कारोबार


बजेट अभावले चालु आवमा कोटेश्वर-कलंकी सकडमा ‘फ्लाइओभर’ को काम अघि नबढ्ने

बजेट अभावले चालु आवमा कोटेश्वर-कलंकी सकडमा ‘फ्लाइओभर’ को काम अघि नबढ्ने

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ९:४१,

सडक विभागले कोटेश्वर-कलंकी खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालु आवमा प्रक्रिया अघि नबढ्ने भएको छ।

ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने भनिए पनि अर्थ मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको छैन।

तीनवटै चोकमा निर्माण योजना बनाइएको भए पनि चालु आवमा ग्वार्को चोकमा निर्माण शुरु गर्ने गरी अध्ययन गरिएको सडक विभागले जनाएको छ। यसका लागि आवश्यक रकम विभागले अर्थ मन्त्रालयसँग माग गरेको विभागका प्रवक्ता शिव नेपालले बताए।

उनले भने, ‘अर्थ मन्त्रालयमा भएको छलफलअनुसार चालु आवमा ठेक्का शुरु गर्न सकिने देखिएको छैन।’

बजेट अभावका कारणले अर्थ मन्त्रालयले सहमति नदिएको हुनसक्ने प्रवक्ता नेपालले बताए। चालु आवमा डिजाइनका लागि रकम छुट्याइएको भए पनि निर्माणका लागि बजेट छुट्याइएको थिएन।

अर्थ मन्त्रालयसँग निर्माणका लागि रकम मागेर बहुवर्षीय ठेक्का गर्न खोजिएको भए पनि मन्त्रालयले दिनसकेको छैन। कतिपय ठेक्कामा काम सम्पन्न भइसकेको भए पनि भुक्तानी दिन नसकेकामा थप दायित्व किन गर्ने भन्ने मन्त्रालयले सोचेको हुनसक्ने उनले बताए।

उनले भने, ‘निर्माण व्यवसायीले भने जति नभए पनि विभागले कतिपय ठेक्का सम्पन्न भएकामा भुक्तानी गर्न बाँकी छ।’

आगामी आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागलाई छुट्याएको बजेटबाट पनि यसको निर्माण गर्न सकिने हुनसक्ने प्रवक्ता नेपालले बताए। अर्थ मन्त्रालयले सहमति दिएमा चालु आवमा सूचनासम्म निकालेर अर्को वर्षमा गर्ने गरी काम अघि बढाउन सकिने देखिएको छ।

यससम्बन्धी फाइल अहिले अर्थ मन्त्रालयमा छ। केही समय पहिले मात्रै मन्त्रालयले विभागसँग ‘फ्लाइओभर’ निर्माणका बारेमा चासो देखाएर छलफल गरेको थियो। विभागले आफूसँग कागजात तयार रहेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन सहमति मागेको थियो।

उनले भने, ‘ठूलो लगानी भएकाले उहाँहरुले थप छलफल गर्नुपर्छ भन्नुभएको छ।’

चालु आवमा ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी विभागले योजना बनाएको थियो।

चीन सरकारले केही वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथका चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएको छ। सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै आकाशेपुल निर्माण सम्पन्न गरेको छ। ती स्थानमा ‘फ्लाइओभर’ बनाउन आकाशेपुल भत्काउन नपर्ने विभागले जनाउँदै आएको छ।

उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो। सरकारको लगानीमा निर्माण हुन लागेका यो नै पहिलो फ्लाइओभर हुनेछ। निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने बताइएको छ। नेपाली निर्माण व्यवसायीलाई नै निर्माणको जिम्मेवारी दिन सकिने विभागले जनाउँदै आएको छ। विगतमा जटिल प्रकृतिका पुल निर्माण गरेका व्यवसायीले नै ‘फ्लाइओभर’ निर्माण गर्न सक्ने विभागले जनाएको छ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा योजनामा भए पनि अहिलेसम्म सतुंगलमा मात्रै निर्माण शुरु गरिएको छ। नागढुङ्गा सुरुङमार्ग आयोजनाले सुरुङसँगै ‘फ्लाइओभर’ निर्माण गरिरहेको छ। तोकिएको अवधि (निर्माण शुरु भएको ४२ महिना) मा सम्पन्न भएमा यो नै नेपालको पहिलो ‘फ्लाइओभर’ बन्ने प्रवक्ता नेपालले बताए।

विगतमा चक्रपथकै अर्को खण्डमा चीन सरकारले, कोटेश्वर, बानेश्वर र थानकोटमा जापान सरकारको सहयोगमा ‘फ्लाइओभर’ निर्माण गर्ने छलफल भएको थियो। यी सबै ‘फ्लाइओभर’ निर्माण भएमा अबका केही वर्षपछि उपत्यकामा फ्लाइओभरको सङ्ख्या झण्डै आठ पुग्नेछ।

उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थानमा बानेश्वर र जडीबुटीचोक रहेका छन्। यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ। जाइकाको टोलीसँग भौतिक पूर्वाधार मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ।

बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो। केही वर्ष पहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेबाट भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो। आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ।

विसं २०७५ मा चक्रपथको कोटेश्वर–कलंकी सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलंकी–चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ। आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण गरिने भएको छ।

चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलंकीसम्म ‘अण्डरपास’ निर्माण गरेको थियो। उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा जाम हुँदा ‘फ्लाइओभर’ र ‘अण्डरपास’ को विकल्प खोज्न थालिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad