कारोबार


५० वर्षअघि यसरी भएको थियो बैंक एटीएम आविष्कार

५० वर्षअघि यसरी भएको थियो बैंक एटीएम आविष्कार

होली म्याके
भदौ १६, २०७६ सोमबार १४:१०,

सन् १९६८ को एक शुक्रबार अमेरिकी व्यवसायी डोनाल्ड वेट्जेललाई सप्ताहान्तअघि नै यात्राका लागि पैसा जरुरी पर्‍यो। बैंकबाट पैसा निकाल्नुपर्ने भयो। उनी लामो लाइनमा बसे। कार्यालय बन्द हुने समय ५ बज्न लागेको थियो। त्यतिबेला उनी मनमनै आन्दोलित भइरहेका थिए। यो त्यतिबेलाको कुरा हो जतिबेला वेट्जेल ४० वर्षका थिए।

बैंकमा सर्पजस्तो लाइनमा रहेका सबै मानिस पैसा झिक्न उभिएका थिए। यो देखेर उनको मनमा अनौठो कल्पना जागृत भयो। अहिले ९० वर्ष पुगेका वेट्जेल त्यो बेलाको आफ्नो कल्पना स्मरण गर्दै भन्छन्, ‘एउटा त्यस्तो आविष्कार गर्न सकियोस्, जुन कामका लागि मानिसहरु बैंक धाउन नपरोस्। चौबीस घण्टा र सातै दिन त्यसले काम गर्न सकोस्, लाइन नबसी सहजै पैसा झिक्न सकियोस्।’

यदि त्यस्तो चिज आविस्कार हुन सके यसले बजार पनि राम्रै पाउने उनले कल्पना गरे। हुन पनि ५० वर्षपछि आजसम्म विश्वमा एटीएमको आवश्यकता, महत्व र बजार बढेको बढ्यै छ। भलै आक्कल झुक्कल यसको सुरक्षा प्रणालीको विषय भने उठ्ने गर्छ।

बैंकको चेक साट्ने लाइनबाट फर्किएका उनले आफ्नो कल्पनालाई यथार्थमा परिणत गर्न प्रयास थाले। कल्पनालाई यथार्थमा बदल्न ठूलो परिश्रम जरुरी पर्छ। वेट्जेलले ११ महिना अथक परिश्रम गरेपछि बल्ल पहिलो नगद बाकस निर्माण सफल भयो।

परिणामतः अटोमेटेड टेलर मेसिन जन्मियो, जसलाई आज हामी छोटकरीमा एटीएमका रुपमा चिन्छौं। एटीएमले आज बैंकको कारोबारमा सहजता ल्याएको छ। विश्वका हरेक वित्तीय संस्थाको महत्वपूर्ण अंग बन्न सफल भएको छ।

atm mechine origion1लंग आइसल्यान्डको नासाउ काउन्टीमा सन् १९६९ पहिलो एटीएम राखिँदाको दृश्य। तस्बिर: वेट्जेल परिवार/फक्स न्युज

यसको व्यापारिक प्रयोग सन् १९६९ को सेप्टेम्बर २ मा सुरु भयो, जब लङ्ग आइल्यान्ड रकभिल्ले सेन्टरस्थित केमिकल बैंकबाट उद्घाटन गरियो। एटीएम आफैँमा जटिल प्रकृतिको मेसिन होइन। यसलाई जब बनाउन सुरु गरिन्छ, त्योचाहिँ साह्रै कठिन हुने उनको अनुभव छ।

हाल अमेरिकी राज्य टेक्सासमा बस्दै आएका वेट्जेल भन्छन्, ‘मलाई बोकेर हिँड्न मिल्ने कार्ड चाहिएको थियो, जसलाई गोजीमा राख्न सकियोस्।’

कार्डको गोप्य कुरा भनेको म्याग्नेटिक स्ट्रिप हो तर चुनौती भनेकै यसको सुरक्षा प्रबन्ध हो। फेरि सयौं डलर बैंकबाहिर राख्न बैंकहरुलाई सुरक्षामा आश्वस्त पार्नु झनै कठिन काम हो।

सुरक्षा संवेदनशीलतालाई जित्न उनलाई त्यति धेरै मिहिनेत पनि गर्नु परेन। किनकि उनी आफैँ टेक्सासस्थित डोक्युटेल कम्पनीमा इन्जिनियरिङ एक्जिक्युटिभ थिए। उक्त कम्पनीले ब्यागेज ह्यान्डल गर्ने स्वचालित वस्तु निर्माण गथ्र्यो। त्यसैलाई आधार मानेर वेट्जेलले पर्सनल आइडिन्टिफिकेसन नम्बर (पिन) स्ट्रिपको अवधारणा विकास गरे। जुन सफल भयो। कार्डको पिन नम्बर त्यसमा म्याच भयो। त्यसले द्रुतगतिमा काम पनि गर्‍यो।

वेट्जेलले एकबेला विश्व प्रतिष्ठित इन्टरनेशनल बिजनेस मेसिन कर्पोरेसन (आईबीएम) मा पनि काम गरिसकेका थिए। आईबीएम सूचना प्रविधि कम्पनी हो। यसको मुख्यालय अमेरिकाको न्युयोर्कमा छ। १ सय ७० भन्दा बढी देशमा यसले काम गर्दै आएको छ। त्यो अनुभव यहाँनेर काममा आयो।

त्यसपछिको चुनौती प्रिन्टर र डिभाइस कसरी बनाउने भन्ने थियो। म्याग्नेटिक स्ट्रिप नै एटीएम सफलताको मुख्य कडी भएको उनको बुझाइ छ।

एटीएम विकासमा धेरै परिश्रम गर्नुपरेको बताउने वेट्जेल करिअरको सुरुवाती वर्षमा सेल्सम्यान थिए। उत्पादनहरु बिक्री बैंकहरुसम्म जान्थे। त्यतिबेला उनी आफ्नो कल्पनाको एटीएम मसिनबारे कुरा गर्थे। उनको कुरा सुनेर बैंक कर्मचारी हाँस्थे। मानिसहरु पत्याउँदैनथे। हावादारी कुरा ठान्थे।

‘म त्यतिबेला एटीएम मसिन एउटा संसारका लागि ठूलो महत्व राख्ने वस्तु हुने कुरा सुनाउथें, यसबारे विस्तृतमा भन्थें’, उनी स्मरण गर्छन्।

atm mechine origion2एटीएम आविस्करक डोनाल्ड वेट्जेल। तस्विर: फक्स न्युज

त्यसको केही वर्षमै एटीएम आविष्कार भयो, त्यसले काम गर्न थाल्यो। यसले अकाउन्ट ब्यालेन्सबारे प्रयोगकर्तालाई जानकारी दिन थाल्यो। कम्प्युटर प्रविधि आएपछि एटीएम पनि अनलाइनमा गयो।

‘२४ घण्टे केमिकल क्यास मेसिन यहाँ छ, अब तपाईं जतिखेर मन लाग्यो पैसा बटुल्न सक्नुहुन्छ’, सन् १९७० को दशकको सुरुतिर केमिकल बैंकले यस्तो विज्ञापन प्रकाशित गरेको थियो।

आजको मितिसम्म ३५ लाख भन्दा बढी एटीएम मेसिन विश्वभर स्थापना भएका छन्।

‘हामीले जस्तो परिकल्पनामा एटीएम बनाएका थियौँ, सोहीअनुसार यसले आजसम्म काम गरिरहेको छ’, वेट्जेल उत्साहपूर्वक सुनाउँछन्, ‘यसले मलाई ठूलो खुसी दिन्छ। हामीले हाम्रो कर्तव्य पूरा गरेजस्तो अनुभूति हुन्छ।’

जसरी कम्प्युटरले जीवनमा परिवर्तन ल्याएको छ, त्यसैगरी आज एटीएमले मानिसको जीवनमा सहजता थपिदिएको छ।

हिजोआज वेट्जेल डलासमा शान्तिपूर्वक जीवनयापन गरिरहेका छन्। उनी ८८ वर्षीया श्रीमती एलिनोरसँग बस्छन्। अचम्मको कुरा उनकी श्रीमतीले अहिलेसम्म एटीएम प्रयोग गरेकी छैनन्।

किन त? वेट्जेल भन्छन्, ‘श्रीमतीलाई एटीएम कार्ड बुथमा छिराएपछि बाहिर निस्किंदैन भन्ने लाग्छ, उनको त्यो विश्वास तोड्न म सधैं असफल रहें।’

वेट्जेलसँग अहिले पनि एटीएमको पेटेन्ट अधिकार सुरक्षित छ। त्यो स्मिथ सोनियन संग्रहालयमा सुरक्षित छ। केही दिनअघि मात्रै उनले आफ्नो आविष्कारको ५०औं वर्ष न्यूयोर्क पुगेर मनाए।

अमेरिकी बैंकिङ प्रणालीले एटीएम पाएको आधा शताब्दी भइसकेको छ। सधैँ परिवर्तनशील वित्तीय वातावरणमा यसको भविष्यलाई लिएर बहसहरु भइरहन्छन्। बैंकिङ क्षेत्रका मानिसहरु एटीएमको भविष्य झनै महत्वपूर्ण हुने बताउँछन्।
(फक्स न्युजबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad