काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जनाएको छ। मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार त्यति रकम लाग्ने जानकारी दिइएको हो।
यो रकम मूल्य अभिवृद्धि करसहितको हो। ७२.५ किलोमिटरको द्रुतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ। यो लागत पूर्व निर्धारितभन्दा ३८ अर्ब बढी हो। यो रकम एशियाली विकास बैंकले प्रक्षेणभन्दा समेत बढी हो।
काठमाडाैं-निजगढ द्रुतमार्ग निर्माणबारे जानकारी दिन बुधबार सेनाले गरेको पत्रकार सम्मेलन। तस्विर: सविन धमला
परियोजनाबारे परियोजनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा लागत किन बढेको हो सेनाले चित्तबुझ्दो जवाफ दिन सकेन। परियोजना निर्माण सम्पन्न गर्न ३ वर्ष ६ महिना लाग्ने सेनाले जनाएको छ। डिपीआरअनुसार यो परियोजनाका लागि १ लाख ५१ हजार रुख काटिनेछन्।
परियोजनाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा द्रुतमार्गको प्रस्थानबिन्दू खोकनाको रेखांकन परिवर्तन गरिने जानकारी दिइयो।
‘श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिर्वतन गरिनेछ’, पत्रकार सम्मेलनमा परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले भने।
डिपीआर बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सेनाले सम्पन्न गरिसकेको जनाएको छ। परियोजनाबारे प्रत्येक ४ महिनामा पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ।

प्रतिक्रिया