अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को एशिया प्रशान्त क्षेत्रका नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन सोमबार काठमाडौंमा सुरु भएको छ।
उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाइ क्षेत्र प्रगति हुँदै गएको, आर्थिक सुरक्षाका क्षेत्रमा क्रमिक सुधार भएको जानकारी गराए। उनले भने, ‘नेपाल प्रकृतिकै कारण धेरै सुन्दर देश रहेको छ, यहाँ धेरै कुराहरु छन्, अनुसन्धानका धेरै कुरा गर्न सकिन्छ।’
सोही क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० लाई संकेत गर्दै नेपाल भ्रमणका लागि सबैलाई निम्तो गरिएको जानकारी दिए। उनले अगाडि भने, ‘विकासका लागि नेपाल सबैसँग मिलेर काम गर्न तयार रहेको छ।’ उनले हवाइ क्षेत्रमा देखिएका समस्या समाधानका लागि तयार रहेको बताए। हवाइ क्षेत्रका अन्तर्राष्ट्रिय व्यक्तित्वहरुसामु बोल्दै उनले गौतमबुद्ध विमानस्थल भनेकै समयमा सञ्चालनमा ल्याउने जानकारी दिए।
शुक्रबारबारसम्म चल्ने सम्मेलनको उद्घाटन सत्रमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको हवाई सुरक्षाबारे विभिन्न तहमा छलफल भएको जानकारी दिए।
‘नेपालले नागरिक उड्डन सुरक्षाबारे ठूलो प्रगति हाँसिल गरेको छ। विमानस्थल एवं जहाज सुरक्षा विषयमा पछिल्लो समय अन्तर्राष्ट्रिय सरोकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल भएको छ’, उनले भने। हवाई उड्डयनको क्षेत्रमा नेपालले नीतिगत सुधार गरिरहेको बताउँदै उनले एशिया क्षेत्रमा नेपालको प्रगति उत्कृष्ट रहेको बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको वायु सेवा सुरक्षाको अवस्था सुधार भएको दाबी गरे।
‘नेपालको नागरिक उड्डयन सुरक्षा आइकाओले निर्धारण गरेभन्दा धेरै विषयमा प्रगति भएको छ। दुई वर्षयता नेपालका विमानस्थलहरुमा ठूलो सुधार भएको छ’, महानिर्देशक पोखरेलले भने, ‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रात्रीकालीन उडानका लागि समेत तयार भइसकेको छ।’
सम्मेलनलाई सम्बोधन गर्दै आइकाओका एशिया प्यासिफिक निर्देशक अरुण मिश्रले उड्डन क्षेत्रलाई सुरक्षित बनाउन काम गरिरहेको दाबी गरे। नागरिक उड्डयनको दृष्टिले नेपाल उत्कृष्ट लयमा रहेको भन्दै उनले भने, ‘यो क्षेत्रमा नयाँ प्रविधिअनुसार गर्नुपर्ने कामहरु थपिएका छन्।’
बोइङ र एयरबसका प्रतिनिधि पनि सहभागी
होटल सोल्टीमा सुरु भएको तीन दिने सम्मेलनमा विश्वका ठूला जहाज निर्माता कम्पनीहरु बोइङ र एयरबसका प्रतिनिधि समेत सहभागी छन्। अमेरिकी जहाज निर्माता बोइङ तथा युरोपेली जहाज निर्माता एयरबसका प्रतिनिधिहरु उड्डयन सुरक्षा तथा प्रविधि विषयमा प्रस्तुति दिन सम्मेलनमा सहभागी भएका हुन्।
एशिया प्रशान्त क्षेत्र भनिए पनि सम्मेलनमा युरोपेली संघका नियमाक निकाय प्रमुख, अमेरिका, वेलायत र फ्रान्सका नियामक निकायका प्रमुखहरु समेत सहभागी छन्।
आयोजक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्मेलनमा आईकाओ काउन्सिलका अध्यक्ष डा। अलुमुयिवा बनार्ड अलियु, आईकाओका विभिन्न विभागका निर्देशकहरु उपस्थिति छन्।
म्मेलनमा ४३ मुलुकका २ सय ९१ प्रतिनिधि, २६ वटा प्रवर्धदक संस्था तथा अन्य सहभागी गरी करिब ४ सय जना विदेशीको सहभागिता रहने प्राधिकरणले जानकारी दिएको हो।
Shares

प्रतिक्रिया