वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम बृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला संस्थाहरुको संख्या ८४८ पुगेको छ। ती संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य भोली मात्रै हुनसक्ने भएकोले अब कायम रहने संख्या ८४८ नै वा त्यसकै हाराहारीमा हुन सक्छ।
कुनै संस्थाले बढेको धरौटी एक्लै पुरा गर्न नसक्ने भएमा वा एकै व्यक्तिले एक भन्दा बढी इजाजतपत्र लिएको अवस्थामा संस्था गाभिने मौका समेत दिइएकोमा जम्मा ३०३ संस्था गाभिई १३१ संस्था बन्न पुगेका छन्। यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिई एउटा बनेको, पाँच–पाँच वटा संस्था गाभिई बन्ने संस्था २, चार–चार संस्था गाभिई बन्ने संस्था ९, तीन–तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुई–दुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहेका छन्।
विभागका अनुसार वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १५२७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भैसकेका थिए। भदौ १ गतेसम्म १३२३ संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए। कारोबार रोक्का भएका र निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी र धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने इजाजतपत्रवाला संस्थाको संख्या ३०३ पुगेको छ।
यो संख्या रुजु गर्ने क्रम जारी रहेकोले यसमा निकै सानो संख्या तलमाथि पनि हुनसक्ने विभागले जनाएको छ।
Shares

प्रतिक्रिया