कारोबार


ठेकेदारबाट एक करोड २२ लाख जरिवाना असुली

ठेकेदारबाट एक करोड २२ लाख जरिवाना असुली

नेपालखबर
साउन २८, २०७६ मंगलबार १५:५८,

तोकिएको समयमा काम सम्पन्न नगरेका मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारबाट रु एक करोड २२ लाख जरिवाना असुली गरिएको छ। मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय फिदिमले निर्धारित समयमा काम सम्पन्न नगरेको भन्दै लोकमार्गको विभिन्न खण्डको ठेक्का लिएका पाँच निर्माण कम्पनीबाट उक्त रकम असुली गरेको हो।

आयोजना प्रमुख अभिमनदास मुल्मीका अनुसार सम्झौतामा तोकिएको समयमा सडक र पुल निर्माण सम्पन्न नगरेका निर्माण कम्पनी कारवाहीमा परेका हुन्। कारवाहीमा पर्नेमा तेह्रथुमको खोरुङ्गा खोलामा पुल निर्माणको जिम्मा लिएको कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सन, इलाइट कन्स्ट्रक्सन, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सन, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन र एरिमा कन्स्ट्रक्सन रहेका छन्।

कोशी एण्ड न्यौपाने कन्स्ट्रक्सनबाट रु ५९ लाख ६९ हजार, हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनबाट रु ५४ लाख ५३ हजार, इलाइट कन्स्ट्रक्सनबाट रु सात लाख ७३ हजार, गौरा त्रिशूली जेभी कन्स्ट्रक्सनबाट रु एक लाख ७५ हजार तथा एरिमा कन्स्ट्रक्सनबाट रु एक लाख १९ हजार असुली गरिएको मुल्मीले जानकारी दिए।

पाँचथरको याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीस्थित झुलाघाट जोड्ने उक्त सडकको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको आयोजनाले जनाएको छ। आयोजनाको पूर्वीखण्ड कार्यालयले पाँचथरदेखि भोजपुरसम्मको ३८६ किलोमिटर सडकको काम हेर्दैआएको छ। सो खण्डमा १८२ किलोमिटर सडक कालोपत्रे भइसकेको मुल्मीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad