कारोबार


सांसदको प्रश्नः काठमाडौंमा मम बनाउन राँगा कहाँबाट आउँछ?

सांसदको प्रश्नः काठमाडौंमा मम बनाउन राँगा कहाँबाट आउँछ?

नेपालखबर
भदौ ३, २०७६ मंगलबार १०:३५,

भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ।

बैठकको शून्य समयमा भाग लिँदै सांसद विरोध खतिवडाले भारतबाट लामो समयदेखि भन्सारमा नाका भएर राँगाभैँसी नेपाल नभित्रिए पनि काठमाडौँमा मम र छोयलाको अभाव नभएको देख्दा चोरी बाटो प्रयोग भएको हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘वार्षिक रुपमा भारतबाट १० हजारको सङ्ख्यामा राँगा, भैँसी नेपाल भित्रिने गरेको छ, प्रतिराँगाभैँसी रु ८५६ राजश्व आउँथ्यो, त्यो गुमेको छ, त्यसतर्फ सरकारको ध्यान पुगोस्।’

सांसद विमला विश्वकर्माले चिकित्सक, वकिल, इञ्जिनीयर जस्तै ज्योतिषी पेशा सञ्चालनका लागि अनुमतिपत्र अनिवार्य गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘ज्योतिष पेशा सञ्चालन गर्नेको ठूलो आर्थिक कमाइ भएको हुँदा उनीहरुलाई राज्यले करको दायराभित्र ल्याउन जरुरी छ, त्यसका लागि पहिले व्यवसाय सञ्चालन गर्न चाहनेका लागि अनुमति पत्रलाई अनिवार्य गर्न आवश्यक छ।’

सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहका लागि लिएको विज्ञापन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्ने हो भने सरकार संविधान विपरीत हिँडेको तथा नागरिक सरकारलाई संविधानको पालना गर्नुस् भनेर चिच्याइरहेको जस्तो देखिन्छ भने।

सांसद विना श्रेष्ठले अविरल वर्षाका कारण मुलुकका कयौँ भागमा पुल र कल्भर्ट बगाउँदा धेरै जनताले आवतजावत गर्न अप्ठ्यारो परिस्थितिको भोग्नुपरेकाले छिटो ती संरचना पुनःनिर्माण गर्न माग गरिन्। सांसद शान्ता चौधरीले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको प्रहरी अनुसन्धानलाई प्रभाव पार्ने ढङ्गबाट गरिएको जुलुस र प्रदर्शनीले कानूनी राज्यको उपहास गरिरहेको बताइन्।

सांसद शान्तिमाया पाख्रिनले लोकसेवा आयोगको विज्ञापनका बारेमा सरकारको ध्यानाकर्षणका लागि भएको प्रदर्शनीमा प्रहरी हस्तक्षेप भएको प्रति सरकारको ध्यानाकर्षण गराइन्। सांसद सत्यनारायण शर्मा खनालले बर्दघाट–हेटौँडा १३२ केभी विद्युत् प्रसारणलाइन घनाबस्ती क्षेत्रभन्दा बाहिरबाट लाने व्यवस्था गर्न सुझाव दिए।

सांसद सरलाकुमारी यादवले मुुलुकभर कुकुरको टोकाइबाट वर्षेनी ५० जनाभन्दा बढीको मृत्यु हुनाका साथै चार हजारभन्दा बढी व्यक्तिले रेवीजविरुद्धको खोप लिनुपरिरहेको अवस्थामा भुस्याहा कुकुरको व्यवस्थापन होस् भनिन्।

सांसद सरिताकुमारी गिरीले तराई–मधेशमा पानीमा भएको आर्सनिकबाट धेरै जनताले विभिन्नखाले रोगसँग लड्नुपरेको हुँदा त्यसलाई नियन्त्रण गर्ने कुनै उपाय छ कि भनी प्रश्न गरिन्।

सांसद सानु सिवाले नेपाल भ्रमण वर्ष नजीक आइसक्दा समेत नेपालको ठूलो पर्यटनको सम्भावना बोकेको इलाममा विमानस्थल किन सञ्चालन गरिएन भनी प्रश्न गरे।

सांसद सीतादेवी यादवले जनप्रतिनिधिले शून्य समयमा बोलेका कुराको कार्यान्वयनको अवस्था किन शून्य रह्यो भनी प्रश्न गरिन्। सांसद सुजाता परियारले समानुपातिक र समावेशी सिद्धान्तका आधारमा राज्य सञ्चालन गर्ने संवैधानिक व्यवस्था भए पनि लोकसेवा आयोगले त्यसलाई ‘बेवास्ता गर्दा’ राज्य किन मौन रह्यो भनी चासो व्यक्त गरिन्।

सांसद हितबहादुर तामाङले पत्रकार पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानलाई अघि बढाउने क्रममा कानूनी राज्यको उपहास गर्ने ढङ्गबाट गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक छ भने। सांसद हीरा गुरुङले लोकसेवा आयोगको विज्ञापनसँग जोडेर संविधानले आरक्षण गरेको विषयलाई संवैधानिक अङ्गबाटै किन बेवास्ता गरिएको भनी प्रश्न गरिन्। सांसद बहादुरसिंह लामाले बाढीपहिराबाट भत्किएका पुल र सडक कहिलेसम्म बन्छ भनी प्रश्न गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad