विषम परिस्थितिमा पनि कर्जा प्रवाह बढेपछि बजारमा लगानीयोग्य रकम अर्थात् तरलताको अभाव देखिन पुगेको छ।
गत वर्षदेखि नै नेपालमा बन्दाबन्दीको असर परिरहेको थियो।
तर पनि गत वर्ष मंसिर–पुसदेखि कर्जा प्रभाव ह्वात्तै बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। राष्ट्र बैंकका अनुसार वैशाख महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जा २३ दशमलव ८ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११ प्रतिशतले मात्र बढेको थियो। चालू आर्थिक वर्षको १० महिना अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २४ प्रतिशत, विकास बैंकहरुको कर्जा प्रवाह २५ प्रतिशत र वित्त कम्पनीहरुको कर्जा प्रवाह ८ दशमलव ६ प्रतिशतले बढेको छ।
वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव ९ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२ दशमलव ४ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।
२०७७ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५ दशमलव ४ प्रतिशत र १३ दशमलव २ प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०७७/०७८ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ३८ दशमलव ३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १७ दशमलव ४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २२ दशमलव ५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १७ दशमलव ६ प्रतिशतले बढेको छ।
यसरी सबै प्रकारका कर्जा बढिरहँदा बजारमा लगानी योग्य रकमको पनि अभाव हुने संकेत देखिएको छ।
नेपाल बैंकर्स संघका अनुसार अहिले तरलता ६ अर्ब रुपैयाँ मात्रै छ। बजारमा तरलता अभाव हुनको कारण सरकारले अधिक रुपमा आन्तरिक ऋण उठाउनु र बैंक तथा वित्तीय कम्पनीहरुले तीव्र रुपमा ऋण प्रवाह गर्नु देखिएको हो।
बैंकर्स संघका अनुसार बैंकहरुले ३० अर्बभन्दा बढी ऋण प्रवाह भएको छ।
सरकारले जेठ महिनामा नै ४१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ। सोही कारण अहिले बजारमा तरलता अभावको संकेत देखा पर्न थालेको देखिएको हो।
Shares

प्रतिक्रिया