कारोबार


सरकारी बजेट खर्च आक्रामक गतिमा, एक दिनमै १५ अर्ब बढी

सरकारी बजेट खर्च आक्रामक गतिमा, एक दिनमै १५ अर्ब बढी

नेपालखबर
असार १, २०७६ आइतबार ११:१९,

चालू आवमा बजेट खर्च बढ्न थालेको छ। गत पाँच दिनको संघीय सरकारको बजेट खर्च हेर्ने हो भने पाँच दिनअघि (एकै दिनमा) तीन अर्ब ११ करोड रुपैयाँ खर्च भएकोमा त्यसको पाँच दिनपछि एकैदिन १५ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको छ।

सरकारको चेक काट्ने संस्था महालेखा नियन्त्रकको कार्यालयले दिएको तथ्याङ्कअनुसार जेठ २६ गते ३ अर्ब ११ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको थियो। तर ३० गतेसम्म आइपुग्दा पाँच गुणा वृद्धि भएर एकै दिन १५ अर्ब ३४ करोडसम्मको खर्च भएको छ।

तीन अर्ब ११ करोड रुपैयाँ एक दिनको खर्चलाई बढाएर सरकारले २७ गते ३ अर्ब ८० करोड रुपैयाँको चेक काटेको तथ्यांकले देखाएको छ। त्यस्तै २८ गते पाँच अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ। २९ गते ६ अर्ब ९६ करोड र ३० गते १५ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको देखिएको छ। यी पाँच दिनमा विकास निर्माण बजेट खर्च जुन पुँजीगत शीर्षकमा हुन्छ, त्यसको खर्च समेत बढेको छ। २६ गते ३४ करोड रुपैयाँ विकास निर्माणको नाममा खर्च भएको थियो। त्यस्तै २७ गते ९८ करोड, २८ गते १ अर्ब १४ करोड, २९ गते १ अर्ब २८ करोड रुपैयाँ खर्च भएको छ। त्यस्तै ३० गते अधिकतम खर्च भए पनि पुँजीगत खर्च भने त्यति धेरै भएको देखिँदैन। सो दिन १५ अर्बभन्दा बढी खर्च भए पनि १ अर्ब ११ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ। सो दिन चालू खर्च ५ अर्ब २० करोड रहेको छ भने ९ अर्ब ३ करोड रुपैयाँ सरकारले आफ्नो ऋण तिरेको छ।

महालेखाले भने अब हरेक दिन खर्च बढ्ने जनाएको छ। सहमहालेखा नियन्त्रक जगन्नाथ देवकोटा भन्छन्, ‘सरकारको खर्च अहिलेसम्म त पहिलेको नै रेसियोमा छ, अब आउने दिनमा खर्च बढेको देखिन्छ, त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ। कतिपय काम पहिले नै भइसकेका हुन्छन् तर त्यसबापतको भुक्तानी प्रायः पछि हुने गरेको छ। त्यसकारण एक दिनको खर्चमा नै धेरै भिन्नता देखिन्छ।’

पछिल्लो समय राजस्व संकलन पनि केही सुधार हुनथालेको छ। २६ गते २२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। २७ गते पाँच अर्ब एक करोड, २ गते तीन अर्ब ८६ करोड, २९ गते तीन अर्ब ६१ करोड र ३० गते एक अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .