कारोबार


वाग्मतीको प्राथमिकतामा भौतिक पूर्वाधारः सुरुङमार्गदेखि मेट्रो रेलसम्म

वाग्मतीको प्राथमिकतामा भौतिक पूर्वाधारः सुरुङमार्गदेखि मेट्रो रेलसम्म

नेपालखबर
असार २, २०७८ बुधबार ७:१७,

वाग्मती प्रदेशले भौतिक पूर्वाधारलाई बजेटको प्राथमिकतामा राख्दै सुरुङमार्ग, मेट्रो रेलदेखि विद्युतीय बस सञ्चालनसम्मलाई सम्बोधन गरेको छ।

मंगलबार प्रस्तुत बजेटमा भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको लागि ७५ करोड बजेट समेत विनियोजन गरिएको छ।

प्रदेशले संघीय सरकारको समेत सहलगानीमा आगामी आर्थिक वर्षमा सुरु गर्ने गरी सुरुङमार्गको लागि बजेट विनियोजन गरेको हो।

गत वर्ष नै सुरु गर्ने भनिए पनि सुरु हुनसकेको छैन।

वाग्मती प्रदेशले मेट्रोरेल सञ्चालनका लागि चितवनको नारायणी खगेरी सिँचाइ प्राणालीको इम्ब्यांकमेन्टमा मेट्रो रेल, ट्रामजस्ता सम्भाव्य यातायातको अध्ययन प्रारम्भ गरिने उल्लेख गरिएको छ।

प्रदेश राजधानी हेटौंडा–भरतपुर–मेघौली जोड्न मेट्रो रेल, ट्रम जस्ता यातायातको पूर्वसम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरिएको छ।

बजेटमा सडक पूर्वाधारतर्फ मदन भण्डारी मार्गलाई २ लेनमा विस्तार गर्ने योजना छ। भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकालीको कुल ५३ किमिमध्ये भैँसे–भीमफेदी र कुलेखानी–दक्षिणकाली सडक आगामी वर्षमा सकिने लक्ष्य छ। बाँकी २१ किमि सडकलाई दुई लेनमा विस्तार पनि सुरु हुने बजेटमा उल्लेख छ।

प्रदेशिक लोकमार्ग कार्यक्रममा पुष्पलाल चक्रपथअन्तर्गतका सडकहरुलाई प्राथमिकतामा राखी १ अर्ब २९ करोड बजेट विनियोजन गरिएको छ।

मुख्यमन्त्री प्रादेशिक सडक कार्यक्रमअन्तर्गत प्रदेशको मुख्य आर्थिक बजार, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक स्थान जोड्ने रणनीतिक सडक वा उपमार्गको लागि ३ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै प्रदेशभित्रका कृषि बजार, शिक्षा र स्वास्थ्य केन्द्र जोड्ने सहरी तथा स्थानीय सडक कार्यक्रममा १ अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेशमा सडक पुल तथा झोलुंगे पुल निर्माणको लागि १ अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेश राजधानी हेटौंडालाई सुविधासम्पन्न बनाउन ९७ करोड बजेट विनियोजन गरिएको छ। प्रदेश सभा हल एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ण्को कार्यालयको सभाहल निर्माण सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको छ।

नेपाल सरकारको समन्वयमा चितवनको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्या–पर्यटकीय सहरको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको छ।

साना सहर रमणीय क्षेत्रमा बस्ने हामी सबैको रहर कार्यक्रम अन्तर्गत सिन्धुलीको मरिण, धादिङ्गको सल्यानटार, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रसुवाको रसुवागढी भन्सार नाका र दोलखाको जिरीलाई सौदर्यीकरण तथा एकीकृत सहरी विकास कार्यक्रम सञ्चालन हुनेछ।

हेटौंडामा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सम्झानामा कृष्ण प्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र स्थापना गर्न सम्भाव्यता अध्ययनको लागि बजेट छुट्याइएको छ।

प्रदेशमा विद्युतीय बस सञ्चालनको लागि ५० करोड बजेट विनियोजन गरिएको छ। विद्युतीय सवारी साधनको प्रयोगलाई पोत्साहन गर्न चार्जिङ स्टेसनको स्थापना गर्नुको साथै काठमाडौं–मुग्लिङ्ग र भरतपुर –हेटौडा खण्डमा विद्युतीय चार्जिङ स्टेसनसहितको एकीकृत स्मार्ट रिफ्रेश एण्ड ट्रान्सफर सेन्टर निर्माण गर्न बजेट छुट्याइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .