कारोबार


मौलाकालिका मन्दिर पुग्ने केवलकारको काम सुरु

मौलाकालिका मन्दिर पुग्ने केवलकारको काम सुरु

नेपालखबर
जेठ १०, २०७८ सोमबार १५:७,

पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम सुरु भएको छ।

नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. १ देखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो।

स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले केवलकार निर्माण गर्न लागेको हो। केवलकारका लागि सामुदायिक वनको रुख काट्ने काम आजबाट थालिएको छ।

परियोजना प्रमुख ईन्जिनियर गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्ने छ। एक किलोमिटर दुई सय मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन्। एउटा गोन्डोलामा आठ जना अट्छन्।

केवलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ। केवलकारको मार्गमा पर्ने एक हजार ३८ वटा रुख कटान गर्नु पर्नेछ। साउदका अनुसार जेठ मसान्तसम्ममा रुख कटानको काम सम्पन्न हुनेछ। अष्ट्रियाको गोपलमेर कम्पनीको केवलकार जडान गर्न लागिएको हो जुन चन्द्रागिरीमा समेत जडान गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार आउँदो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ। उनको भनाइमा केवलकार सम्पन्न गर्न रु. एक अर्ब ५० करोड लगानी हुने छ। सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो। नेपाल सरकारको प्रचलित नियम अनुसार सो जग्गा वापतको सोधभर्नासमेत गरेर काम अगाडि बढाइएको ढकालले जानकारी दिए।

केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिने उनले बताए। स्थानीय समेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साहित भएका छन्। ढकालका अनुसार स्थानीयको सहयोगका कारण परियोजना सहज रुपमा निर्धारित समयमै सम्पन्न गर्न सकिने छ।

गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यहाँको पर्यटन प्रवद्र्धनमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले भने, ‘यसले नगर क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ।’

यसले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै होटल रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउने पौडेल बताउँछन। स्थानीय सरकारले यस्ता परियोजनालाई प्रोत्साहन गर्ने उनको भनाइ छ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले यो जिल्लाकै गौरवको आयोजना हुने बताए। उनले एक वर्षपछि यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार विगतका वर्षहरुको तथ्यांक हेर्दा वार्षिक यहाँ दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन्।

उनले भने, ‘देशैभरिबाट दर्शनार्थी आउछन्। केवलकार बनेपछि यो सङ्ख्या अझै बढ्नेछ।’

मन्दिर क्षेत्रमा कालिकाको मुख्य मन्दिर रहेको छ। उत्तरतर्फ भैरव मन्दिर, पश्चिममा होमनकुण्ड र चर्तुमुखी शिवालय रहेको छ। मन्दिर क्षेत्रमा १२५ जना अट्ने सभाहल, ३० जना क्षमताको धर्मशाला रहेको छ। सो ठाउँमा १७५ जनासम्म खान बस्नको व्यवस्था छ।

मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यहाँ तीर्थालुहरु आउने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad