कारोबार


राष्ट्रपति भण्डारी बंगलादेश पुगेकाे बेला नेपाल बंगलादेश मैत्री संघले दियो १२ बुँदे सुझाव

राष्ट्रपति भण्डारी बंगलादेश पुगेकाे बेला नेपाल बंगलादेश मैत्री संघले दियो १२ बुँदे सुझाव

नेपालखबर
चैत ९, २०७७ सोमबार ९:५१,

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणमा सोमबार मित्रराष्ट्र बंगलादेश पुगेकाे बेला त्यहाँस्थित दूतावासमार्फत नेपाल बंगलादेश मैत्री संघले १२ बुँदे सुझाव दिएको छ।

संघले भ्रमणका क्रममा दुई देशको पर्यटन विकासमा जोड दिनेदेखि एकअर्का देशमा उत्पादित सामग्रीको सहज आयातनिर्यातको व्यवस्था मिलाउनेसम्मका महत्वपूर्ण कुराहरुमा छलफल गर्न दूतावासलाइ पत्र लेख्दै संघले सुझाव दिएको हो।

सुझावहरुमा दुवै देशको धर्म, संस्कृतिलाई सम्मान र महत्व दिँदै पर्यटन विकासमा जोड दिन पहल गर्ने, काठमाडौं–ढाका तथा ढाका–काठमाडौं बस सञ्चालनका लागि कूटनीतिक पहलबाट कुरा गर्ने, कोरोनाले विकासमा ठूलो अवरोध पुर्याएकोले यस विषयमा गहन छलफल गर्न आग्रह गरेको संघका अध्यक्ष दिनदया रिजालले बताए।

उनका अनुसार हवाइ यातायात र कार्गोलाई व्यवस्थित बनाई सहज अवस्थामा पुर्याउन पहल गर्न अनुरोध गरिएको छ।

त्यस्तै गार्मेन्ट उद्योगलाई नेपालमा पनि व्यवस्थित गर्न बंगलादेशसँग समन्वय गर्न पहल गर्न तथा नेपालको हिमाली र पहाडी क्षेत्रमा उत्पादन, कच्चापदार्थ, फलफूल बंगलादेश निर्यातको वातावरण बनाउन पहल गर्न संघले आग्रह गरेको छ।

त्यस्तै, बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई अझै सहज हुने वातावरणको सिर्जना गर्न पहल गर्न, दुवै देशले आर्थिक र रोजगारी व्यवस्थित गर्न, कृषि, स्वास्थ्य, वातावरण, यातायात, शिक्षा र व्यापार लगायत विषयमा छलफल गरी विश्वस्तरमा अघि बढ्न आवश्यक रहेकोले सोहीअनुसार कुरा गर्न आग्रह गरेको छ।

यस्तै ऊर्जा व्यापारको विषयमा बंगलादेशसँग नेपालले समन्वय गरी अगाडि बढ्न पहल गर्न पनि आग्रह गरिएको छ।

जलवायु परिवर्तनले दुवै देश जोखिममा रहेकोले विशेष योजना ल्याउन बंगलादेशसँग छलफल गर्नुपर्ने तथा नेपालमा हुने उत्पादन बंगलादेशमा र बंगलादेशमा हुने उत्पादन नेपाल ल्याउन स्थलमार्ग र कार्गो हवाइ मार्ग व्यवस्थित नभएकोले सहजीकरण गर्नुपर्ने संघले जनाएको छ।

यस्तै दुवै देशले शान्ति, एकता र भ्रातृत्व प्रेममा जोड दिई विश्वशान्तिामा पहल गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad