ad ad

कारोबार


अटो व्यवसायीका मागमा राष्ट्र बैंक र अर्थ मन्त्रालय लचिलो

अटो व्यवसायीका मागमा राष्ट्र बैंक र अर्थ मन्त्रालय लचिलो

नेपालखबरले आयोजना गरेको अटो क्षेत्रका समस्या र समाधानबारे राउन्ड टेबल डिस्कसन। तस्बिर : सरोज बैजू/नेपालखबर


नेपालखबर
पुस ३, २०७९ आइतबार २१:६, काठमाडौँ

विभिन्न माग राखेर आन्दोलनमा होमिएको अटो क्षेत्रलाई राष्ट्र बैंक र अर्थ मन्त्रालयले अर्थतन्त्रको अवस्थामा आएको सुधारसँगै अटो व्यवसाय पनि लयमा फर्किनेमा ढुक्क हुन आग्रह गरेका छन्। 

नेपालखबर डटकमले अटो क्षेत्रका समस्या र समाधानबारे आइतबार आयोजना गरेको राउन्ड टेबल छलफलमा नेपाली अर्थतन्त्रका दुई तालुकदार निकायले व्यवसायीलाई गाडी आयात खुलिसकेको र नगद मार्जिनबारे विद्यमान नीति पनि पुनर्विचार हुनेमा आश्वस्त पार्ने प्रयास गरेका हुन्।

राउन्ड टेबल छलफलमा व्यवसायीसँगै अर्थमन्त्रालयका सहसचिव आनन्द काफ्ले र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ सहभागी थिए। 

पछिल्लो समय नेपाली अटोमोबाइल्स क्षेत्र सरकार र राष्ट्र बैंकको नीतिका कारण रुष्ट हुँदै आएको छ। गाडी आयातमा लागेको प्रतिबन्ध र राष्ट्र बैंकको नगद मार्जिन नीतिप्रतिको असन्तुष्टि व्यवसायीहरुले सडकसम्मै पोखिरहेका छन्। अहिले ती दुईमध्ये गाडी आयात प्रतिबन्ध सरकारले हटाइसकेको छ। तर केन्द्रीय बैंकको नगद मार्जिन नीति कायमै छ। त्यो पनि विस्तारै संशोधन हुने आश्वासन राष्ट्र बैंकले दिए पनि व्यवसायीहरुले गाडी शोरुममा कालो ब्यानर टाँगिरहेका छन् भने माइतीघरमा पुगेर धर्ना बस्ने कार्यलाई निरन्तरता दिएका छन्। 

यिनै कुरामा केन्द्रित भएर आइतबार नेपालखबरले होटल म्यारियटमा व्यवसायी, राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारीलाई एकै ठाउँमा राखेर ‘राउन्ड टेबल डिस्कसन’ आयोजना गरेको हो। 

नाडा अटोमाेबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा। तस्बिर : सरोज बैजू/नेपालखबर

के हो अटो व्यवसायीको माग? 
व्यवसायीहरुले चालू पुँजी कर्जा मार्गदर्शन तत्कालका लागि स्थगित गर्दैै अनुकूल समयमा आवश्यक परिमार्जनसहित व्यवसायीको सल्लाहमा मात्र लागू गर्ने माग गरेका थिए। त्यस्तै उनीहरुले शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर एलसी अर्थात् प्रतीत पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने माग गरे।

उनीहरुले बैंकको ब्याज बढ्दा समग्र अटो व्यवसाय गम्भीर रुपले प्रभावित भएकोले हालको ब्याज तथा प्रिमियम दरलाई तत्काल नियन्त्रणमा राख्न आवश्यक व्यवस्थाको माग गरे। अटोलोन तथा हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतबाट पुरानै अवस्थामा अर्थात् ५० प्रतिशत कायम हुनुपर्ने माग गरे।

त्यस्तै बैंकहरुको तरलता अभावलाई सहज बनाउन सीडी रेसियो पुनरवलोकन, बैंकहरुबाट सवारी साधनको हायर पर्चेज लोन स्वीकृत भए पश्चात जारी गरिने डेलिभरी अर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारी साधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्याल्यु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद १ वर्षको लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने माग व्यवसायीहरुले राउन्ड टेबलमा राखे। 

के भन्छन् अर्थ मन्त्रालय र राष्ट्र बैंक? 

अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्ले।  तस्बिर : सरोज बैजू/नेपालखबर

आयात प्रतिबन्ध तत्कालीन बाध्यता : आनन्द काफ्ले (सहसचिव, अर्थ मन्त्रालय)
छलफलमा गाडी आयात प्रतिबन्ध हुँदा स्वयं सरकारले राजस्वमा क्षति भोगेको कुरा व्यवसायीबाट उठेको थियो। त्यसलाई अर्थ मन्त्रालयका सहसचिव आनन्द काफ्ले पनि स्वीकार्छन्। तर बाह्य असन्तुलनका कारण समग्र अर्थतन्त्रलाई हेर्नुपर्ने हुँदा गाडी आयात रोक्नुपर्ने तत्कालीन अवस्था रहेको उनको जिकिर छ। 

उनले नेपालखबर राउन्ड टेबलमा भने, ‘राजस्वमा ठूलो प्रेसर परेको कुरा स्वाभाविकै छ। आयात प्रतिबन्धले यसमा असर गरेको सत्य हो। त्यो बेला बाह्य क्षेत्र असन्तुलनको विषय थियो, यसको रिमेडी यो हो भने आयात प्रतिबन्धको अवस्था भयो।’ 

उनले अहिले केही सकारात्मक संकेत देखिएकाले गाडी आयात खोलेको भन्दै विस्तारै अटो बजार चलायमान हुनेमा व्यवसायीलाई आश्वस्त पार्ने प्रयास गरे। व्यवसायीकै चाहना पनि गाडी आयात खोल्नुपर्ने नै रहेको उनको भनाइ थियो। उनले अटो क्षेत्रलाई मात्रै लक्षित गरेर सरकारले गाडी आयातमा प्रतिबन्ध नलगाएको बताए। 

सहसचिव काफ्लेले थपे, ‘अहिले मुद्रास्फीतिका कुरा अन्तर्राष्ट्रिय विषय हुन्। बाहिरको प्रभावले हाम्रो अर्थतन्त्रमा प्रभाव पर्छ, ती कुरा अनि बल्ल व्यवसायीमाझ आउँछ। बाह्य क्षेत्रको असन्तुलन हेरेर केही कदम चाल्दा अटो क्षेत्रमा प्रभाव परेको हो।’ 

उनले व्यवसायीलाई निजी क्षेत्र र सरकार सहकार्य गरेर नै अघि बढ्नुपर्ने आग्रह गरेका थिए। व्यवसायीहरुलाई खाली गाडी आयात र बिक्रीमा मात्र नलाग्न उनको सुझाव थियो।

नेपालमै गाडी उत्पादनमा लाग्न आग्रह गर्दै उनले भने, ‘हामी आयातभन्दा पनि उत्पादनतर्फ जानुपर्छ।’ 

राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ। तस्बिर : सरोज बैजू/नेपालखबर

सबैखाले अर्थतन्त्र हेरेर नीतिहरु आउँछन्, अटो क्षेत्र आत्तिनपर्दैन : डा. प्रकाश श्रेष्ठ (कार्यकारी निर्देशक, राष्ट्र बैंक)
उता अटो व्यवसायीको मागबारे टिप्पणी गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले चालू पुँजी कर्जा मार्गदर्शन धेरै छलफल र गृहकार्यपछि आएकाले व्यवसायीले एकपटक यसलाई राम्ररी पढ्न आग्रह गरे। 

‘धेरै नीति अहिले सरप्राइज गरेर आउँछन् तर यो चालू पुँजी कर्जाको मार्गदर्शन धेरै तयारीसाथ आएको हो। राष्ट्र बैंकको वेबसाइटमा यसबारेका सबै विवरण पहिले नै राख्दै आएका छौँ। व्यवसायीहरुले बुँदा बुँदा पढ्नुपर्ने हुन्छ’, अटो व्यवसायीलाई इंगित गर्दै उनले भने, ‘धेरैले चालू पुँजी मार्गदर्शन स्थगनको माग गरिरहेका छन्। त्यसरी माग आउनुहुँदैन। चालू पुँजीको प्रकृति बुझौँ। बैंकले पैसा दिएपछि लिने प्रवृत्ति छ, चाहिन्छ, चाहिन्न ख्याल नगर्ने बानी छ, त्यसलाई सच्याऔँ।’ 

आवधिक ऋणजस्तो चालू पुँजी कर्जाको प्रकृति नभएको उनको भनाइ थियो। यसको मुख्य उद्देश्य नै कर्जा दुरुपयोग नहोस् भन्ने रहेकोमा यसलाई राम्ररी बुझ्न व्यवसायीलाई उनले आग्रह गरे। 

उनले ७ महिना गाडी आयात रोक्दा कसैले पनि गाडी किन्न नपाएको गुनासो नगरेको बताउँदै प्राथमिकताको आधारमा नीतिहरु आउने भएकाले अन्यथा नसोच्न व्यवसायीलाई आग्रह गरे। त्यस्तै खालि अटो क्षेत्रलाई मात्रै हेरेर राष्ट्र बैंकले सोच्नेभन्दा पनि सबैखाले अर्थतन्त्र हेरेर नीतिहरु आउने गरेको स्मरण गराए। 

उनले भने, ‘क्रेडिट भनेको फाइनान्सियल रिसोर्स हो। व्यवसायबाट बाहिर गएर सोचौँ, चारैतिर गाडी छन्, औषधि, अन्न छैन भने प्राथमिकता कसलाई दिने? बाँच्नलाई प्राथमिकता केलाई दिने त?’ 

त्यस्तै उनले अटो व्यवसायीले उठाएको नगद मार्जिनको व्यवस्था परिमार्जनबारे पनि सकारात्मक प्रतिक्रिया दिए। यसबारे राष्ट्र बैंकले अवस्थाअनुसार संशोधन गर्ने संकेत गरे। 

उनले भने, ‘अर्थतन्त्र सधैँ स्थिर हुँदैन उतारचढाव हुन्छ। पुसमा आउँदा विदेशी मुद्रा सञ्चित ६ महिनामा साढे २ अर्ब अमेरिकी डलर घटेको थियो। अहिले हामी सुधारको दिशामा छौँ, सुरक्षित छौँ भन्ने स्थिति छ। नगद मार्जिनको कुरा पनि अब सोच्दै छौँ।’ 

छलफलमा अर्थ मन्त्रालयबाट सहसचिव काफ्ले, राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. श्रेष्ठ, नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली तथा व्यवसायीहरुतर्फ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापा, उपाध्यक्ष सुनिल रिजाल, महासचिव सुरेन्द्र उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी, हुन्डाईको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका दीपक थपलिया, महिन्द्राको बिक्रेता अग्नि इन्कर्पोरेटका डेपुटी डाइरेक्टर वरदान बस्नेत, यामाहाको बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीलगायत अधिकांश अटो व्यवसायी उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .