कारोबार


व्यापार युद्धः ट्रम्पद्वारा चिनियाँ सामानमा नयाँ कर लागू

व्यापार युद्धः ट्रम्पद्वारा चिनियाँ सामानमा नयाँ कर लागू

नेपालखबर
भदौ १५, २०७६ आइतबार ८:४४,

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयका अनुसार करिब ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा अतिरिक्त १५ प्रतिशत करवृद्धि हुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यसअघि गरिएको घोषणा नै कार्यान्वयनमा ल्याउने र त्यसलाई ढिलाई गर्न नसकिने बताएका थिए। उनले संवाददाताहरुलाई भनेका थिए,“घोषित करवृद्धि लागू हुन्छ, यो रोकिँदैन।”

नयाँ करहरु खाद्य सामग्री, खेलकूदका सामान, संगीत सामग्री र फर्निचर समेतका दैनिक उपभोगका सामानमा करवृद्धि गरिएको छ।

वासिङ्टनस्थित पिटर्सन अन्तर्रा्ष्ट्रिय आर्थिक इन्स्टिच्यूटका अर्थशास्त्रीहरुले अमेरिकाको पछिल्लो कदमले करिब ११२ अर्ब अमेरिकी डलर बराबरका सामानमा असर पार्नेछ।

चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेका थिए।

अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा करवृद्धि हुनेछ।

ट्रम्पको घोषणापछि यसै महिनाको शुरुमा बेइजिङले पनि अमेरिकी सामानमा करवृद्धि गरेको थियो। सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो।

सयौं अमेरिकी कम्पनी र व्यवसायिक समूहहरुले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए। उनीहरुको विचारमा करवृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरिद गर्ने सामान महंगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए।

तर शुक्रबार राष्ट्रपति ट्रम्पले चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताए। ट्रम्पले भनेका थिए, “राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन्। उनीहरुको व्यवस्थापन पनि कमजोर छ।”

चिनियाँ सामानमा करवृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले करवृद्धि सँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन्।

“हामीले चीनसँग कुराकानी गरिरहेका छौं। वार्ताका लागि मिति तोकिएको छ। एकअर्काबीच फोनमा संवाद भएका छन्। मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ। वार्ताहरु रद्द भएका छैनन्। हेरौं के हुन्छ।’ ट्रम्पले भने।

राष्ट्रपतिले व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए। उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन्।

चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन। एएफपीका अनुसार अमेरिकी कूल गार्हस्थ्य उत्पादनमा उपभोग्य वस्तुले ७५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad