैंकले पेट्रोल र डिजेल इन्जिनका गाडीमा फाइनान्स नै नगरेको बताए। 

अटो व्यवसायीले हायर पर्चेज कम्पनीबाट केही फाइनान्सिङ गरे पनि धेरैलाई गर्न नसकेको बताएका छन्। विद्युतीय गाडीमा सुरुमा बैंकले लगानी गर्न बढी चासो दिए पनि अहिले यसमा समेत पछाडि हट्दै गएको उनले सुनाए। 

नाडा अध्यक्ष थापाले राष्ट्र बैंकले अटो लोनमा जोखिम भार बढाउँदा बैंकहरुले लगानी गर्न छाडेको बताए। 

‘गाडी आयात खुलाउन आन्दोलन ग¥यौँ। एउटा दबाब पनि होला, सरकारलाई राजस्व आवश्यक भएर खोल्यो’, थापाले भने, ‘आयात खोले पनि बिक्री गर्नको लागि फाइनान्सिङ सहज हुनैपर्छ। नभए गाडी आयात नै हुँदैन।’

उनले ९–१० महिनादेखि नै कमर्सियल गाडी बिक्री गर्न नसकेकोमा निजी गाडी बिक्री गर्न अप्ठ्यारो हुने बताए। 

‘भन्सार यार्डमा ८–९ महिनादेखि कमर्सियल गाडी रोकिएर बसेका छन्’, उनले भने, ‘निजी गाडी एलसी खोलेर आए पनि भन्सारमा थुप्रिन सक्छन्।’

भन्सारमा ३ हजार बढी गाडी रोकिएको नाडाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .