ad ad

कारोबार


नगरकोट अनिश्चितकालका लागि बन्द! यस्तो छ कारण

नगरकोट अनिश्चितकालका लागि बन्द! यस्तो छ कारण

नेपालखबर
भदौ २, २०७६ सोमबार ८:१३,

चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन्।

व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा भत्काएको थियो।

साना व्यवसायीलाई कुनै विकल्प नदिइ घर, टहरा भत्काएको भन्दै उनीहरूले आजदेखि अनिश्चितकालीन नगरकोट बन्दको आह्वान गरेका सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङले बताए। उनले भने, “हामीलाई कुनै विकल्प नदिइ एक्कासि हाम्रो घर टहरा र होटल तथा व्यवसायमाथि डोजर चलाइयो, यसको विरोधमा हामीले आजदेखि नगरकोट अनिश्चितकालीन बन्द गराएका हौँ ।”

साना व्यवसायीले सडकमा टायर बालेर सडक बन्द गराएकाले नगरकोट आउने र जाने सार्वजनिक एवं निजी यातायातका साधन बन्द भएका छन् । स्थानीयवासी धनबहादुर लामाले नगरपालिकाले जबर्जस्ती गरेको विरोधमा व्यवसायी विरोधमा उत्रिएको बताउँदै यसले पर्यटन वर्ष २०२० लाई प्रत्यक्ष प्रभाव पार्ने बताए।

उनले नगरकोट आउने पर्यटकलाई भने बन्द आयोजकले नरोक्ने जनाए पनि केही पर्यटक बन्द भएको सुनेर बीचबाटै फर्किएको जानकारी दिए। यता नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने पटकपटक सूचना जारी गरी माइकिङ गरेर नै अवैध संरचना हटाइएको जानकारी दिँदै बाँकी २० घर, टहरा आज भत्काइने बताए।

नगरपालिका र वन कार्यालयले भट्टेडाँडा नगरकोट टावरसम्मका अवैध घर, टहरा भत्काएको थियो । हिजो घर टहरा भत्काउने क्रममा झडपसमेत भएपछि सुरक्षाकर्मी परिचालन गरी भत्काइएको थियो । यहाँका ठूला होटल सञ्चालकहरूले भने अवैधरुपमा सञ्चालित होटल तथा रेस्टुराँले जग्गाको भाडा तिर्नु नपर्ने, व्यवसाय दर्ता पनि गर्नु नपर्ने र सरकारलाई राजस्व पनि तिर्नु नपर्ने भन्दै यस्ता व्यवसाय हटाउन माग गर्दै आएका थिए ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .