ad ad

कारोबार


महिन्द्राको स्कोरपियो जिपमा गम्भीर समस्या, तीनवटा गाडी फर्काउँदै संघीय संसद (भिडियो)

महिन्द्राको स्कोरपियो जिपमा गम्भीर समस्या, तीनवटा गाडी फर्काउँदै संघीय संसद (भिडियो)

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ११:७,

संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानबिन समितिले महिन्द्राको स्कोरपियो जिपमा गम्भिर समस्या भेटेपछि तीनवटा गाडी फर्काउन निर्देशन दिएको छ।

संसदीय समितिका सभापतिहरु चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानबिन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा प्राविधिक कमजोरी पाइएको उल्लेख छ।

ती ११ वटा गाडी महिन्द्रा कम्पनीका हुन्। समितिले प्राविधिक त्रुटि भेटिएका गाडी एक हप्ताभित्र मर्मत गरी संसद सचिवालयमा बुझाउन र कामै नलाग्ने अवस्थामा रहेका तीनवटा गाडी आपूर्तिकर्तालाई नै तत्काल फिर्ता गराउन संसद सचिवालयलाई निर्देशन दिइएको छानबिन समितिका संयोजक रामनारायण बिँडारीले बताए।

प्रतिगाडी ५५ लाख मूल्यका तीनवटा नयाँ स्कोरपियो जिप कामै नलाग्ने भेटिँदा छानबिन समिति नै आश्चर्यमा परेको छ। छानबिन समितिले कामै नलाग्ने ती गाडी फिर्ता नलिए आपूर्तिकर्ता महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिलाई कानुनबमोजिम कारबाही गर्न पनि सिफारिस गरेको छ।

‘संघीय संसदले खरिद गरेको महिन्द्रा कम्पनीका सबै स्कोरपियो जिपहरूमा प्राविधिक समस्या भेटिएको छ’, संयोजक रामनारायण बिँडारीले नेपालखबरसँग भने, ‘स्कोरपियो जिपमा देखिएका समस्या एक साताभित्र मर्मत गरी समाधान गर्न नसके फिर्ता गरिनुपर्छ।’

Mahindra2
संघीय संसद भवन अगाडि खडा गरिएका महिन्द्राका स्कोरपियो जिप

महिन्द्राको नयाँ स्कोरपियो जिपमा गम्भिर समस्या रहेको खबरहरू आइरहेका बेला संघीय संसदको छानबिन समितिले अध्ययन गरी यस्तो प्रतिवेदन दिएको हो। छानबिन समितिले प्राविधिकहरु, सार्वजनिक खरिद ऐन र गाडी कम्पनीसँग सोधपुछ गरी तयार पारेको प्रतिवेदनमा सबै जिपका पार्ट्सहरु मिलाएर नराखिएको पाइएको जनाएको छ।

संयोजक बिँडारीले तीनवटा जिपमा भने मुख्य समस्या देखिएकाले त्यसलाई फिर्ता गराउन भनिएको स्पष्ट पारे।

संसद सचिवालयले प्रतिगाडी ५५ लाख रुपैयाँमा महिन्द्राको नेपालस्थित बिक्रेता अग्नि इन्कर्पोरेट प्रालिबाट नयाँ स्कोरपियो जिप खरिद गरेको थियो। ती स्कोरपियो जिपका गियरमा समस्या रहेको, स्वाभाविक रुपमा स्टार्ट नहुने, झ्यालढोकाका सिसा खोल्न–लगाउन गाह्रो हुने, वाइफर र अन्य पार्ट्सहरूमा समस्या रहेको पाइएको थियो। 

स्कोरपियो जिप बढी थर्कने, गियर लगाउँदा र छोड्दा फरक आवाज आउने तथा गुड्दा छत थर्कने समस्या पनि पाइएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै सिसा नखुल्ने, स्पीकर अर्कै नक्कली राखिएको पाइएको प्रतिवेदनमा जनाइएको छ।

छानबिन समितिको सो प्रतिवेदन ग्रहण गर्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे।

संसदीय समितिका सभापतिहरुका लागि संसद सचिवालयले खरिद गरेको ११ वटा स्कोरपियो जिप एक महिनामै बिग्रन थालेपछि सभामुख महराले बिँडारीको नेतृत्वमा गत साउन २७ गते पाँच सदस्यीय छानबिन समिति बनाएका थिए। जसमा सांसद बिँडारी संयोजक तथा सांसदहरु तारादेवी भट्ट, कृष्णभक्त पोखरेल, भरतकुमार शाह र कृष्णप्रसाद दाहाल सदस्य रहेका थिए।

छानबिन समितिले सभामुख महरालाई बुझाएको प्रतिवेदनमा गाडी खरिद प्रक्रिया भने कानुनसम्मत रहेको पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .