कारोबार


कोरोनाको दोस्रो लहरः अन्तर्राष्ट्रिय उडान कार्गोकेन्द्रित हुँदा आन्तरिक उडान उद्धारमा व्यस्त

कोरोनाको दोस्रो लहरः अन्तर्राष्ट्रिय उडान कार्गोकेन्द्रित हुँदा आन्तरिक उडान उद्धारमा व्यस्त

वसन्त अर्याल
बैशाख २७, २०७८ सोमबार ७:३३,

कोरोना महामारीको दोस्रो लहरसँगै नेपालमा व्यावसायिक उडान बन्द भएपछि हवाइ सेवा प्रदायकहरुको अन्तर्राष्ट्रिय उडान कार्गोमा केन्द्रित भएको छ।

त्यस्तै, आन्तरिक उडानचाहिँ उद्धारमा बढी केन्द्रित भएको छ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान चीनसहितका देशबाट स्वास्थ्य सामग्री ल्याउन बढी प्रयोग भएका छन्।

त्रिभुवन विमानस्थलका अनुसार आन्तरिकतर्फ भने पर्यटक र कोभिड संक्रमितको उद्धारमा बढी उडान भइरहेका छन्।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने मुख्यतः हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले कार्गो उडानलाई प्राथमिकता दिएको जनाएका छन्।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार चीनको राजधानी बेइजिङमा जाँदै छ। यता सोमबार बिहानै हिमालय एयरलाइन्सको जहाजले चीनको कुनमिङबाट कार्गो बोकेर आएको छ।

नेपाल एयरलाइन्सको जहाजले ४ सय अक्सिजन सिलिन्डरसहित १० भेन्टिलेटर बोकेर मंगलबार स्वदेश फर्किनेछ।

गत बिहीबार रातिबाट अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो। योसँगै कम्पनीले कार्गो उडानलाई प्राथमिकता दिएको हिमालय एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सका अनुसार अहिले दैनिकजसो कार्गो उडान भइरहेको छ।

हिमालय एयरलाइन्सले गत शनिबार र शुक्रबार पनि कुनमिङबाटै कार्गो लिएर काठमाडौं आएको थियो।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले निषेधाज्ञापछि स्वास्थ्य सामग्री बोक्नको लागि कार्गो उडान गरिरहेको जानकारी दिए।

‘अहिले व्यावसायिक उडान छैन। प्यासेन्जर चार्टर्ड वा उद्धार उडान पनि छैनन्’, श्रेष्ठले नेपालखबरसँग भने, ‘हामीले स्वास्थ्य सामग्री बोक्नको लागि कार्गो उडान गरिरहेका छौँ।’

उनले चीनको कुनमिङबाट स्वास्थ्य सामग्री ल्याउन जहाज प्रयोग भइरहेको जानकारी दिए।

श्रेष्ठका अनुसार मंगलबार हिमालय एयरलाइन्सको जहाज बंगलादेशको ढाकामा स्वास्थ्य सामग्री लिन त्यसतर्फ जाँदै छ।

‘भोलि बिहान नेपालस्थित बंगलादेश राजदूतावासका केही कर्मचारी लिएर ढाका उडान हुँदै छ’, उनले भने, ‘भोलि नै ढाकाबाट फर्किँदा कार्गो सामग्री ल्याउनेछौँ।’

अहिले अन्तर्राष्ट्रिय उद्धार उडानको लागि कुनै माग छैन।

श्रेष्ठले वैशाख अन्तिमबाट पनि उडान नखुले नेपालमा भएका पर्यटक बाहिर जान र विदेशमा भएका नेपाली कामदार ल्याउन उद्धार उडान हुनसक्ने बताए।

अहिले अन्तर्राष्ट्रिय उडान बन्द भए पनि नेपाल र भारतबीच भने एयर बबल सम्झौताअनुसार हप्तामा दुई उडान भइरहेको छ।

यसअनुसार नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्ताको दुईवटा उडान गर्ने पाउने सुविधा छ।

शनिबार एयर चाइना र लानमेई एयरलाइन्सले समेत कार्गो लिई त्रिभुवन विमानस्थल आएका थिए।

आन्तरिकतर्फ ‘रेस्क्यु’ उडान बढी
यता नेपालभित्रै भने उद्धारका लागि आन्तरिक उडान बढी भएका छन्। त्रिभुवन विमानस्थलका अनुसार शनिबार मात्रै ५१ उडान भएका थिए। जसमा २६ उडान त्रिभुवन विमानस्थलबाट प्रस्थान गरेका थिए भने २५ वटाको आगमन भएको थियो।

उद्धार उडानमा कोभिड एयरलिफ्ट समेत समावेश रहेको विमानस्थलले जनाएको छ। उद्धार उडानमा हेलिकप्टरको बढी प्रयोग भएको पाइएको छ।

कोभिड एयरलिफ्ट उपत्यकाबाहिरका हस्पिटलबाट काठमाडौंमा र काठमाडौंमा बेड नपाएका बिरामीलाई उपत्यकाबाहिर लैजान पनि प्रयोग भइरहेको हेलिकप्टर कम्पनीले जनाएका छन्।

त्यसबाहेक निषेधाज्ञाअघि नै घुम्नका लागि देशका विभिन्न ठाउँमा पुगेका पर्यटकको उद्धारमा समेत उडान भइरहेको छ।

गत शुक्रबार ७५ वटा आन्तरिक उडान भएका थिए। समिट एयर र तारा एयरले प्यासेन्जर बोकेका थिए। उक्त दिन १५९ जना काठमाडौं भित्रिएका थिए भने १९० जना काठमाडौंबाट बाहिरिएका थिए।

हेलिकप्टर कम्पनीले पर्यटकसँगै कोभिड बिरामीलाई उद्धार गरेको जनाएका छन्। पछिल्लो समय कोभिड रेस्क्यु बढेको कम्पनीहरुको भनाइ छ।

आइतबार मात्रै अल्टिच्युड हेली, मनाङ हेली, श्री एयरलाइन्स, सिम्रिक एयरलाइन्सले कोभिड ‘रेस्क्यु’ गरेको त्रिभुवन विमानस्थले जनाएको छ।

शनिबार एयर डाइनेस्टीले १०, अल्टिच्युड हेलीले ११, हेली एभेरेस्ट ४, कैलाश हेली ६, मनाङ हेली ८, माउन्टेन हेली २, प्रभु हेली २ र स्रिमिक एयरले ८ उडान गरेका थिए। जसमा मनाङ हेली र सिम्रिक एयरले कोभिड ‘रेस्क्यु’ समेत गरेका थिए।

आइतबार १० वटा कम्पनीले आन्तरिक उडान गरेका छन्। कुल ६७ उडानमध्ये समिट र तारा एयरले प्यासेन्जर चार्टर्ड उडान गरेका हुन्। ३१ जना त्रिभुवन विमानस्थलबाट बाहिरिएका थिए भने २०३ जना विमानस्थलमा भित्रिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .