विगत पाँच वर्षमा नेपालको धितोपत्रको प्राथमिक बजार करिब १९ अर्बबाट बढेर ७८ अर्ब पुगेको छ।
चालू आर्थिक वर्षको जेठ २० सम्म प्राथमिक बजार ७७ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा प्राथमिक निष्काशन, हकप्रद, ऋणपत्र, म्युचल फन्ड सबैमा वृद्धि भएको धितोपत्र बोर्डले जनाएको छ।
चालू आर्थिक वर्षमा सबैभन्दा बढी ऋणपत्र निष्काशन ४३ अर्ब ८५ करोडको रहेको छ।
त्यस्तै हकप्रद निष्काशन १४ अर्ब ५ करोड, प्राथमिक निष्काशन १३ अर्ब ३४ करोड र म्युचअल फन्ड ६ अर्ब ५ करोडको निष्काशन भएको बोर्डले जनाएको छ।
यसअघि सेयर बजारमा उछाल आएको आर्थिक वर्ष २०७३/०७४ मा धितोपत्रको प्राथमिक बजार ५९ अर्ब ३९ करोडको रहेको थियो।
त्यसको अघिल्लो वर्ष २०७२/०७३ मा १८ अर्ब ९९ करोड रुपैयाँको प्राथमिक बजार रहेको थियो।
२०७४/०७५ बाट घट्न थालेको पुँजीबजार गत वर्ष ३४ अर्बमै सीमित थियो। ०७४/०७५ मा १२ सय १२ अंकमा रहेको नेप्से गत वर्ष १३ सय ६२ विन्दुमा रहेको थियो।
आर्थिक वर्ष २०७२/०७३ मा १७ सय १८ विन्दुमा रहेको नेप्से अहिले २९ सय माथि पुगेको छ।
विगतका ५ वर्षको तुलनामा चालू आर्थिक वर्षमा धितोपत्र कारोबार ह्वात्तै बढेको छ।
आर्थिक वर्ष २०७२/०७३ मा १ खर्ब ६३ अर्ब रुपैयाँ धितोपत्र कारोबार रहेको बजार चालू आथिक वर्षको जेठ २० सम्ममा ११ खर्ब ५१ अर्ब पुगेको छ।
आर्थिक वर्ष २०७३/०७४ मा २ खर्ब ५ अर्ब, २०७४/०७५ मा १ खर्ब २१ अर्ब, आव २०७५/०७६ मा १ खर्ब १० अर्ब र गत वर्ष १ खर्ब ५० अर्ब रुपैयाँको मात्रै कारोबार रहेको थियो।
ऐतिहासिक उछाल
नेपाली पुँजीबजारमा ऐतिहासिक उछाल आएको छ।
बजारमा अहिले धितोपत्र बोर्डको स्थापनायताकै सबैभन्दा बढी कारोबार भएको छ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९औं वर्षमा प्रवेश गरेको छ।
बोर्डले अहिले १ वर्षमा उठ्ने राजस्व १ महिनामै उठाउन थालेको छ।
महामारीको समयमा अर्थतन्त्रका सूचक खुम्चिएको समयमा पुँजीबजारमा भने झन् उत्साह थपिएको छ। पहिला भौतिक रुपमै उपस्थित भई गरिने कारोबार अनलाइनमार्फत हुँदा पुँजीबजारमा समस्या नआएको बोर्डको भनाइ छ।
एकै वर्ष १७ गुणाले बढ्यो अनलाइन कारोबार
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पछिल्लो एक वर्षमा अनलाइन कारोबार १७ गुणाले बढेको बताएका छन्।
ढुंगानाले बजार र कानुनी सुदृढीकरणले पुँजीबजारमा उत्साह थपिएको बताए।
बोर्डले पछिल्लो एक वर्षमा बुक बिल्डिङ विधि लागू गरेको छ भने दोस्रो बजारमा संस्थागत लगानी बढाउन प्रोत्साहन गरेको छ।
दोस्रो बजारको पहुँच देशभर पु¥याउन बढी जोड दिएको ढुंगाना बताउँछन्।
चालू आर्थिक वर्षमा एउटै प्राथमिक निष्काशनमा सेयर खरिदका लागि करिब १८ लाख सर्वसाधारणले आवेदन दिएका छन्।
तर सर्वसाधारण पुँजीबजारमा आकर्षित भए पनि पुँजीबजार साक्षरताको भने अझै कमी छ।
२६ लाख बढी मेरो सेयर खाता
बोर्डका अनुसार मेरो सेयर खाता खोल्नेको संख्या २६ लाख बढी पुगेको छ। कुल गार्हस्थ्य उत्पादन बराबरकै पुँजीकरण भएको छ।
अहिले पूर्ण रुपमा अनलाइन कारोबार गर्नसक्ने अवस्था छ।
बोर्डले ईआरआरएसमार्फत सूचीकृत कम्पनीले भौतिक रुपमा उपस्थित हुनु नपर्ने सहज अवस्था बनाइदिएको छ। त्यस्तै ४ वर्षको रणनीतिक योजना पनि कार्यान्वयनमा लगेको छ।
नयाँ स्टक एक्सचेन्जको अध्ययन प्रतिवेदन तयार
अध्यक्ष ढुंगानाले आगामी वर्ष कारोबार प्रणालीलाई अझै व्यवस्थित पार्ने बताए।
यसबाहेक नयाँ दलाल व्यवसायीलाई संस्थागत बजार प्रवेश गराउने र वस्तु विनिमय कारोबार सुरु गरिने उनको भनाइ छ।
यता उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पनि अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा वस्तु विनिमय बजारको आरम्भ गर्ने कुरा अघि सारेका छन्।
नेपाली बजारमा नेप्सेको प्रतिस्पर्धीको रुपमा नयाँ स्टक एक्सचेन्जको विषयलाई समेट्न बोर्डले अध्ययन प्रतिवेदन तयार पारिसकेको बताउँदै उनले प्रतिवेदन माथि छलफल भइरहेको बताए।

प्रतिक्रिया