ad ad

कारोबार


६ महिनामा पर्यटन क्षेत्रलाई कोभिडअघिकै अवस्थामा फर्काउन बोर्डले बनायो ३ रणनीति

६ महिनामा पर्यटन क्षेत्रलाई कोभिडअघिकै अवस्थामा फर्काउन बोर्डले बनायो ३ रणनीति

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ११:१६,

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र अबको छ महिनाभित्र कोभिडअघिकै अवस्थामा फर्काउने गरी काम गरिरहेको दाबी गरेको छ।

आज एक पत्रकार सम्मेलन गर्दै बोर्डले पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ब्युँताउन तीन रणनीति बनाएको जानकारी दिएको हो।

‘रिस्टार्ट, रिभाइभ एन्ड रिस्टार्ट’ अवधारणाअनुसार बोर्डले ३ महिनाभित्र विश्व समुदायलाई नेपाल खुल्ला छ भन्ने सन्देश दिने, त्यसपछिको अर्को तीन महिनामा पर्यटन क्षेत्रलाई पूर्ण तयार पार्ने र ६ महिनापछि पुरानै अवस्थामा फर्काउने बोर्डको रणनीति छ।

यसमा राज्य र निजी क्षेत्रसँगै सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी र कर्तव्य सम्झिनुपर्ने बोर्डले जनाएको छ।

कोभिड १९ विरुद्धको खोप नेपालमा समेत आइसकेकोले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान पार्ने बोर्डले जनाएको छ।

योबीचमा बोर्डले नयाँ पूर्वाधारको विकास र विस्तार तथा क्षेत्रगत रुपमा हिमालमा आरोहण र ट्रेकिङ, पहाडमा हिल स्टेसनसहितको पर्यटकीय हब र तराईमा क्यासिनोसहितका पर्यटकीय पूवर्जाधार तथा गतिविधि विस्तार गर्न आवश्यक रहेको बोर्डले जनाएको छ।

कोरोनाकालकै बीच बोर्डले पर्यटनसम्बन्धी तथ्यांक अभावको समस्या समाधान गर्न लगानी र जनशक्तिबारे अध्ययन गरेको, महामारीले व्यवसायमा पारेको प्रभाव र सरकारले दिने राहतको लागि सरकारलाई तथ्यांक उपलब्ध गराएको जनाएको छ।

पर्यटन तथ्यांकहरुलाई डिजिटल डेटाबेसमा राख्ने गरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागमार्फत सञ्चालन गर्न सम्झौता समेत गरेको जाएको छ। तथ्यांक संकलनपछि नेपालमा पर्यटकीय आवागमन तथा उसको बसाइलगायतबारे थाहा हुने बोर्डको भनाइ छ।

यहीबीचमा बोर्डले नेपाली सेनासँग सहकार्य गरी गोरखादेखि काठमाडौंसम्मको एकीकरण मार्ग अध्ययन, गढी र किल्लाबारे जानकारी, सिन्धुलीगढी क्षेत्रको गुरुयोजना, राराताल क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी डीपीआरसहितको बृहत्तर गुरुयोजना, युद्ध संग्रहालयको योजना निर्माण, रुकुमको भूमे र सिस्ने गाउँपालिकाको युद्ध संग्रहालयको डीपीआर तयार गरेको छ।

यसबाहेक बोर्डले पर्यटन पुनरुत्थान गर्न सहज जीवनमा फर्काउन दिगो पर्यटन परियोजनाअनुसार राष्ट्रसंघीय संस्था यूएनडीपी र बोर्डको गरी कुल २५ लाख अमेरिकी डलरको संयुक्त साझेदारीमा परियोजना सम्झौता गरेको जनाएको छ। यस्तै लुम्बिनी, पोखरा, कीर्तिपुरलगायतका पर्यटकीय गन्तव्यको रिब्रान्डिङको काम समेत गरेको बोर्डले दाबी गरेको छ।

कोरोनाकालमा बोर्डमै संकट सञ्चार तथा व्यवस्थापन एकाइ सुरु गरेर हरेक दिनको अपडेट तयार गरेको, अलपत्र पर्यटकको उद्धारमा सक्रिय भएर ३३ देशका नागरिकको खोजी, सम्पर्कका साथै लुक्ला, पोखरा र अन्य स्थानबाट १७ सय २१ जना पर्यटकको उद्धार गरी काठमाडौं ल्याएकोजस्ता काम गरेको बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .