कारोबार


सरकारले दिने सुविधा लिनका लागि प्यान नम्बर अनिवार्यः अर्थमन्त्री

सरकारले दिने सुविधा लिनका लागि प्यान नम्बर अनिवार्यः अर्थमन्त्री

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ९:२२,

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकताजस्तै विषय भएकाले सबैले लिनुपर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताए। उनले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताए।

उनले भने, ‘नागरिकता दिँदा सरकारले कर लिएको छ र तपाईहरुसँग? प्यान लिँदा पनि त्यही हो। प्यान लिएबापत कर तिर्नुपर्ने कुरा त होइन नि। करदाता परिचयपत्र हो।’

उनले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पारे। उनले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मूल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताए।

उनले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताए। ‘राष्ट्रबैकले तिब्बततर्फबाट हुने आयातमा जति मूल्य सटही दिने भन्छ त्यत्ति नै भन्सारमा विगो कायम हुन्छ’, उनले भने, ‘२५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ। ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ। दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस्? समस्या त्यहाँ छ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीति क्षेत्रका लागि मान्य नहुने बताए। उनले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउँदा दैनीक उपभोग्य वस्तुको मूल्य बढ्ने भएकाले आम उपभोक्तालाई प्रत्यक्ष असर परेकाले मूल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गरे।

कार्यक्रममा उद्योगीहरुले कर सम्बन्धी सरकारले ल्याएको नया व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .