ad ad

कारोबार


नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बनायो ‘विद्युत् व्यापार कम्पनी’ खडा गर्ने योजना

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले बनायो ‘विद्युत् व्यापार कम्पनी’ खडा गर्ने योजना

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १२:३७,

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ‘विद्युत् व्यापार कम्पनी’ खडा गर्ने योजना प्रस्ताव तयार गरेको छ।

निफ्राले तयार गरेको योजना प्रस्ताव ऊर्जा मन्त्रालयमा बुझाइसकेको छ।

विशेष गरी नेपालको बिजुली भारत र बंगलादेशसम्म निर्यात गर्ने उद्देश्यले ‘विद्युत् व्यापार कम्पनी’ खडा गर्ने प्रस्ताव सरकारलाई बुझाउँदै प्रक्रिया सुरु गरेको हो।

निफ्राका सीईओ रामकृष्ण खतिवडाले नेपालखबरलाई जानकारी गराएअनुसार पीपीए नभएर अड्किएका परियोजनाहरु तिला १, तिला २, फुको, बेतनलगायतका परियोजनाहरुको सम्भाव्यता हेरेर भारत र सम्भव भएसम्म बंगलादेशको बजारसम्म विद्युत् व्यापार गर्ने कम्पनीको योजना छ।

सम्भाव्यताको हिसाबले भने कर्णाली र सुदूरपश्चिमको ५ हजार मेगावाट क्षमताका अधिकांश अर्धजलाशय र जलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन भइरहेको उनले बताए।

यसको लगानीको लागि निजी वित्तीय संस्था, सरकार, विद्युत् प्राधिकरण र निफ्रा रहने संयुक्त योजना बनाएर यी आयोजनाबाट बिजुली उत्पादन गर्दा लागत घट्न गई सस्तो दरमा भारत र बंगलादेश बेच्न सकिने निष्कर्षमा निफ्रा पुगेको हो।

निफ्राले तयार गरेको प्रपोजलमा निफ्रा आफैँको भने १०.१५ प्रतिशत सेयर कायम हुने उल्लेख छ।

यसबाहेक नेपाल विद्युत प्राधिकरण, ऊर्जा मन्त्रालय, बैंक तथा वित्तीय संस्थालगायतको पनि लगानी हुनेछ। यो विशेष गरी सरकारी लगानी नै रहेको कम्पनी हुने उक्त प्रस्तावमा उल्लेख छ।

उनले नेपालखबरसँग भने, ‘धेरै सेयर अर्थात् १०.१५ प्रतिशत हाराहारीभन्दा बढी कसैको पनि नहुने गरी सेयर संरचना बनाउने योजना छ।’

निफ्राले तयार गरेर ऊर्जा मन्त्रालयमा पेश गरेको प्रपोजलमा नै विद्युत् प्राधिकरणले पीपीएको कोटा पुगेको भन्दै नयाँ आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता गर्न बन्द गरिरहेको र पीपीए गरेका आयोजनाबाट उत्पादित बिजुली पनि सबै खपत नहुने चिन्ता समेत रहेको छ।

त्यसकारण देशभित्र उद्योगबाहेक सामान्य रुपमा मात्रै बिजुली खपत भइरहेकाले तत्काल एकै पटक हजारौं मेगावाट थप बिजुली खपत हुने अवस्था पनि नभएको देखिएको छ।

यी सबै कुराको अध्ययन गरेरै निफ्राले भारत र बंगलादेश निर्यात गर्ने गरी विद्युत व्यापारको क्षेत्रमा काम गर्ने योजना अघि सारेको उल्लेख छ।

कहिलेसम्म निर्माण हुन्छ यो कम्पनी?
सीईओ खतिवडाका अनुसार यो योजना पूरा हुन समय लाग्छ। अहिले नै चाहेर हुने कुरा नभएको उनले बताए।

भारत र बंगलादेशमा दिनप्रतिदिन बिजुलीको माग बढिरहेको छ।

‘त्यसलाई हेरेर यस प्रकारको योजना निर्माण गरेका हौँ’, उनले भने, ‘सोअनुसारको प्रस्ताव ऊर्जा मन्त्रालयमा पेश भएको छ। जसअनुसार काम सुरु भए पनि ५, ६ वर्ष लाग्नेछ।’

निफ्राका अनुसार भारत र बंगलादेशमा ६ रुपैयाँ ४० पैसासम्ममा बिजुली बेच्नसक्ने देखाएको छ। यसका लागि अहिलेदेखि नै तयारी नगर्दा आगामी ५, ६ वर्षसम्म पनि नेपालको बिजुली विदेशमा निर्यात गर्ने कुरा सपनामै सीमित हुनसक्ने निफ्राको भनाइ छ।

त्यसकारण अहिलेदेखि नै तयारी गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .