कारोबार


अर्थमन्त्रीले भनेः व्यवसायीले ढाँटे, हाइब्रिड भनेर ब्याट्रीबाट स्टार्ट हुने गाडी ल्याए

अर्थमन्त्रीले भनेः व्यवसायीले ढाँटे, हाइब्रिड भनेर ब्याट्रीबाट स्टार्ट हुने गाडी ल्याए

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ६:३४,

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारीसाधन प्रयोगलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। नीतिगत रुपमा नै विद्युतीय सवारीसाधनलाई पहिलो, हाइब्रिड सवारीसाधन दोस्रो र पेट्रोलियम सवारीसाधनलाई तेस्रो प्राथमिकतामा राखेर अघि बढ्ने उनले मंगलबारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटनका क्रममा बताएका हुन्।

कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले नेपालमै एसेम्बल प्लान्ट राख्न व्यवसायीलाई आग्रह गरे। अर्थमन्त्री खतिवडाले भने, ‘हामी नेपालमै गाडी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न व्यवसायीलाई आग्रह गर्छौँ, त्यसलाई सरकारले प्राथमिकतामा पनि राखेको छ।’ विशेषगरी विद्युतीय सवारीसाधन एसेम्बल प्लान्ट राख्न अर्थमन्त्रीले आग्रह गरे।

नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला नाडा अटो शो राजधानी काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेलाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले पछिल्ला चार वर्षमा नेपालमा गाडी आयात चार गुणाले वृद्धि भएको बताए। सवारीसाधन आधुनिकीकरण र औद्योगीकरणको एउटा माध्यम भएको भन्दै उनले सवारीसाधनले विकास तथा निर्माणमा समेत भूमिका खेल्ने उल्लेख गरे। तर त्यसको ‘लिमिटेसन’ हुनुपर्ने उनको भनाइ छ।

अर्थमन्त्री खतिवडाले मानिसको शरीरमा चिल्लो पदार्थ आवश्यक हुने तर धेरै भयो भने त्यसले हानि गर्ने उदाहरण दिँदै कार्यक्रममा भने, ‘त्यस्तै गरी गाडी पनि विगत चार वर्षमा गाडी आयात चार गुणाले वृद्धि भएको छ। त्यसलाई नियन्त्रण गर्ने गरी नीति ल्याउने हो कि भन्ने सोच्नुपर्ने बेला भएको छ।’ व्यवसायीहरुले सडक दस्तुरमार्फत उठाएको पैसा सडक मर्मतमै खर्च गर्नुपर्ने भनेकामा सकारात्मक रहेको अर्थमन्त्रीले बताए। 

चालू आवको बजेटमार्फत हाइब्रिड गाडीलाई भन्सार सहुलियत दिएको तर व्यवसायीहरुले झुक्याएको उनले बताए। उनले भने, ‘व्यवसायीले चाहिँ हाइब्रिड भनेर ब्याट्रीबाट स्टार्ट हुने मात्रै गाडी ल्याए, हामीले त्यस्तो खोजेको होइन, त्यस्तो आयात भए निरुत्साहित गरिन्छ।’

सोही कार्यक्रममा व्यवसायी तथा नाडाका अध्यक्ष शम्भु दाहालले भृकुटीमण्डप साँघुरो स्थान भएको गुनासो आएकोले सरकारले वैकल्पिक स्थानको व्यवस्था गरिदिनुपर्ने बताए। उनले व्यवसायीदेखि सर्वसाधारणसम्मले अटो शो अव्यवस्थित भएको गुनासो गरेको भन्दै विकल्प दिन आग्रह गरेका हुन्। साँघुरो भएकोले व्यवस्थापन मिलाउनै कठिन भएको उनको भनाइ छ।

नाडा अटो शोका संयोजक निराकार श्रेष्ठले हरेक वर्ष अटो शोमा सहभागी हुने व्यवसायी बढेको बताए। अटो शोले व्यवसायीलाई ब्रान्डिंग गर्ने राम्रो स्थान दिएको बताए । यसको उदाहरण स्टल थपिनु रहेको उनले बताए । त्यस्तै नाडाका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले काठमाडौंको ट्राफिक जाम हेरेर नेपालको कुल अटो व्यवसायलाई नजरअन्दाज गर्नु नहुने बताए।

नेपालको अटो व्यवसायको योगदानचाहिँ सरकारले बिर्सिन नहुने बताए। आयात र राजस्वको योगदान तथा विकास निर्माणमा योगदान रहेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .